aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

तस्करले उठाए निषेधाज्ञाको लाभ, सिकारीको चहलपहलले सर्वसाधारण त्रसित

  • रासस
    रासस
  • शनिबार, ०१ जेठ २०७८
Nabil Bank
तस्करले उठाए निषेधाज्ञाको लाभ, सिकारीको चहलपहलले सर्वसाधारण त्रसित
LBEF

काठमाडौँ। चारैतिर निषेधाज्ञाले आवागमन पातलिएका बेला महोत्तरीका वन क्षेत्रमा वन तस्कर र सिकारीको चहलपहल बढेको छ । जिल्लाको गौशाला र बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र सिकारीको चहलपहल बढेको वन क्षेत्र नजिकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ ।

जिल्ला र छिमेकको सर्लाहीमा समेत निषेधाज्ञाको मौका छोपी वन क्षेत्रमा तस्कर र सिकारीको चहलपहल बढेको हो । तस्कर चालढाल बुझ्न वन पस्ने गरेका भए पनि सिकारी चाहिँ दिनहुँ बँदेल, हरिण, मृग, दुम्सीलगायत वन्यजन्तुको सिकार गरेर फर्कने गरेका वनसँगै जोडिएको गौशाला–८ ढल्केवर बस्तीका बासिन्दाको भनाइ छ ।

“काठ तस्कर चाहिँ वनको सुरक्षा अवस्था बुझ्न पस्ने गरेका छन्, पछिल्लो निषेधाज्ञाबिच काठ नै ओसारिएको देखिएको छैन”, ढल्केवरकी नरमाया ल्हायोले भनिन्, “तर सिकारीले चाहिँ जङ्गलबाट सिकार बोकेर भाग्ने गरेका छन् ।” निषेधाज्ञाबिच सुरक्षा गस्ती पातलिएसँगै यो चहलपहल बढेको ल्हायोको भनाइ छ ।

महोत्तरी र सर्लाहीको सीमा क्षेत्रका जङ्गलमा नीलगाई, बँदेल, हरिण, मृग र दुम्सीसहितका वन्यजन्तु तथा वन कुखुरा (लुइँचे) र कालिजसहितका पक्षी बाक्लै छन् । सिकारीको निसाना बँदेल, मृग, हरिण, दुम्सी र पक्षीमा हुने गरेको वन क्षेत्र नजिकका बासिन्दा बताउँछन् । 

बिहीबार मात्र जिल्लाको बर्दिबास–५ टुटेश्वर वन क्षेत्रमा सिकारका लागि वन पसेका सिकारीको प्र २ –०२–००२ प ५३५७ नंको स्कुटर, एक थान भरुवा बन्दुक, त्यसमा लाग्ने फलामको बलको झोला र २५ ग्राम बारुद प्रहरीले बरामद गरेको थियो । सिकारका लागि वन पसेका सिकारी पछिपछि गस्तीमा निस्केको माई स्थान अस्थायी प्रहरी पोष्टका प्रहरीलाई देखेर आफ्ना सामान छाडेर भागेका थिए । 

घटनाको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरिसकेको छ । बरामद गरिएका भरुवा बन्दुकसहितका सामग्रीलाई प्रहरीले नियन्त्रणमा लिई स्कुटर चालकको खोजतलास र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

त्यस्तै, महोत्तरी÷सर्लाही सीमा क्षेत्रको सर्लाहीतर्फको वन क्षेत्रमा त सिकारी र प्रहरीबिच गोली हानाहान नै भएको छ । सागरनाथ वनमा सिकारी पसेका थाहा पाएर पिछा गर्दै पुगेका प्रहरी र सिकारीबिच पनि बिहीबार साँझ नै गोली हानाहान भएको हो । प्रहरीमाथि सिकारीले भरुवा बन्दुकबाट फायर गरेपछि प्रहरीले दुई राउन्ड जवाफी फायर गरेको थियो । 

प्रहरीले लघारेर सिकारीमध्येका एकलाई नियन्त्रणमा लिएको र तीन जना भागेका जनाएको छ । त्यहाँ प्रहरीले एक मृत नीलगाई, तीन थान भरुवा बन्दुक, फलामका काँटी र बारुद बरामद गरेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, सर्लाहीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।

वन क्षेत्रमा तस्कर र सिकारीको चहलपहल बढेपछि नजिकका बासिन्दा डराएका छन् । तस्कर र सिकारीले आफूmहरूसँग कसैलाई पोल लगाए कुटपिट गर्ने धम्कीसमेत दिने गरेका सर्वसाधारणको भनाइ छ । वन क्षेत्र नजिकका बासिन्दाले सम्बद्ध पक्षसँग सघन गस्ती बढाउन माग गरेका छन् ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख विनोदकुमार सिंहले सिकारीले गतिविधि बढाएको स्वीकार गर्दै वन सुरक्षा गस्तीलाई सक्रिय बनाइएको बताए । कार्यालयले बर्दिबास र गौशाला नगर क्षेत्रका वनमा सघन गस्तीका लागि आफ्नै अधिकृतको कमान्डमा सुरक्षाकर्मी परिचालित गरिएको जनाएको छ । यस क्रममा गस्तीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनसँग समेत समन्वय गरिएको सिंहको भनाइ छ ।

पछिल्लो साता वनका कुनै रूख नकाटिएका र वन्यजन्तुको विचरण पनि राम्रो रहेको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले बताए । “जिल्लाका बस्तीमा लकडाउनबारे आम मान्छेमा बढेको सकारात्मक सचेतनाले सवारी आवागमन एकदमै पातलिएको छ”, साहले भने, “सवारी आवागमन हुन नदिन बढेको कडाइले वन सुरक्षामा पनि सकारात्मक प्रभाव पारेको छ ।” 

यसै गरी जेठ लागीकन लगातार भइरहेको वर्षाले पनि बाह्य चहलपहल घटाएको देखिँदो छ । यसबिचमा डिभिजन कार्यालय मातहतका जिल्लाका छ सब डिभिजन कार्यालयमध्ये सघन वन क्षेत्रसँग जोडिएका चारले आफ्ना क्षेत्रभित्रका सामुदायिक वन उपभोक्ता समितिको तत्परतामा वन संरक्षण समन्वय संयन्त्र गठनसमेत गरेका छन् । चार सब डिभिजन मातहतका ७० जति सामुदायिक वन उपभोक्ता समितिले आ–आफ्ना क्षेत्रभित्र बनाएका संयन्त्रको खबरदारीले पनि तस्कर वन पस्न डराएका डिभिजन वन कार्यालयको निष्कर्ष छ । जिल्लामा २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस