aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

अत्यावश्यक वस्तुको मूल्यमा मनपरी, विभाग भन्छ– ‘दैनिक बजार अनुगमन गरिरहेका छौँ, दोषीलाई कारबाही गर्छौँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० बैशाख २०७८
Reliance life insurance
अत्यावश्यक वस्तुको मूल्यमा मनपरी, विभाग भन्छ– ‘दैनिक बजार अनुगमन गरिरहेका छौँ, दोषीलाई कारबाही गर्छौँ’
LBEF

काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, यकिन नभएकाले सर्वसाधारणले खाद्यान्न मौज्दातसमेत गर्न थालेका छन् । 

निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञाको समयमा उपभोक्ता चरम मारमा छन् । हरेक वस्तु तथा सेवामा उपभोक्ताहरू ठगिनु परिरहेको छ । नुनदेखि सुन, ओठदेखि गोठ र आलीदेखि थालीसम्म उपभोक्ता कुनै न कुनै ढङ्गबाट प्रताडित छन् । न त राज्यले आफ्नो भूमिका स्पष्ट रूपमा निर्वाह गर्न सकेको छ, न त उपभोक्ता अधिकारवादी संस्थाहरूले खबरदारी गर्न सकेका छन् ।  

राज्यले उपभोक्ताका हितका लागि कानुन नै बनाए पनि अनुगमन गर्ने निकायहरूको गैर जिम्मेवारीका कारण सबै क्षेत्रमा उपभोक्ता ठगिँदै आएका छन् । 

उपभोग्य वस्तुदेखि सेवा क्षेत्रमा मनपरी हुँदा आम नागरिक मारमा पर्दै आएका हुन् । संविधानमा लेखेर वा नीति नै बनाए पनि ती कानुन नीतिको कार्यान्वयन गर्ने मुख्य जिम्मेवार राज्यको संयन्त्रहरूले जिम्मेवारी पुरा गर्न नसक्दा आम उपभोक्ता वर्षौँदेखि ठगिँदै आएका छन् । नागरिकको खाद्य अधिकार मात्रै होइन, उपभोग्य सामाग्रीको उचित मूल्य नहुँदा मनपरी बढेको आम उपभोक्ताहरूले गुनासो छ ।   

सम्बन्धित निकायबिचको समन्वय सहकार्यको अभावमा समेत प्रभावकारी बन्न सकेका छैनन् । सरकारी संयन्त्रले ठोस र जिम्मेवार पूर्ण दायित्व पुरा गर्न नसक्दा आम उपभोक्ताले बिचौलियाहरूबाट ठगिँदै आएका छन् ।

खाद्यवस्तु फलफूल तथा मासु जन्य वस्तुको मूल्य दैनिक फरक फरक हुँदै आएको छ । मूल्य बढ्नु या बढाउनुको ठोस जवाफ कसैसँग छैन । यसको जवाफ कसले दिने ? सरकारको फितलो अनुगमनले सधैँ मार खानु परेको छ । जथाभाबी मूल्य गुणस्तरहीन वस्तु तथा सेवाको उपभोग गर्न बाध्य छन् । भोलि भन्दा पर्सि बढी हुँदै गएको पाइन्छ । सरकारी क्षेत्रबाट प्रभावकारी अनुगमन हुन नसक्दा उपभोक्ता बढी मारमा परेमा छन् ।   

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाई दैनिक बजार अनुगमन गरिरहेको बताउँछन् । उनी भन्छन्, “उपत्यकामा निषेधाज्ञाको समयमा पनि दैनिक बजार अनुगमन गरिरहेका छौँ, अहिलेको मुख्य प्राथमिकता भनेको बजारमा मास्क र स्यानिटाइजर लगायतका मेडिकल औषधि र दैनिक उपभोग्य खाद्यवस्तुको अवस्थासँगै मूल्य बढी असुल्नेलाई कारबाहीको दायरा ल्याएका छौँ ।”  

आइतबार विभागको अनुगमन टोलीले बजारको अवस्था के कस्तो रहेछ भनेर बुझ्न जाँदा व्यापारीले गुनासो गरेको प्रवक्ता सेढाईले जानकारी दिए । सरकारले निषेधाज्ञा जारी गरेसँगै उपभोक्ताले आफूलाई चाहिने खाद्यवस्तु लगायत अन्य वस्तु खरिद गरिसकेको व्यापारीले अनुगमन टोलीलाई बताए । अहिले सामग्री बिक्री हुन नै छोडी सक्यो, सबैले थुपारी सके हाम्रो समान कसले किनी दिन्छ, सरकारले किनिदिन्छ भनेर आफूहरूसँग व्यापारीले प्रति प्रश्न गरेको प्रवक्ता सेढाई बताउँछन् । 

बजारमा ६ महिनामा भन्दा बढीको लागि आधारभूत वस्तुहरू उपलब्ध छन् । सेढाई भन्छन्, ‘बजारमा केही समस्या छैन फ्याट्ट फुट्ट कहीँ कतै उपभोक्तालाई मार परेको होला । त्यो अहिलेको महामारीले नै सिर्जना भएको हो । त्यसलाई ठुलो रूपमा लिनु नहुने हुँदैन ।’ व्यवसायीले आफूखुसी सामानको मूल्यवृद्धि गरेमा २ देखि ३ लाखसम्म उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही समेत गरिएको प्रवक्ता सेढाईको भनाइ छ । 

त्यस्तै सङ्कटको बेलामा सरकारले बजार व्यवस्थापन गरेर उपभोक्ताको हितमा काम नगरेको उपभोक्ताकर्मीहरुले आरोप लगाएका छन् । कालोबजारी गरी बढी मूल्य लिने र आफूखुसी वस्तुको मूल्यवृद्धि गरेर उपभोक्ता ठग्नेलाई कानुनी कारबाहीको लागि सरकारले बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ । तर सरकारले यसरी अनुगमन गर्नु राम्रो काम भएता पनि बजारलाई व्यवस्थित बनाउने भन्दा पनि सरकारले राजस्व उठाउनमा बढी जोड दिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

सरकारले अनुगमनलाई निरन्तरता दिए पनि बजार सुधारको लागि भन्दा पनि राजस्व उठाउनमा बढी केन्द्रित भएको उनको आरोप छ । उनले भने–‘महामारीको समयमा सरकारले प्रभावकारी अनुगमन गरेर मूल्यवृद्धि नियन्त्रण गरी उपभोग्य वस्तुको मूल्य सर्वसुलभ बनाउनु पर्ने हो । तर सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा बजारमा मूल्यवृद्धि भइरहेको छ ।’  

केही दिनयता प्रतिलिटर सनफ्लावर तेलको एमआरपी मूल्य २६० रुपैयाँ पुगेको छ । तेलबाहेक चिनीको मूल्य पनि बढेको छ । गेडागुडीको मूल्य पनि छोई नसक्नु छ । चनाको होलसेल मूल्य ९० रुपैयाँबाट बढेर प्रतिकिलो १०३ र खुद्रा बजारमा ११० रुपैयाँसम्म पुगेको छ । मुसुरो दाल १०७ बाट बढेर १२२ रुपैयाँ, मासको दाल १५५ बाट १६० रुपैयाँ र रहर दाल १५० बाट १६० रुपैयाँ पुगेको छ । चामलको मूल्य पनि प्रतिबोरा एक सय रुपैयाँ बढेको छ । 

प्रतिक्रिया दिनुहोस