aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

‘ढुक्क भएर लगानी गर्नुस्, एनआईबीएल समृद्धि फण्ड-२ ले सोचेजस्तो प्रतिफल दिन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ बैशाख २०७८
Reliance life insurance
‘ढुक्क भएर लगानी गर्नुस्, एनआईबीएल समृद्धि फण्ड-२ ले सोचेजस्तो प्रतिफल दिन्छ’
LBEF

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष समेत रहेका मेखबहादुर थापा एनआईबिएल एस क्यापिटलका जनरल म्यानेजर हुन्। नेपालमा म्युचुअल एनआईबिएल समृद्धि फण्ड–१ को नै शुरुवाती नेतृत्व गर्ने यो कम्पनीले संचालन गरेको एनआईबिएल समृद्धि फण्ड नामक म्युचुअल फण्ड आगामी पुसमा पुरा हुँदैछ। आफ्नो पहिलो कामबाट उत्साहित भएको यो कम्पनीले एनआईबिएल समृदी फण्ड–२ नामक नयाँ एनआईबिएल समृद्धि फण्ड–२ बैशाख १३ गतेबाट बिक्री शुरु गर्न लागेको छ। यसरी नयाँ एनआईबिएल समृद्धि फण्ड–२ सार्वजनिक गर्ने कम्पनीका जनरल म्यानेजर थापासँग नयाँ म्युचुअल फण्डमा आम लगानीकर्ताले किन लगानी गर्ने भन्ने बिषयमा आर्थिकन्युज डटकमले प्रश्न गरेको छ। प्रस्तुत छ, उनीसँग नेपालमा पुँजी बजारको समग्र स्थितीदेखि मर्चेन्ट बैंकको अवस्थासम्मको विषयमा गरिएको कुराकानीको सम्पादित अंश:

नेपालमा सामुहिक लगानी कोषका रुपमा म्युचुअल फण्ड संचालन गर्ने तपाईहरु अग्रणी संस्थाको रुपमा चिनिनुहुन्छ । अहिले दोस्रो म्युचुअल फण्ड(स्किम) निष्काशनको पूर्वसन्ध्यामा हुनुहुन्छ । पहिलो अर्थात् समृद्धि फण्ड संचालनको अनुभव कस्तो रह्यो ?

हाम्रो पहिलो स्किम एनआईबिएल समृदी फण्ड–१ भन्ने थियो । सात वर्षको अवधि राखेर संचालन गरिएको सो फण्डको आगामी पुसमा समयावधि सकिंदैछ । सोबाट प्राप्त भएको अनुभव र त्यसले थपेको उत्साहले नै गर्दा हामी यही बैशाख १३ गतेदेखि अर्को स्किम एनआईबिएल समृदी फण्ड–२ को नामबाट संचालन गर्दैछौं । समृद्धि फण्ड–१ मा यस अवधिमा हामीले ५३.५ प्रतिशत प्रतिफल दिइसकेका छौं । यो फण्ड समाप्तीसम्म पुग्दा लगभग ११५ प्रतिशत प्रतिफल सहित लगानी फिर्ता गर्न सक्छौं भन्ने छ । यसरी हेर्दा वार्षिक १७ प्रतिशतभन्दा बढी नाफा दिन सकिने देखियो ।

प्रतिफलको हिसाबले समृद्धि फण्ड–१ ले सिकाएको पाठ के हो ?
समृद्धि फण्ड–१ संचालनको अवधिमा हामीले बजारमा बुल र बियर दुवै देख्यौं । भोग्यौं । तथापि समग्र रिटर्न त ठिकै देखियो । यसरी हेर्दा के ढुक्कले भन्न सकियो भने म्युचुअल फण्डमा गरेको लगानीले मुद्दती खातामा राखेको भन्दा त धेरै नै राम्रो दिँदोरहेछ ।

समृद्धि फण्ड–२ बाट कस्तो अपेक्षा गरिएको छ ?
हामीले समृद्धि फण्ड–१ भन्दा राम्रो नतिजा समृद्धि फण्ड-२ ले दिन्छ भन्ने हाम्रो विश्वास छ । समृद्धि फण्ड–१ को आकार जम्मा १ अर्वको थियो तर यसको आकार केहि ठूलो अर्थात् १ अर्व २० देखि ५० करोड रुपैयाँसम्मको हुनसक्छ ।

के  समृद्धि फण्ड–१ कै लगानीकर्ताको रकमलाई समृदी फण्ड-२ मा पनि निरन्तरता दिने सोचमा हुनुहुन्छ हो ?
हामी शुरुमा त्यो सोचमा थियौं । नियममा पनि त्यस्तो व्यवस्था छ । अनि कोशिस पनि गर्यौं । तर, नियामक निकायले पुरानोलाई पूर्ण रुपमा बन्द गरेर नयाँलाई छुट्टै तरिकाले चलाउन सुझाव दिएपछी हामीले त्यहि अनुरुप काम गरिरहेका छौं । तथापी, समृद्धि फण्ड–१ का लगानीकर्ताले पुसमा यो अन्त्य हुनेहुँदा समृदी फण्ड–२ मा त्यही रकम लगानी गर्ने योजना बनाउन नसक्ने भन्ने चाहिं होइन ।

हाम्रोमा म्युचुअल फण्डमा लगानीकर्ताको त्यति ठुलो आकर्षण देखिंदैन । तपाईहरु लगानीकर्ता आकर्षित गर्ने केही विषेश औजारको प्रयोग गर्दै हुनुहुन्छ ?

म्युचुअल फण्डले कुन कुन क्षेत्रमा लगानी गर्न पाउने भन्ने नियममा नै व्यवस्था छ । नियम निकै फराकिलो छ । धितोपत्र दर्ता गरेका सूचिकृत नभई सकेका कम्पनीमा समेत लगानी गर्न पाइने व्यवस्था छ । अन्य मौद्रिक साधनहरुमा पनि लगानी गर्न पाइन्छ । तर, हाम्रोमा त्यस्ता साधन नै छैनन् । मुद्दती निक्षेप र शेयर बजार बाहेक अन्य कुनै लगानी गर्ने ठाउँ छैन । त्यसबाहेक म्युचुअल फण्ड पुरापुर पब्लिकको पैसा हुनाले यसको नियमन समेत केही कडाईका साथ हुने गर्छ । त्यो स्वाभाविक पनि हो । जसले गर्दा लगानीका क्षेत्र सिमित नै छन् ।

बाहिरको अभ्यास हेर्ने हो भने म्युचुअल फण्ड खुला (ओपन इन्डेड) र बन्द (क्लोज इन्डेड) दुवै हुने गर्छ । तर, यहाँ क्लोज इन्डेडको मात्र धेरै अभ्यास भयो किन ?

हामीले एनआइबिएल सहभागिता फण्ड नाममा ओपन इन्डेड पनि संचालन गरिरहेका छौं । तर दुर्भाग्य, जव हामी यसको प्रचारको तयारीमा थियौं त्यहीबेला कोरोना महामारी शुरु भयो । त्यहि भएर यसबारे आम मानिसलाई सचेत गराउने, जानकारी दिने गर्न पाइएन ।

वास्तबमा फण्ड संचालनको खास आनन्द ओपन इन्डेडमा नै छ । बाहिर धेरै यसकै अभ्यास छ । लगानी गर्ने क्षेत्रदेखि नियमनमा समेत सहजता छ । सिमाहरु कम छन् । जहिलेपनि किन्न र बेच्न पाइन्छ । जतिपनि लगानी गर्न सकिन्छ । आकार जतिपनि बढ्न सक्छ ।

बन्द र खुला फण्ड बिचमा खास अन्तर चाहिं के हो ?

खुलामा किनबेच सजिलो हुन्छ। किनकि यो सुचिकृत हुँदैन र खरिद गर्न ब्रोकरसम्म पुग्नु पर्दैन । लगानी जहिले पनि गर्न पाईन्छ।  त्यसबाहेक जतिपनि किन्न मिल्छ । बन्दमा तपाइले बाई अर्डरमा बस्नु पर्छ।  किन्न पाउने वा नपाउने सबै सम्भावना हुन्छ। तर, खुलामा त्यस्तो हुँदैन। खुलामा नेट एसेट भ्यालु (न्याप) निकालिएको हुन्छ।  त्यसैमा आधारित रहेर जुनसुकै मूल्यमा किनबेच गर्न सकिन्छ तर यो सुबिधा बन्दमा पाईंदैन। 

तपाईहरुले यो फण्ड जहाँ लगानी गर्नुहुन्छ त्यसको सुरक्षण कसरी हुन्छ ?

यो फण्ड हामीले मार्केटमा लगानी गर्ने भएर ग्यारेण्टी गर्न सकिंदैन। तपाईलाई थाहा नै छ कि पुँजी बजारमा धेरै जोखिम छन । त्यसैले हामी भन्छौं- पहिला हामीकहाँ आउनु पूर्व नै निश्चित गर्नु होस् कि तपाईको लगानी गर्ने कि बचत गर्ने ? यदि बचतकर्ता हो भने बैंकमा जानुपर्यो।  लगानीकर्ता बन्ने हो भने मात्र यहाँ आउने हो।  

नेपालमा म्युचुअल फण्डको समग्र अनुभव चाहिं कस्तो छ ?

अहिलेसम्म ४/५ वटा म्युचुअल फण्डको अवधि पुरा भइसक्यो।  समग्रमा सबैले राम्रै गरी लगानी फिर्ता गरेका छन्। यसबाट नेपालमा म्युचुअल फण्डमा गरेको लगानीबाट निराश बन्नु नपर्ने रहेछ भन्ने देखियो।  

तपार्इले जारी गर्न लाग्नु भएको समृद्धि-२ मा ढुक्क भएर लगानी गर्नुस् भन्न सकिने केही सूचकहरू भए बताईदिनु न ?

हामीले लगानी गर्ने भनेको नेप्सेको इन्डेक्स हेरेर होइन स्क्रिप्ट हेरेर गर्ने हो। अहिले नै पनि कतिपय कम्पनीको मुल्य नेप्से १८ सय हुँदाभन्दा कम छ। अब त्यस्तोमा लगानी गरियो कसरी प्रतिफल दिन सकिन्छ ? हुन त हामीलाई केहि समय अझै लाग्छ बजारमा छिर्न तर पनि के बुझ्नुपर्यो भने म्युचुअल फण्ड भनेको आफै एउटा लगानीकर्ता न हो।  के कुनै लगानीकर्ताले जानीजानी नोक्सान हुने कम्पनीमा लगानी गर्ला त ? हामी फण्ड म्यानेजरले जुनमा नछिर्नु भन्छन् त्यहाँ गर्दैनौ। जुन किन्नु भन्छन् त्यही किन्छौं।  

अर्कोकुरा हामी सबै लगानी एकैपल्ट गर्दैनौ। कतिपय मानिसहरु म्युचुअल फण्डवालाले पैसा रोकेर राखे  भनेर आरोप समेत लाउँछन।  हामी बजारको अवस्था हेरेर मात्र लगानी गर्छौं। हामी यतिमात्र भन्छौं कि सुझबुझपूर्ण लगानी गरेर हामी यो फण्डको अवधि पुरा हुनेबेला सम्ममा राम्रो प्रतिफल दिन्छौं।  

हाम्रोमा मर्चेन्ट बैंकरले पाउनुपर्ने जति काम नपाएको हो ?

अहिले बल्ल मात्र मर्चेन्ट बैंकले काम पाउन थालेका छन्। पाँच वर्ष अघिको हेर्ने हो भने अवस्था अर्कै थियो। त्यो बेला इस्यु म्यानेजर र अन्डारराइटरको मात्र काम हुन्थ्यो। मर्चेन्ट बैंकर वा इन्भेस्टर बैंकरले गर्ने जति काम हुन सकेको थिएन। अहिले हामीले फण्ड म्यानेजमेन्टदेखि पोर्टफोलियो म्यानेजमेन्ट सम्मको काम गरिरहेका छौं। यसरी हेर्दा कामको दायरा समेत बढेको छ। अहिले बुक बिल्डिंगको काम पनि गरिरहेका छौं। 

यसमा बिदेशी लगानी किन नल्याउनु भएको पहुँच नभएर हो वा क्षमता नपुगेर हो ?

दुवै हो।  लुकाउनुपर्ने कुरै छैन। किन यस्तो भयो भने हाम्रो पुँजी बजारको व्यापार वा भनौ म्युचुअल फण्डको व्यापारलाई उपेक्षा गरेको अवस्था छ। सरकार लगायत सबै सरोकारवालाले यसलाई तेश्रोरचौथो स्तरको ब्यापारको रुपमा बुझेका छन्। कसैको प्राथमिकतामा परेन। बल्ल धितोपत्र बोर्डले केहि चासो व्यक्त गर्न थालेको छ। 

आइएमएफ लगायतका संस्थाबाट समेत लगानी ल्याउन सकिन्छ तर हामी पनि त्यसका लागि क्षमतावान हुनुपर्यो। हामीमा त्यस्तै मान्छेदेखि प्रविधि भित्राउनु पर्छ।  अर्को पहुँचको समस्या त छँदैछ। फेरिपनि दोहोर्याउँछु कि बिदेशी लगानी ल्याएर चलाउनसक्ने क्षमता चाहिँ हामीसँग कम्तिमा हुनुपर्यो।

पुँजी बजारबारे चाहिं तपाइको बुझाई के हो ?

हाम्रोमा शेयर सेकेण्डरी मार्केटलाई जुवाघर समेत भनियो। पुँजी बजारलाई अनुत्पादक क्षेत्र भनिन्छ।  यस्तोमा हामीले बुझ्नुपर्यो यदि बजारमा सेकेण्डरी मार्केट हुँदैन भने त्यहाँ प्राइमरी मार्केट पनि हुँदैन।  महँगोमा बेच्न पाइन्छ भन्ने निश्चित हुँदैन भने कसैले पनि किन्दैन। यहाँ प्राइमरी मार्केटलाई उत्पादक र सेकेण्डरीलाई अनुत्पादक भनिन्छ। त्यो लजिक के हो मैले अहिलेसम्म बुझेको छैन। तर, आवश्यकता चाहिँ दोस्रो बजारलाई सकेसम्म चलायमान बनाउने कुरामा छ। 

तर, बजार प्रति मानिसको आकर्षण बढेको छ नि ?

यसका केहि कारण छन्।  पहिलो त प्रविधिको प्रयोगले बजारमा प्रवेश गर्न जो कोहीलाई सहज बन्यो। दोस्रो कोभिडका कारण मानिसहरु घर बस्दा गर्न मिल्ने व्यापार यही नै देखियो। अर्को, भएको पुँजी लगानीको अर्को क्षेत्र पनि मानिसहरुले भेटेनन्।  त्यसमाथि बिदेशमा बसेरै समेत कारोबार गर्ने व्यवस्था भएको छ। अर्को कुरा बजार यसबेला बढ्यो जहाँ मानिसहरुले राम्रो नाफा पाए। यी सबै कुराले बजार प्रति आकर्षण बढेको हो।

यो खुसीको कुरा हो। तर, यसले ल्याएको चुनौती पनि भुल्नु हुँदैन।  बजार जसरी बढ्यो त्यसरी नै घट्नु भएन। त्यसका लागि हामीले के के गर्नुपर्ने हो त्यो गर्न तयार रहनुपर्छ। 

प्रतिक्रिया दिनुहोस