aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

यातायात मजदुरको बिचल्ली, भन्छन्– ‘दैनिक हातमुख जोड्न समस्या पर्न थाल्यो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ जेठ २०७८
Nabil Bank
यातायात मजदुरको बिचल्ली, भन्छन्– ‘दैनिक हातमुख जोड्न समस्या पर्न थाल्यो’
LBEF

काठमाडौं । विगत ९ वर्षदेखि सवारी चालकको काम गर्दै आएका उदयपुरका केशव अधिकारी काठमाडौंको काडाघारीका बस्छन् । उनको आम्दानीको स्रोत भनेको त्यही गाडी चलाएर पाउने पैसा मात्रै हो । उनी अघिल्लो वर्ष लकडाउनका कारण लामो समय बेरोजगार भए । यो वर्ष पनि उनको पोहोरकै जस्तो स्थिति छ ।     

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण अहिले खान पनि धौधौ परेको अधिकारी बताउँछन् । उनी भन्छन्, ‘निषेधाज्ञाका कारण काम विहीन भएर कोठामा थुनिएर बस्न बाध्य भएको छु । यसरी कामविहीन हुनुपर्दा साँझ बिहानको छाक टार्न समेत सङ्कट भइरहेको छ ।’  

अन्य थुप्रै मजदुरहरूको पनि आफ्नो जस्तै हालत भएको बताउँदै अधिकारी भन्छन्, ‘पहिलेको लकडाउनले थलिएर बिस्तारै लयमा फर्किन थालेका थियौँ । तर, यो निशेषाज्ञाले फेरि छाक टार्न नसक्ने स्थितिमा पुर्याईदियो । काठमाडौं उपत्यकामा म जस्ता धेरै मजदुरहरू डेरा गरेर बस्छन् । अहिले हामी जस्ता मजदुरको न कोठा भाडा तिर्ने पैसा छ न छाक टार्न सक्ने स्थिति छ । दैनिक हातमुख जोड्ने समस्या पर्न थाल्यो ।’ मजदुर सङ्गठनले उनी जस्ता छाक टार्न मुस्किल भएका मजदुरलाई राहत दिनुपर्ने उनको भनाई छ ।  

उनी प्रतिनिधि पात्र मात्रै हुन् । अधिकारी जस्ता देशभर करिब  १० लाख यातायात क्षेत्रमा काम गर्ने मजदुरहरू अहिले काम विहीन छन् । सरकारले कोरोना भाइरसको बढ्दो सङ्क्रमण नियन्त्रण गर्न अत्यावश्यकबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाएको छ । यससँगै यातायात क्षेत्रमा काम गरेर परिवार पाल्ने देशभरका करिब १० लाख यातायात मजदुर कामविहीन बन्न पुगेका हुन् ।  

देशभर सार्वजनिक सवारीसाधन करिब ३ लाख रहेका छन् । जसमा करिब ९ लाख मानिस आश्रित रहेको यातायात व्यवस्था विभागको भनाई छ । विभागका अनुसार मालवाहक ट्रकमा एक लाख ३० हजार मजदुर छन् भने ट्याक्सी, सवारी मर्मत वर्कसप, सवारी प्रशिक्षण केन्द्र र यातायात सेवा संस्थाहरूमा गरी करिब २५ हजार मजदुर आश्रित रहेका छन् । यी सबै मजदुर अहिले बेरोजगार छन् । 

उता यातायात व्यवसायीको पीडा पनि कम छैन। बैंकबाट ऋण लिएर खरिद गरेको सवारी साधनको महिनै पिच्छे किस्ता बुझाउनुपर्ने बाध्यता छ।  लगातारको निषेधाज्ञाले सवारी चलाउने र आम्दानी गर्ने त परको कुरा लामो समय सम्म नचलाईकन राख्दा गाडीको ब्याट्री लगायतमा समस्या आउने र फेर्नु नै पर्ने बाध्यतामा पुग्नुपर्ने हुन्छ। गाडी साहु हुन निकै गाह्रो परेको बताउँदै काठमाडौं उपत्यकामा चल्ने धुम्रबराह यातायातका सञ्चालक उद्धव चौलागाई बताउँछन्। आफ्नो भन्दा पनि मजदुरको अवस्थाले धेरै पिरोलेको उनी बताउँछन्। उनी भन्छन्, ‘के गर्ने, के भन्ने अवस्थामा पुगियो। आफ्नो पिडा छदैछ।  मजदुरको समस्या झन् चर्को छ।  न सहयोग नै गर्न सकिन्छ। न टुलुटुलु हेर्न नै मन मान्छ।’ 

अहिले यातायात व्यवसाय ठप्प रहेका कारण मजदुरहरू छाक टार्न नसकेर डिप्रेसनमा पुग्ने स्थिति आएको राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौला बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारीको नयाँ भेरियन्ट एकदमै घातक छ । यसको नियन्त्रणका लागि जारी गरिएको निशेषाज्ञाका कारण अधिकांश मजदुरको अवस्था बिहान–बेलुकाका लागि छाक टार्न कठिन हुँदै गएको छ । काम विहीन भएका मजदुरहरू डिप्रेसनमा पुग्ने स्थिति आएको छ । यसले मजदुरको परिवारलाई पनि ठुलो असर गरिरहेको छ ।’ 

अघिल्लो वर्षदेखि नै लगातार कामविहीन बनेपछि दैनिक जीविका चलाउन कठिन बन्दै गएको सिटौलाको भनाई छ । उनी अगाडी थप्छन्, ‘हाम्रो पहिलो प्राथमिकता कोरोना महामारी नियन्त्रण गर्न लाग्नु पर्छ भन्ने नै हो । तर, यातायात मजदुर अहिले छाक टार्न नसक्ने स्थितिमा आएका छन् ।’ त्यसबाहेक कर्जा लिएर सवारी खरिद गरेकालाई निषेधाज्ञाले झन् अप्ठ्यारोमा पारेको छ । कमाइ ठप्प हुँदा किस्ता तिर्न नसक्ने, तर वित्तीय संस्थाबाट निरन्तर किस्ताका लागि दबाब आउने गरेको छ ।’   

सरकारले यातायात क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर यसपालिको बजेट ल्याउनु पर्ने सिटौलाको भनाई छ । उनी भन्छन्, ‘यातायात क्षेत्रमा करिब १० खर्ब लगानी छ । यसमध्ये हामी व्यवसायीको लगानी २० प्रतिशत हो भने अन्य ८० प्रतिशत बैङ्क तथा वित्तीय संस्थाको हो । अहिले यातायात व्यवसाय ठप्प भएका कारण यो लगानी डुब्ने स्थितिमा छ । यो लगानी डुब्न नदिन सरकारले बजेट ल्याउँदा यातायात क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ ।’ 

यसअघि चैत ०७६ देखि ०७७ साउनसम्म सवारीसाधन चलाउन नपाएपछि यातायात क्षेत्रमा संलग्न मजदुर बेरोजगार भएका थिए । त्यसपछि सङ्क्रमण घट्दै गएपछि यातायात सञ्चालनले गति लिएको थियो । तर, कोरोना भाइरसको नयाँ भेरियन्टका कारण यस वर्षको वैशाखदेखि नै यातायात व्यवसाय ठप्प छ ।  

 

प्रतिक्रिया दिनुहोस