aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

दश जिल्ला अस्पताललाई १० करोड बजेट विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० बैशाख २०७८
Reliance life insurance
दश जिल्ला अस्पताललाई १० करोड बजेट विनियोजन
LBEF

कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एक÷एक करोड बजेट प्रदान गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन गर्न प्रत्येक  जिल्लामा एक/एक करोड उपलब्ध गराउने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले कोरोना रोकथाम तथा उपचारमा देखिएका समस्या समधान गर्न तत्काल बजेट पठाइने निर्णय गरेको जानकारी दिए ।   

त्यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिममा पनि एक/एक करोड बजेट पठाइने प्रवक्ता केसीले बताए । उनका अनुसार मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०/५० लाख पठाइनेछ ।   

दोस्रो लहरको कोरोना महामारीबाट यहाँका नागरिकहरुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न एकसाता अघि एक अर्ब बजेट विकास बजेटबाट रकमान्तर गर्ने कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको थियो । यसमा ५० करोड प्रदेश विपद् कोषमा जम्मा गरेको छ ।

बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट ५० लाख जम्मा गर्ने निर्णय गरेको छ । यसैगरी, दैनिकरुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सरकारले पाँच जिल्लामा अक्सिजनसहित १०० बेड तयार गर्नेगरी काम थालेको छ ।

सरकारका प्रवक्ता केसीका अनुसार कालीकोट, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा अक्सिजनसहित १०० बेड र अन्य जिल्लामा अक्सिजनसहित ५० बेड तयारी गरिनेछ । प्रदेश अस्पतालमा अक्सिजनसहित ५०० बेडको तयार गर्ने लक्ष्य अनुसार अघि बढेको र तत्काल १०० बेड थप्ने काममा तीव्रता दिईएको प्रदे सरकारले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस