aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

एयर लिफ्टिङ गरेर अक्सिजन सिलिन्डर ल्याउन सरकारसँग माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ बैशाख २०७८
Nabil Bank
एयर लिफ्टिङ गरेर अक्सिजन सिलिन्डर ल्याउन सरकारसँग माग
LBEF

काठमाडौं । कोरोनाका सङ्क्रमित बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव व्यापक रूपमा देखिन थालेको छ । सिलिन्डरको कमीले अक्सिजन आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादकहरूले सरकारसँग राखेको माग पनि सम्बोधन भैसकेको छ।  तर पनि अक्सिजनको अभाव नटर्ने स्थिति देखिंदैछ। 

सिलिन्डर आयातमा कर छुटको माग अक्सिजन उत्पादकहरूको थियो जसलाई सरकारले क्याबिनेट निर्णय मार्फत नै पुरा गरिसकेको छ। तथापि तुरुन्तै आवश्यक सिलिन्डर भित्राउन नसकिने उनीहरूले बताएका छन्। 

अक्सिजन नेपालमै उत्पादन हुने भए पनि भर्नका लागि आवश्यक पर्ने सिलिन्डर भारत र चीनबाट आयात हुने गरेको छ। तत्काल आवश्यक सिलिन्डर समयमै आयात गर्न समेत सरकारले सहजीकरणको व्यवस्था मिलाउनु पर्ने अक्सिजन उत्पादन संघका अध्यक्ष गौरव सारडा बताउँछन्। उनले भने, “भारतबाट सिलिन्डर ल्याउने अवस्था छैन, हामीले चीनबाट नेपाल ल्याउन ४५ देखि ६० दिन लाग्छ । सरकारले एयर लिफ्टिङ मार्फत ल्याइदिनु पर्‍यो वा अरू केही व्यवस्था मिलाउनु पर्‍यो ।” 

सरकारले अक्सिजन सिलिन्डर आयातमा कर छुट दिने निर्णय गरेपनी हालको अवस्थामा व्यापारीले आयात गरेर आपूर्ति सहज गर्न असम्भव रहेको उनको ठहर छ। उनी थप्छन्, 'व्यापारीले पुरानै प्रक्रियाबाट सिलिन्डर ल्याएर अहिलेको अभाव कम गर्ने भन्ने सम्भावना नै छैन।' सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिन्डर आयातमा कर छुट दिने निर्णय गरेको थियो । 

अक्सिजनको अभावका कारण कोरोना सङ्क्रमितको ज्यान जान सक्ने त्रास बढिरहेको बेला अक्सिजन उत्पादकहरूले भने त्यस्तो अवस्था आएमा अस्पतालहरूलाई नै दोषी करार गरिनु पर्ने बताएका छन् । कतिपय अस्पतालहरूले आफै अक्सिजन ग्यास उत्पादन गर्ने प्लान्ट राख्ने कुरा गरेर उद्योगीलाई झुक्काएको उनीहरूको आरोप छ ।

कान्तिपुर अक्सिजन लिमिटेडका प्रबन्धक कुमार चुडालले पर्याप्त अक्सिजन उत्पादन गर्ने क्षमता नेपालका उद्योगहरुको रहेको बताए । तर सिलिन्डरको अभाव हुनसक्ने र त्यसले भयावह स्थिति सिर्जना हुनसक्ने आकलन आफूहरूले बताउँदै उनले भने, “हामीले अक्सिजन भर्ने सिलिन्डर थप गर्ने योजना बनाएका थियौ । तर अस्पतालहरूले आफै प्लान्ट राख्ने तयारी गरेको सुनाए ।” 

चुडालको खास चित्त दुखाई के छ भने अस्पतालले न हामीलाई बेलैमा सिलिन्डरको जोहो गर्न उत्प्रेरित गरे न त आफै प्लान्ट बनाए । अहिले हामीसँग सिलिन्डरको अभाव छ उनले भने । काठमाडौं उपत्यकामा रहेका अक्सिजनका ठुला खपत कर्ता मध्येका अस्पतालहरू सिभिल, वीर, कान्ति बाल र गङ्गालालले आफै प्लान्ट राख्ने घोषणा गरेको थियो तर अहिले भने अक्सिजन चाहियो भनिरहेको अवस्था छ । 

नेपाल भर अहिले करिब २६ वटा उद्योगले अक्सिजन उत्पादन गरिरहेकोमा ८ वटा काठमाडौं उपत्यकामा नै रहेको छ । यदि पर्याप्त सिलिन्डर हुने हो भने नेपालमा अक्सिजन ग्यासको अभाव हुन नदिने गरी उत्पादन गर्न सक्ने ग्यास उद्योगीहरूको दाबी छ । तर, सर्वसाधारणले घरमा नै सिलिन्डर होल्ड गरेका कारण पर्याप्त ग्यास उत्पादन गरेर भर्न नपाएको उनले बताए । 

नेपालबाट भारत ग्यास निकासी भएका कारण तराईका केही सहरमा अक्सिजनको अभाव भएको भन्ने कुरा खण्डन गर्दै चुडालले भने, ग्यास सिलिन्डर गोजीमा हालेर उता पुर्‍याउन सकिन्छ र ? त्यो सब वाहियात हल्ला हो खासमा सिलिन्डर नै कम छन् ती पनि सबका घरघरमा थन्किएर बसेका छन् । 

 

प्रतिक्रिया दिनुहोस