aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

रुद्रमती किनारको अतिक्रमित जग्गा खाली, आकर्षक उद्यान बनाइने

  • रासस
    रासस
  • विहीबार, ०९ बैशाख २०७८
Reliance life insurance
रुद्रमती किनारको अतिक्रमित जग्गा खाली, आकर्षक उद्यान बनाइने
LBEF

काठमाडौं ।  काठमाडौँ महानगरपालिका– ११ बबरमहलस्थित रुद्रमती नदी उकासको अतिक्रमित एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा डोजर लगाएर खाली गरिएको छ । 

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ (क)बाट निर्वाचित वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ र काठमाडौँ महानगरपालिका–११ का जनप्रतिनिधिको सक्रियतामा अतिक्रमित सार्वजनिक जग्गा डोजर लगाएर खाली गरिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठले महानगरपालिकाको वडा नं १० मा पनि सार्वजनिक जग्गा विभिन्न व्यक्तिका नाममा अतिक्रमण गरिएकाले हटाउन लागिएको जानकारी दिए ।

रुद्रमती किनारको कित्ता नं २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलका नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण भएको थियो । सार्वजनिक जग्गा हडप्ने डोटेललाई जग्गा खाली गर्न र भाडामा राखेको मान्छे अन्यत्र सार्न वडा कार्यलयबाट पटकपटक पत्राचार गरी प्रक्रिया अघि बढाइए पनि अटेर गरेपछि डोजर चलाउन बाध्य हुनुपरेको वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए ।

मालपोत र नापी कार्यालयबाट दुवै कित्ताका सार्वजनिक जग्गाको निस्सा प्रमाण लिएर चालू आर्थिक वर्षमै उद्यान निर्माण गर्न लागिएको उनले बताए । उद्यान निर्माणका लागि डिजाइनसमेत तयार पारिएको छ । जसका लागि रु तीन करोड व्यवस्थापन गरिएको वडा कार्यालयले जनाएको छ । सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सबै जनप्रतिनिधि र स्थानीयवासी एक हुनुपर्नेमा जोड दिइएको छ । 

अतिक्रमित सबै सार्वजनिक जग्गा खाली गरी उद्यान निर्माण गरेर भूकम्पलगायत विपत्तिका बेला उपयोग गर्न सकिने गरी सुरक्षित राखिने जनाइएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतका सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध अभियान चलाएर खाली गराउन लागिएको प्रदेशसभा सदस्य श्रेष्ठले बताए । 

अन्यत्र पनि यसरी जग्गा अतिक्रमण गरेको जानकारी गराउन पनि उहाँले स्थानीयवासीमा आह्वान गरेका छन । वडा नं १० र ११ का अतिक्रमित जग्गाको नाप जाँचसमेत सकेर खाली गर्न वडा कार्यालयले काम गरिरहेको जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस