aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक, मास्क नलगाएरै हिँडे १०० रुपैयाँ जरिवाना

  • रासस
    रासस
  • आइतबार, १२ बैशाख २०७८
पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक, मास्क नलगाएरै हिँडे १०० रुपैयाँ जरिवाना
NIBL

काठमाडौं । भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ  । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेश जारी गरेको छ । सोही निर्देशिका अनुसार धार्चुला तहशिलले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा आवतजावत गर्ने व्यक्तिकोे कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरिइएको हो  ।

भारतमा कोरोना दर उच्च रहेका कारण उसले सीमा प्रवेशमा कडाइ गरेको छ । दार्चुलामा पिसिआर परीक्षण गर्ने उपकरण छैन । यस्तो अवस्थामा दैनिक उपभोग्यका लागि भारतीय बजार धार्चुला पुग्ने नेपाली भने आइतबारदेखि मार्कामा परेका छन् ।

कोरोना सङ्क्रमणको दर उच्च भइरहेका बेला भारतले धार्चुला बजारमा मास्कमा यसअघि नै कडाइ गरेको थियो । मास्कविना यसअघि पनि भारतले प्रवेश दिएको थिएन । यस्तै भारतीय क्षेत्रमा दिउँसो २ बजेदेखि बजार तथा यातायात बन्द गराएको छ । धार्चुला बजार क्षेत्रमा छ जनामा कोरोनाको नयाँ भेरियन्ट भेट्टिएपछि दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको हो ।

भारतीय बजारमा प्रशासनले कडाइ गरे पनि दार्चुलामा भने अझै कडाइ गरिएको छैन । भारतले धार्चुलामा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेपछि नेपालमा के गर्ने भन्नेबारेमा बैठक पछि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । उनले भने, “हामी पनि आज बैठक बसेर सुरक्षामापदण्डबारे छलफल गर्छौं ।”

 खुला बजारमा पुग्यो भने मास्क नलगाएको भन्दै प्रहरीले १० रुपैयाँ पर्ने ठाउँमा १०० रुपैयाँ जरिवाना उठाउन थालेको छ । जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गराउन प्रहरीले मास्क नलगाई हिँड्ने व्यक्तिलाई १०० रुपैयाँ जरिवाना उठाउने अधिकार पाएको छ । सङ्क्रमण रोग ऐन २०२० अनुसार प्रहरीले जरिवाना उठाउने अधिकार स्थानीय प्रशासनले प्रहरीलाई दिएको छ ।

छिमेकी भारतमा कोरोनाको सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासनले दार्चुलामा पनि स्वास्थ्य मापदण्डलाई कडाइ बनाउने निर्णय गरेको हो । मास्क नलगाई घर बाहिर हिँड्नेलाई कारवाही गर्ने भएको छ । छिमेकी देश भारतमा कोभिड–१९ सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिँड्नेलाई कारवाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको गत बुधबार बसेको बैठकले मास्क नलगाई हिँडेको पाइएमा सङ्क्रामक रोग ऐनबमोजिम कारवाही गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रशासनले कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भीडभाड नगर्न भनेको छ । सीमानाकाबाट आउने यात्रुको आवतजावतलाई व्यवस्थित गरी उनीहरुको अनिवार्यरुपमा अभिलेख राख्ने तथा नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न पनि आग्रह गरेको छ ।

यस्तै बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्न कार्यालय र पसल जस्ता सार्वजनिकस्थलमा सेनिटाइजर वा हात धुने व्यवस्था र मास्कको प्रयोग अनिवार्य गर्न भनेको छ ।  यस्तै जिल्लास्थित सम्पूर्ण अन्तरराष्ट्रिय सीमानाकाबाट नेपाल प्रवेश व्यक्तिको अनिवार्यरुपमा एन्टिजेन गर्ने र सोको व्यवस्थापन गर्ने सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी खटाउने तथा मास्क नलगाइ आउनेलाई प्रवेश निषेध गर्ने वा जरिवाना गरी मास्क उपलब्ध गराउने जस्ता निर्णय भएको छ । बैठकले जिल्लाभित्र पनि नमूनाका रुपमा एन्टिजेन टेष्ट शुरु गर्नका लागि स्वास्थ्य कार्यालयलाई अनुमति दिने, कोभिड– १९ को रोकथाम नियन्त्रण उपचारका सम्बन्धमा सम्पूर्ण स्थानीय तहको अनुगमन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस