मेलम्चीको सुरुङ फिनिसिङ गर्न दुई कम्पनीले हाले टेन्डर - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

मेलम्चीको सुरुङ फिनिसिङ गर्न दुई कम्पनीले हाले टेन्डर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
Sunrise bank
मेलम्चीको सुरुङ फिनिसिङ गर्न दुई कम्पनीले हाले टेन्डर
LBEF
NCH-IPS

काठमाडौं । मंसिरयता राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको काम ठप्प छ । इटालियन ठेकेदार कम्पनी (सिएमसी) ले हात झिकेपछि आठ महिनादेखि मेलम्ची आयोजना अलपत्रकै अवस्थामा छ । सिएमसीले आफूहरूले काम गरेको पैसा नदिएको भन्दै स्थानीय र सहायक ठेकेदारले काममा अवरोध गरेका छन् ।

केही दिनअघि मात्र सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि टेन्डर आह्वान गरेपछि ढिलै भए पनि आयोजना पूरा हुन्छ कि भन्ने आस पलाएको छ । सरकारले आठ महिनापछि सक्रियता देखाए पनि के–कसरी मेलम्ची आयोजनाको काम हुँदै छ ? के–कस्ता अप्ठयारा छन् ? र, कति खर्च लाग्छ भन्नेलगायत विषयमा नयाँ पत्रिका दैनिकका लागि तीर्थराज बस्नेतको रिपोर्टः 

मेलम्ची आयोजनाको सुरुङ फिनिसिङ गर्न चिनियाँसहित दुई कम्पनीले टेन्डर हालेका छन् । मेलम्ची आयोजना विकास समितिका अनुसार मुख्य दुईवटा प्याकेजमा विभाजन गरी बाँकी काम सुरु गरिनेछ । जसमा १० स–सना प्याकेज छन् । हेडवक्र्सको काम र सुरुङ फिनिसिङका लागि दुई मुख्य भागमा विभाजन गरिएको हो । ‘सुरुङ फिनिसिङका लागि एक चिनियाँ र एक नेपाली कम्पनीले टेन्डर हालेका छन्,’ आयोजना स्रोतले भन्यो, ‘अहिले हामी मूल्यांकनकै क्रममा छौँ । केही दिनमा छनोट गर्छौँ, अनि मात्र नाम सार्वजनिक गर्नेछौँ ।’ 

हेडवक्र्स (मुहानको संरचना) निर्माणका लागिसमेत बोलपत्र आह्वान गरिएको छ, जसको समयावधि १६ असारसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । दुवै प्याकेजको टेन्डर मूल्यांकन गरी ठेकेदार कम्पनी छनोटपश्चात् आयोजनाका बाँकी सबै काम अघि बढ्नेछन् । त्यसका लागि करिब दुई महिना लाग्ने समितिले जनाएको छ ।

सुरुङमार्गको ठेक्का पाउने कम्पनीले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङलगायतका काम गर्नुपर्नेछ । त्यसका लागि भेन्टिलेसन बनाउने काम गरिरहेका, पाइप आपूर्ति र जडानको काम गरिहेका ठेकदारसँग समन्वय गर्नुपर्ने आयोजनाले जनाएको छ ।

हेडवक्र्सतर्फको ठेक्का पाउनेले पानी थुन्ने इन्टेकको संरचना, पहुँचमार्ग स्तरोन्नति कफर ड्यामको डिजाइन र निर्माण, क्याम्प साइडको मर्मतलगायतका काम गर्नुपर्नेछ । आयोजनाका अनुसार हेडवक्र्सको ठेक्का पाउनेले सोझै हाइड्रो मेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडानको ठेक्का पाउने ठेकेदारसँग समन्वय गर्नुपर्नेछ । आयोजनाका अनुसार बाँकी काम सम्पन्न गर्न करिब दुई अर्ब ६० करोड रुपैयाँ लाग्नेछ ।

एक महिनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । गत २९ मंसिरमा इटालियन कम्पनी सिएमसी दि राभेनाले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । २४ माघमा समितिले सिएसमीसँगको ठेक्का तोडेको थियो । 

याङ्ग्री र लार्के आयोजना अघि बढाइनेः 
मेलम्चीको पहिलो चरणको सुरुङ निर्माणको काम सुरु भएपछि लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) याङ्ग्री र लार्केको सुरुङलगायत अन्य संरचनामा लगानी गर्न इच्छुक देखिएको छ । यसअघि एडिबीले पहिलो चरणको मेलम्चीको काम सम्पन्न गर्न सरकारलाई आग्रह गरेको थियो ।

मन्त्रालयले अब दोस्रो चरणको मेलम्ची आयोजनाको काम अघि बढाउने तयारी भइरहेको जनाएको छ । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मेलम्ची खानेपानी विकास समितिलाई बुझाइसकेको छ । इप्टिसाले डिपिआरलाई अन्तिम रूप दिएर समितिलाई बुझाएको हो । 

सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट १७—१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी काठमाडौं ल्याउन निर्माणको कार्य सुरु गर्न लागिएको हो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीको अम्बाथान (हेडवक्र्स) बाट २ किलोमिटर पर लार्के खोला छ ।

लार्केबाट याङ्ग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सीधै मेलम्चीको हेडवक्र्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङ्ग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी सुरुङको माध्यमबाट अम्बाथानदेखि २७ किलोमिटर टाढा सुन्दरीजलमा ल्याइनेछ । मेलम्ची खोलाको १७ करोड लिटरसँगै याङ्ग्री र लार्के खोलाको थप १७–१७ करोड गरी ५१ करोड लिटर पानी राजधानीमा भित्र्याउने सरकारको योजना छ । 

भुक्तानी पाउनुपर्ने भन्दै स्थानीयको अवरोधः 
इटालियन कम्पनी (सिएमसी) अन्तर्गत काम गरेका कामदार तथा सहायक ठेकेदारले अवरोध गरेका छन् । तुरुन्त भुक्तानी पाउनुपर्ने भन्दै स्थानीय र ठकेदारले भेन्टिलेसन साफ्टका लागि थालिएको ड्रिलिङको काममा अवरोध गरेका हुन् ।

‘स्थानीय अवरोधका कारण काम रोकिएको भन्ने जानकारी आएको छ,’ समितिका सूचना अधिकारी राजेन्द्र पन्तले भने, ‘कार्यदल बनाएर विवाद समाधान गर्ने प्रयास भइरहेको छ । सहमति गरेर अघि बढ्छौँ ।’ सुरुङभित्र गरिने भेन्टिलेसन सफ्टको कामलाई समितिले अगाडि बढाएको थियो । यस्तै सुन्दरीजलमा बढी भएको पानी बागमतीमा खसाल्ने आउट फलको कामसमेत सुरु भएको छ । 


 

प्रतिक्रिया दिनुहोस