तीन करोड फलफूलका बिरुवा रोप्ने सरकारको लक्ष्य - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

तीन करोड फलफूलका बिरुवा रोप्ने सरकारको लक्ष्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
Sunrise bank
तीन करोड फलफूलका बिरुवा रोप्ने सरकारको लक्ष्य
LBEF
NCH-IPS

काठमाडौं । सरकारले आजदेखि देशभर वृक्षारोपण अभियान थाल्ने भएको छ। हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि सारेको हो । प्रधानमन्त्री केपी ओलीले गत वर्ष ५ जुनदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान थालेका थिए ।

सोही अभियानअन्तर्गत देशभरमा गरी २३ लाख फलफूलको बिरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

प्रधानमन्त्रीको एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियानलाई मूर्तरूप दिन वृक्षरोपण दिवसमार्फत पुनः फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिने निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले बताए ।

सोही अभियानअन्तर्गत शनिबार प्रधानमन्त्री ओलीले राजधानीको रिङरोड आसपासका क्षेत्रमा फलफूलका बिरुवा रोपेर शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । जसअनुसार राजधानीको कोटेश्वरदेखि कलंकीसम्म फलफूलका बिरुवा रोपिनेछन् ।

सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सरिक हुन निर्देशन दिएको छ ।

यसैगरी प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ ।

सरकारले लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य (हर्बल) बिरुवा रोप्ने निर्णयसमेत गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस