aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

असारे भेलसँगै बग्दै विकास खर्च

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १५ असार २०७८
Citizen life
असारे भेलसँगै बग्दै विकास खर्च
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । विगत वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलसँगै बग्नेक्रमले निरन्तरता पाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ सकिन अब जम्मा १७ दिन मात्र बाँकी छ । चालू आव समाप्ति हुने अन्तिम समयमा आएर निकै तीव्रताका साथ विकास खर्च गर्न थालेको सरकारले असार महिनाको १३ गतेसम्म १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ मात्र पुँजीगत ९विकास० खर्च गरेको छ ।

यो चालू आवका लागि कुल विनियोजित बजेटको जम्मा ४४ दशमलव ८८ प्रतिशत मात्र विकास खर्च हो । सरकारको यस्तो कमजोर कार्यशैलीअनुसार आर्थिक वर्ष समाप्ति हुने अबको १७ दिनमा कुल विनियोजित बजेटको लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि कोरोना महामारीले समयमा काम नसकिएको बहाना बनाउँदै आएको सरकारले आगामी १७ दिनभित्र कुल विनियोजित विकास बजेटको लक्ष्य भेटाउन अझै ५५ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्तिको अन्तिम महिना असारे वर्षा र भेल बाढीको कुनै प्रवाह नगरी विकासे खर्चको दबाबमा परेको सरकारले हाल दैनिक अर्बौं रुपैयाँ बजेट हतारमा कमसल काम गरेर वर्षाको भेलसँगै त्यसै बगाइरहेको छ ।

चालू आवको अन्त्यतिर आएर हतारमा ह्वात्तै खर्च बढाउन कसिएको सरकारले अहिले १३ असारको दिन आइतबार एकदिनमा मात्र १७ अर्ब १ करोड ५० लाख रुपैयाँ विकास खर्च गरेको छ । गत १२ असारको दिन शनिबारसम्म जम्मा १ खर्ब ५६ अर्ब ६६ करोड ११ लाख रुपैयाँ मात्र पुँजीगत खर्च गरेको सरकारले आइतबार एकदिनमै १७ अर्ब १ करोड ५० लाख रुपैयाँको विकास खर्च सिध्याएर १३ असारसम्म १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ पु¥याएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष समाप्तिको अन्तिम समयमा आएर हतारमा विकास खर्च बढाउन हाल दैनिक अबौं रुपैयाँ पुँजीगत खर्च हुने गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको अन्तिम महिना असार लागे यताको दुई साताको अवधिमा पुँजीगत (विकास) खर्च २९ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ भएको छ । हालसम्म चालू आवका लागि विनियोजित कुल पुँजीगत खर्च लक्ष्यको जम्मा ४४ दशमलव ८८ प्रतिशत मात्रै खर्च भएको छ ।

चालू आवका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ अनुमानित पुँजीगत खर्च विनियोजन गरेको छ । सो पुँजीगत खर्चमध्ये अहिलेसम्म जम्मा ४४ दशमलव ८८ प्रतिशत मात्र पुँजीगत खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न आगामी १७ दिनभित्रमा ५५ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ ।

यो लक्ष्य भेट्टाउन अझै सरकारले दैनिक अर्बौं रुपैयाँ विकास खर्च असारे भेलमा बगाउँदै छ । अन्तिम समयमा आएर जसरी पनि काम सम्पन्न गर्नुपर्ने चापमा परेको सरकारले विकास बजेट खर्च गर्न उही पुरानै परम्परागत शैली अपनाइरहेको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले यसरी असारे वर्षासँगै हतारमा गरिएको विकास निर्माणको काम टिकाउपूर्ण नहुने भएकाले मुलुकको ढुकुटी रित्याउने काम मात्र भइरहेको दाबी गर्दै आएका छन् ।

नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत १६ वैशाखदेखि जारी भएको निषेधाज्ञाको असर मुलुकको विकास खर्चमा मात्र नभएर अहिले सम्पूर्ण क्षेत्रमा नराम्रोसँग देखिएको छ ।

यस्तो अवस्थामा विनियोजित बजेटको चालू खर्च भने ७७.३९ प्रतिशत खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षको संघीय बजेटमा पुँजीगत शीर्षकमा कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । जसमा अहिलेसम्म जम्मा १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ मात्र खर्च भएको देखिन्छ । अबको बाँकी १७ दिनमा १ खर्ब ९४ अर्ब ५४ करोड १४ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । यो लक्ष्य भेटाउन अझै दैनिक न्यूनतम ११ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ खर्च गर्नुपर्नेहुन्छ ।

आइतबारसम्म ९ खर्ब ६७ अर्ब २ करोड ६६ लाख रुपैयाँ कुल बजेट खर्च भएको छ । यसमा चालू बजेट खर्च धेरै छ । सरकारले चालू आर्थिक वर्षका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । विनियोजित बजेट खर्च गर्ने तरिकामा समेत कमजोर साबित हुँदै आएको सरकारले यो वर्ष पनि अनेक बहाना मात्र बनाएर विनियोजित बजेटको लक्ष्य भेट्न नसक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस