aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike
टिप्पणी

के कोरोनाले विश्व अर्थ प्रणालीमा फेरबदल ल्याउँदैछ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
Reliance life insurance
के कोरोनाले विश्व अर्थ प्रणालीमा फेरबदल ल्याउँदैछ ?
LBEF

केही दिन अघि चीनका राष्ट्रपति सी जिन पिङले कुनै मुलुकको नाम नलिईकन अमेरिकालाई टाउको दुख्नेगरि एउटा अभिव्यक्ति दिए । जसमा उनले विश्वमा कायम आर्थिक र सैन्य प्रभुत्वको भत्सर्ना गर्दै भनेका थिए– अब अन्तर्राष्ट्रिय मामिला कुनै एक मुलुकले होइन, सबैले परिचालन गर्नु पर्छ । 

यो भनाई सार्वजनिक हुनासाथ एउटा बहस अन्तर्राष्ट्रिय रूपमा चलेको छ, के अब विश्वको अर्थ प्रणालीमा परिवर्तन आएको हो ? वा कोभिड १९ पछिको विश्व अर्थ प्रणाली नयाँ ढङ्गले चल्ने निश्चित भएको हो ? 

यहाँ त्यही विषयमा विमर्श गर्न खोजिएको छ । 

अमेरिकामा ट्रम्प राष्ट्रपति रहेका बेला सो मुलुकले चीन विरुद्ध निकै कडा र आक्रामक आर्थिक नीति अवलम्बन गर्‍यो । चिनियाँ कम्पनी हवाईको खेदो खन्न कुनै कसर नराखेको अमेरिकाले चीनसँगको आपूर्ति प्रणालीलाई नै तहसनहस पार्न खोजेको थियो । त्यही अवस्थालाई चित्रित गर्दै चिनियाँ राष्ट्रपति सी ले भनेको हुन्– अब कुनै एक वा केही मुट्ठीभर राष्ट्रले तयार गरेको तरिकाबाट विश्व चल्दैन । 

रोचक कुरा त यो छ की, राष्ट्रपति सी को यस्तो कथन अमेरिकी राष्ट्रपति जो बाईडेन र जापानका प्रधानमन्त्री योसिनिदे सुगाले साउथ चाइना सी मा चीनले गरिरहेको बल प्रयोग विरुद्ध एकजुट भएर काम गर्ने घोषणा गरेको दोस्रो दिन आएको हो । 

तर, सी ले आर्थिक विषयलाई निकै जोडतोडका साथ उठान गरेको सो मन्तव्य पछि विश्लेषकहरूले खोजी गरिरहेका छन् की कोरोना पछिको अवस्थामा विश्वका सर्वाधिक ठुला अर्थतन्त्र भएका राष्ट्रहरूको सूची कस्तो होला ? यस सम्बन्धमा आईएमएफको तथ्यांकलाई आधार बनाएर सिएनबीसीले एउटा प्रक्षेपण गरेको छ । 

सो प्रक्षेपण अनुसार विश्वका दश ठुला अर्थतन्त्रहरूको सूचीमा सायद कोरोना काल पछि पनि त्यति ठुलो परिवर्तन आउने छैन । किनकि अहिले पनि अमेरिका, चीन, जापान, जर्मन नै यसमा चम्किरहेका छन् । 

त्यसो त दश ठुला अर्थतन्त्रको सूचीमा पर्दै आएको ब्राजिलले कोरोनाकलामा नै आफ्नो स्थान गुमाइसकेको छ । सन् २०१९ मा नवौँ ठुलो अर्थतन्त्र भएको मुलुकको पहिचान राखेको ब्राजिल अहिले त्यो सूचीको १२ औँ नम्बरमा झरेको छ । यसरी दक्षिण अमेरिकी पावर हाउसले आफ्नो स्तर गुमाउँदा एसियाली मुलुक दक्षिण कोरियाले ठुला दशको सूचीमा छिर्ने मौका पाएको छ । 

ब्राजिलले तुरुन्तै आफूलाई उठान गरिहाल्न सक्ने अवस्था देखिँदैन । किनकि अहिले नै पनि ब्राजिल कोरोनाको चपेटामा परिरहेको छ । तथापि आईएमएफले सन् २०२१ मा ब्राजिलको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । 

उता, ब्राजिललाई पछि पार्दै अगाडी बढेको दक्षिण कोरियाले सन् २०२६ सम्म आफूलाई टप टेनको सूचीमा अड्याउन सक्ने आईएमएफले जनाएबाट के देखिन्छ भने अहिलेको जे जस्तो विश्व अर्थ व्यवस्था छ त्यसमा केही वर्ष ठुलो परिवर्तन हुनेछैन । 

विश्व बजारमा अहिले अभाव देखिएको सेमी कन्डक्टर चिप्सको व्यापारबाट दक्षिण कोरियाले राम्रै सम्पत्ति आर्जन गर्ने देखिन्छ । कोरोना महामारीले विस्तार गरेको कम्प्युटर, ट्याब्लेट, ल्यापटप लगायतका वस्तुहरूमा प्रयोग हुने यो चिप्सको व्यापार यसबिच निकै तीव्र गतिले फस्टाएको छ । 

सन् २०१४ यता अहिले कम्प्युटर जन्य बस्तुहरूको माग सर्वाधिक भएको बेला हो । जसमा भर्चुअल मिटिङका लागि आवश्यक पर्ने वेबक्यामको समेत ठुलो हिस्सा छ । त्यसो त चीनले पनि यस्तै चिप्सहरूको व्यापार र निर्माणबाट मनग्य आम्दानी गरिरहेको छ । चीन  सरकारले चिप्सको व्यापारमा प्रत्यक्ष निगरानी र नियमन समेत गर्दै आएको छ । 

उता, सन् २०१९ मा विश्वको पापौँ ठुलो अर्थतन्त्र भएको मुलुक भारत अहिले कोरोनाको अकल्पनिय चपेटामा छ । तथापि यसले आफ्नो स्तरलाई कायमै राखेर छैटौँ स्थानमा रहेको बेलायतलाई अघि बढ्न नदिने आईएमएफको प्रक्षेपणमा छ । 

सन् २०२३ सम्म भारतले हालको आफ्नो स्थान कायमै राख्नेछ भने आर्थिक वृद्धिदरमा पनि त्यति ठुलो क्षति व्यहोर्ने छैन । 

समग्रमा भन्दा जुन प्रकारको विश्व अर्थतन्त्र अहिले कायम छ त्यो तुरुन्तै फेरबदल हुँदैन । कोरोना पछिको विश्व अर्थ प्रणाली केही वर्षसम्म त्यस्तै नै रहनेछ । जस्तो सन् २०१९ मा थियो । 

तथापि एसियन मुलुक चीन, भारत र अन्य उदयमान एसियाली अर्थतन्त्रहरूको प्रभाव भने विश्व अर्थ प्रणालीमा भिन्नै रहने निश्चित छ । अमेरिकाका नयाँ राष्ट्रपति जो बाईडेनले धेरै हदसम्म आफ्नो चीन नीति ट्रम्प प्रशासनको भन्दा खासै फरक नहुने बताएबाट पनि यस्तो स्थितिको अनुमान लगाउन सम्भव भएको हो । 

 

प्रतिक्रिया दिनुहोस