aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

नयाँ मन्त्री मध्ये नैनकलाको चर्चा अत्यधिक, यी हुन् सञ्चार जगतले पाएको महिला नेतृत्वको विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
Nabil Bank
नयाँ मन्त्री मध्ये नैनकलाको चर्चा अत्यधिक, यी हुन् सञ्चार जगतले पाएको महिला नेतृत्वको विशेषता
LBEF

काठमाडौं । बिहीबार भएको मन्त्रिमण्डल बिस्तार पछि सबैभन्दा बढी सामाजिक सञ्जालमा चर्चा चलेको नाम हो, नैनकला थापा। प्रधानमन्त्री केपी शर्मा ओलीले उनी सहित आठ जना नयाँ मन्त्री थप्दा थापाले सञ्चार तथा सूचना प्रविधि  मन्त्रालयको जिम्मा पाएकी छिन्। 

थापाको नियुक्तिसँगै सम्भवतः नेपालको सञ्चार जगतले पहिलोपटक महिला मन्त्री पाएको छ। यदि 'परम्परा तोड्न माहिर प्रधानमन्त्री' ओलीलाई केही नयाँ गर्ने भुत चढेन वा  ऊनीमाथि अरू कसैलाई रिझाउनै पर्ने बाध्यता आइपरेन भने सम्भवतः सरकारको प्रवक्ताको जिम्मेवारी पाउने पनि उनि नै पहिलो महिला बन्ने छिन्। 

एमाले नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा 'बादल'की श्रीमती समेत नैनकलाको चर्चा भने माथि उल्लेखित विषयका कारणले भइरहेको छैन। बरु, उनलाई बादलकी श्रीमतीको रूपमा मात्र व्याख्या गरिंदैछ। चर्चामा बादललाई आफू मन्त्री बन्न अदालतले रोकेको कारण श्रीमतीलाई बनाए भन्ने कोणबाट मात्र कुरा उठाइएको छ।  

तर, नेकपाको अस्तित्वलाई अदालतले अस्वीकार गर्दै पुन एमाओवादी र एमाले   ब्युँत्याईदिएको बेला मूल घर (एमाओवादी) नछोडौँ, प्रचण्ड तिर नै लागौँ भन्ने आफ्नो इच्छालाई तिलाञ्जलि दिँदै श्रीमान्लाई साथ दिएको र एमाले अध्यक्ष तथा ओलीलाई गुन लगाएको भएकाले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हाल्ने अवसर दिइएको हो भन्ने चाहिँ कसैले भने/लेखेको देखिएको छैन। 

उनले गरेको त्यो राजनीतिक आस्थाको त्याग बाहेक आफ्नो जीवनकालमा प्रदर्शित गरेको धैर्यता पनि चर्चा योग्य छ। जनयुद्ध कालमा निकै संगिन अपराध मानिने यौन काण्डमा बादल मुछिँदा समेत उनले आफू भित्रको क्रान्तिकारी महिलालाई दमन गरेर पतिलाई साथ दिएकी थिइन्। 'ढुङ्गा देखाएर त्यही हो तिम्रो हुनेवाला सौता' भन्यो भने त्यसलाई नै पनि लात्ती हान्न तम्सिने आम नारीमा पाइने प्रवृत्तिलाई त्यसै बेला जितेकी महिला नेत्री हुन्, नैनकला। 

बि.स. २०५२ सालबाट माओवादीले सुरु गरेको जनयुद्धमा सुरु देखि नै बादलसँगै भूमिगत भएकी उनले आफ्नो जीवनसाथीलाई अटुट रूपमा गरेको सहयोग र समर्थनको प्रतिफल स्वरूप उनी मन्त्री बनेको कुरालाई ओझेलमा पार्दै, ऊनको सहनशीलता, योगदान र त्यागलाई नजर अन्दाज गर्दै हाल भइरहेका रिस, राग, द्वेष र पूर्वाग्रहपूर्ण टिप्पणीहरु भइरहेका छन्। 

माओवादी शान्ति प्रक्रियामा आएपछि महिला आयोगको अध्यक्ष पद समेत बनिसकेकी एक महिलालाई सञ्चार जग तले धैर्यवान् राजनीतिक नेतृत्व प्राप्त गरेको रूपमा हेर्न सक्नु पर्छ। कम्तीमा पत्रकारलाई नै पत्रकारिताको पाठ सिकाउन हरदम तयार रहेर बस्ने आफ्ना पूर्ववर्ती कतिपय मन्त्री भन्दा उनले धेरै शान्त र सौम्य  व्यवहार सहित सञ्चार कर्मीहरूसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने छिन् भन्ने अपेक्षा गर्न सकिन्छ। 

प्रतिक्रिया दिनुहोस