aarthiknews.com विहीबार, ०२ साउन २०७६   Thursday, 18 July, 2019
 

सुन बिक्री गर्नेको घुइँचो, सुन पसले भन्छन्–‘धान्न गाह्रो भो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
Sunrise bank
सुन बिक्री गर्नेको घुइँचो, सुन पसले भन्छन्–‘धान्न गाह्रो भो’
NIBL-Capital-inside
LBEF

काठमाडौं । सुनको मूल्य उच्च भएपछि सुन पसलमा सुन किन्नेको भन्दा बिक्री गर्नेको घुइँचो लाग्ने थालेको छ । न्युरोडका सुन व्यापारीहरुका अनुसार, सुन किन्न आउने भन्दा बिक्री गर्ने बढी छन् । सुन अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । एक तोला सुन किन्न सोमबारको मूल्यअनुसार  ६४ हजार ५ सय रुपैयाँमा  तिर्नुपर्ने भएको छ । प्रतितोला सुन ६५ हजार ५ सयसम्म पुगेको थियो । 

अमेरिका र इरानबीच उत्पन्न तनाव कम हुने सम्भावना नदेखिएकाले सुनको भाउ अझै बढ्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । अन्य क्षेत्रमा लगानी गर्नुभन्दा सुन खरिद गर्नु बढी सुरक्षित ठानिएकाले मूल्य बढेको बताइन्छ । विश्व बजारमा शक्तिशाली राष्ट्रबीच व्यापारिक तनाव उत्पन्न हुँदा स्थानीय बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

विश्व बजारमा सुनको भाउ वृद्धि हुनुमा शक्तिशाली राष्ट्रबीचको तनावले पारेको प्रभावको रुपमा लिइएको छ । पछिल्लो अवस्थामा अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ ।

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ । शक्तिशाली राष्ट्रबीचको व्यापारिक द्वन्द्वका कारण लगानीकर्ता डलर र शेयर बजारमा लगानी गर्न ढुक्क हुन सकेका छैनन् । शेयर र डलरमा लगानी गर्न डराएका लगानीकर्ता सुनतिर आकर्षित भएका हुन् । यसले गर्दा सुनको भाउ बढेको हो ।  सुनको भाउ विश्व बजारमा पनि बढेको छ । प्रतिऔंस १ हजार ४ सय डलरमा पुगेको छ ।

१८ वर्षअघि पनि सुनको भाउ यसैगरी बढेको थियो । २०५८ सालमा सुनको भाउ अहिलेजस्तै ह्वात्तै बढेको थियो । तोलाको ७ हजारमा कारोबार भइरहेको सुन एक्कासी १० हजार रुपैयाँ पुगेको थियो ।

एकैचोटि तोलामा ३ हजार बढ्दा सुन बजारमा नयाँ तरङ उत्पन्न भएको थियो । सुन किन्नेभन्दा बेच्ने ह्वात्तै बढेका थिए । सुन किनिदिनुस् भन्ने ग्राहकको घुइँचो पसल–पसलमा लागेको थियो ।त्यतिवेला सुनको भाउ १० हजार पुग्यो भन्ने गरिन्थ्यो । सुन किन्ने ग्राहक आत्तिएका थिए । त्यसबेला सुन किन्ने ग्राहक हच्किएका थिए भने बेच्ने बढेका थिए ।

हालसम्मकै उच्च विन्दु पुगेको सुनको भाउले नेपाली सुन बजारको १८ वर्षअघिको इतिहास दोहोरिएको छ । अहिले स्थानीय बजारमा तोलाको ६५ हजार पुगेको छ । जुन अहिलेसम्मकै सर्वाधिक महँगो हो ।

यस्तो बेलामा सुन बिक्री गर्ने धेरै हुन्छन् । यही गतिले ग्राहकले बिक्री गर्ने क्रम बढ्यो भने सुन बजारमा २०५८ सालकै अवस्था पुनरावृत्ति हुने व्यवसायीहरु बताउँछन् । भाउ बढेदेखि अहिले पनि सुन बेच्न शुरु भइसकेको छ । अहिलेकै मूल्य केही दिन कायम रहे वा बढ्दै जाने हो भने बजारले धान्नै नसक्ने गरी बिक्रेता बढ्न सक्ने व्यवसायीहरु बताउँछन् ।

उपभोग्य वस्तुमा जहिले पनि किन्ने र बेच्नेको सन्तुलन हुनुपर्छ । दुई पक्षबीच सन्तुलन भएन भने बजारमा असन्तुष्टि बढ्ने व्यवसायीको भनाइ छ ।

लगानीका लागि निश्चित बजेट हुने भएकाले ग्राहकले ल्याएजति सुन किन्न सक्ने अवस्था नरहेको व्यवसायी बताउँछन् । खरिदमात्र गर्ने तर बेच्न पाइएन भने व्यवसायीलाई समस्या पर्छ । माग र बिक्री दुवै बराबर भएको अवस्थामा खासै फरक पर्दैन ।

व्यवसायीलाई ग्राहकले ल्याएको सुन किन्नैपर्छ भन्ने बाध्यता हुँदैन । व्यवसायीले ग्राहकसँगको सम्बन्ध र आवश्यकताअनुसार सुन किन्ने गर्छन् ।
अझै दुई–चार दिन यही अवस्था रहे असहज परिस्थिति आउनसक्ने व्यवसायीको अनुमान छ । यस्तो अवस्थामा बैंकहरुको भूमिका पनि ठूलो हुने व्यवसायीको तर्क छ । केही समयअघि व्यवसायीले नेपाल राष्ट्र बैंकलाई बेच्नेमात्र होइन, सुन किन्ने नीति बनाउन सुझाव दिएका थिए ।  

बैंकले खरिद–बिक्री दुवै गरे २०५८ सालको परिस्थिति नदोहोरिने र अहिले उत्पन्न सुन बजारको अवस्था नियन्त्रणमा आउनसक्ने छ । ग्राहकले चाहेजति सुन बिक्री गर्न सक्नेछन् । व्यवसायी र बैंकबीच राम्रो सम्बन्ध हुने र यसले बजारलाई पनि राम्रो गर्ने छ ।
 

प्रतिक्रिया दिनुहोस