aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

यस्तो छ विदेश जान नपाएर बिरक्तिएका विद्यार्थीको कथा

  • रिता राउत
    रिता राउत
  • शुक्रबार, १० बैशाख २०७८
Reliance life insurance
यस्तो छ विदेश जान नपाएर बिरक्तिएका विद्यार्थीको कथा
LBEF

काठमाडौं । अध्ययनको लागि नेपाली युवा पिँढीको आकर्षक गन्तव्यमध्ये जापान पनि एक हो । कक्षा १२ पढेर जापान जाने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । यस्तै सपना बोकेर ओखलढुङ्गाका अर्पन अधिकारी २०७६ सालको दशैँ मनाएर काठमाडौं आए ।

उनी चाबहिल बसेर र पुतलिसडकको एक कन्सल्टेन्सीमा जापानी भाषा पढ्न थाले । भाषा सिक्दै गर्दा जापानको एक कलेजमा अध्ययन अनुमतिका लागि आवेदन दिए । उनको फागुनमा त्यहाँ अध्ययन गर्न योग्य रहेको प्रमाणपत्र (सिओई) आयो ।

अधिकारीको सिओई आएको एक महिनामा लकडाउन भयो । लकडाउन खुलेको केही महिना पछि नै सिओई पछिको प्रक्रिया उनले सुरु गरे । यसबिच उनले आफन्त र साहुसँग ऋण लिएर १० लाख कलेजलाई बुझाइसकेका छन् । 

अधिकारी भन्छन्, ‘सिओई आएको करिब डेढ वर्ष हुन लाग्यो । आफन्त र साहुसँग ऋण लिएर पैसा बुझाएको छु । अहिले आफन्तलाई बिस्तारै तिर्छु भनेर थम थमाएको त छु तर, साहुसँग ब्याजमा लिएको ऋणको ब्याज तिर्दै बसेको छु । अझै जान पाउने निश्चित छैन ।’ उनी थप्छन्, ‘ब्याचलर पहिलो वर्षको परीक्षा त दिए । सिआई आएकोले अब जापान जाने भनेर दोस्रो वर्षको परीक्षा दिइन । अहिले न जागिर खान पाएको छु न पढ्न नै । कोरोनाको दोस्रो लहरले झनै जान नपाइने पो हो की भनेर अत्यास लाग्न थाल्यो ।’ त्यहाँ अध्ययन सँगै काम समेत गरेर ऋण तिर्ने सोचमा तुषारापात भयो । कहिले जानु, कहिले कमाउनु, अनि कहिले साहुको ऋण तिर्नु !’    

अधिकारीको जस्तै पिडा छ, ललितपुरका दीपक सापकोटाको पनि । २०७६ फागुन महिनामा जापान अध्ययनका लागि सिईओ आउँदा उनी पनि फुरुङ्ग थिए । तर, सिओई आएको एक महिनामै लकडाउन भयो । 

सापकोटाको सिओई आएको करिब डेढ वर्ष हुन लाग्यो । तर, उनी न जापान जान पाएका छन्, न त कहिले जाने टुङ्गो नै छ । उनी भन्छन्, ‘सामान्य परिस्थिति भइदिएको भए यतिखेर म जापानमा हुन्थे । जाने दिन कुर्दा कुर्दा अब फेरि कोरोनाको दोस्रो लहरले गर्दा झन् अनिश्चित बन्यो । अत्यास नै लागिसक्यो, जानै पो नपाइने हो कि !’ 

धेरै जसो नेपाली विद्यार्थीहरू ‘स्टुडेन्ड भिसा’मा जापान जाने र त्यहाँ गएर पैसा कमाउने भन्ने सोच हुने गरेको सापकोटा बताउँछन् । उनी भन्छन्, ‘पहिलो उद्देश्य भनेको नै स्टुडेन्ड भिसा’मा जापान जाने, पैसा कमाउने भन्ने नै हुन्छ । त्यहाँ धेरै दुःख भए पनि छोटो समयमा धेरै पैसा कमाउन सकिन्छ । यसले गर्दा पनि त्यहाँ गएर छोटो समय दुःख गर्न तयार भएकै हो ।’

यी दुई प्रतिनिधि पात्र मात्रै हो । जापानले कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुकको सूचीमा नेपाललाई राखेको छ । यसको प्रत्यक्ष मारमा पर्ने उनीहरू जस्ता विद्यार्थीको सङ्ख्या हजारौँ छ । तर, सरोकारवाला निकायहरु भने यस्ता विद्यार्थीको संख्या कति छ भनेर कसैसंग एकिन तथ्यांक नै नभएको बताउँछन् । यस्ता विद्यार्थीको सङ्ख्या कति छ भनेर तथ्याङ्क नभएको नेपाल शैक्षिक परामर्श संघका उपाध्यक्ष शेषराज भट्टराई बताउँछन् । भट्टराई भन्छन्, ‘अघिल्लो वर्षदेखि विद्यार्थी जान पाएका छैनन् । यस्ता विद्यार्थी धेरै छन् । तर, यति नै छन् भन्ने तथ्याङ्क चाहिँ हामीसँग छैन ।’

त्यस्तै, इन्टरनेशनल एजुकेसन इनिसेटिभ अफ नेपाल (आइरीन)का पूर्व अध्यक्ष कुमार कार्की पनि सिओई आएर पैसा तिरेर जाने तयारी गरेका तर कोरोनाका कारण विदेश पढ्न जान नपाएका विद्यार्थीको सङ्ख्या कति छन् भन्ने यकिन तथ्याङ्क नभएको बताउँछन् । उनी भन्छन्, ‘‘यसको तथ्याङ्क शिक्षा मन्त्रालयले दिने नो अब्जेक्सन लेटरको सङ्ख्या मान्यो भने पनि सही तथ्याङ्क आउँदैन । किनभने एउटै व्यक्तिले दुई तीन वटा नो अब्जेक्सन लेटर लिएका हुन्छन् । साथै कुनै कुनै देशमा पैसा पठाउनका लागि पनि नो अब्जेक्सन लेटर चाहिने हुँदा त्यसका लागि पनि लिएका हुन्छन् ।’ कार्की थप्छन्, ‘पैसा तिरेर पनि विदेश पढ्न जान नपाएका धेरै जसो अस्ट्रेलियाका विद्यार्थी छन् ।’ आफूसंग तथ्यांक नभएकोले कति विद्यार्थी जान पाएक छैनन् भन्ने एकिन भन्न नसकिने कार्कीको भनाई छ । 

यता, स्वतन्त्र शैक्षिक परामर्श संघका अध्यक्ष वासुदेव नेपाल पैसा तिरेर जाने तयारी गरेका तर कोरोनाका कारण विदेश पढ्न जान नपाएका विद्यार्थीको सङ्ख्या ठ्याक्कै थाहा नभएको बताउँछन् । नेपाल भन्छन्,  ‘यति नै विद्यार्थी छन् भनेर डाटा नै त छैन तर, करिब १० हजार जति छन् भन्ने हाम्रो अनुमान छ । यो विश्वभरको साझा समस्या कोरोना महामारीले गर्दा भएको हो । अझै पनि कहिले जान पाउँछन् भन्नेमा निश्चित छैन ।’ उनी थप्छन्, ‘‘अन्य खाडी मुलुकहरूले स्वास्थ्य मापदण्ड अपनाएर कामदारहरू लगिरहेका छन् । जापानले पनि स्वास्थ्य मापदण्ड अपनाएर, निश्चित समय क्वारेनटाइन बस्ने नियम बनाएर भए पनि विद्यार्थीहरू लैजानु पर्छ भनेर हामीले कूटनीतिक पहल भने गरिरहेका छौँ ।’    

प्रतिक्रिया दिनुहोस