इन्काउन्टर अनुसन्धान अधुरै, विज्ञको अभाव - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

इन्काउन्टर अनुसन्धान अधुरै, विज्ञको अभाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
इन्काउन्टर अनुसन्धान अधुरै, विज्ञको अभाव
LBEF
NCH-IPS

काठमाडौं । पेप्सीकोलाका ११ वर्षीय निसान खड्काको अपहरणपछि हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङ गत साउन २५ गते भक्तपुरको जंगलमा मारिए । प्रहरीले मुठभेडमा उनीहरू मारिएको बतायो जबकि स्थानीयले उनीहरूलाई डेराबाट पक्रेर लगिएको दाबी गरे । तामाङद्वयका अभिभावकले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिए । एक वर्ष हुन लाग्दा पनि आयोगले अनुसन्धान टुंग्याएको छैन ।

आयोगले उजुरीलगत्तै स्थलगत अध्यनन गरी स्थानीयसँग बयान पनि लिएको थियो । घटनामा प्रहरीको भूमिका पुष्टि गर्न ब्यालेस्टिक विज्ञ जरुरी रहेको तर स्वदेशभित्र भएका विज्ञबाट परामर्श लिन नसकेको आयोगले बताउने गरेको छ । आयोगका सदस्य सुदीप पाठकले भने, ‘नेपालमा दुई जना मात्रै ब्यालेस्टिक विज्ञ भएको सूचना पायौं । दुईमध्ये एक जना देशबाहिर रहेको र अर्को एक जनाले समय निकाल्न नसकेकाले अनुसन्धान टुंगिएको छैन ।’

आयोगले शंकास्पद मुठभेड घटनामा थालेका अधिकांश अनुसन्धान अपूरा छन् । २०७२ भदौ ३ मा कुमार घैंटे सामाखुसीमा मारिएको घटनामा प्रहरीको शंकास्पद भूमिकाबारे मृतकका आफन्तले उजुरी दिएपछि मानव अधिकार आयोगले छानबिन थालेको थियो । त्यस घटनामा पनि प्रहरीले आफूमाथि आइलागेपछि जवाफी कारबाही गरेको बताएको थियो । यसमा पनि आयोगले ब्यालेस्टिक विज्ञ अभावमा अनुसन्धान अपूरो राख्यो ।

शंकास्पद मुठभेडको पुरानै घटनामा अनुसन्धान नटुंग्याएको आयोगले सर्लाहीको लखनदेही जंगल नजिकै चन्द समूहका नेता मारिएको घटनामा पनि अनुसन्धान गरिरहेको छ । आयोगले स्थलगत अनुसन्धान भने सकेको छ । ‘आयोगका दुई अधिकृत स्थलगत अनुसन्धान सकेर फर्केका छन् । आइतबारसम्ममा प्रतिवेदन तयार हुन सक्छ,’ आयुक्त पाठकले भने । उनले हालसम्म प्राप्त जानकारीका आधारमा प्रहरीको भूमिका शंकाको घेरामा देखिएको बताए । सर्लाही घटनामा प्रहरीको भूमिकाबारे संघीय संसदमा सत्तारूढ र विपक्षी दलका संसदहरूले प्रश्न उठाइरहेका बेला आयोगले अनुसन्धान थालेको हो ।

आयोगले विगतमा द्वन्द्वकालीन मुद्दाको अनुसन्धान गर्न विदेशबाट विज्ञहरू झिकाएको थियो । माओवादी हिंसात्मक विद्रोहका बेला सुरक्षाकर्मीले बेपत्ता पारेका जनकपुरका पाँच युवाको शव गोदारस्थित खोला छेउमा भेटिएपछि आयोगले जर्मनी र फिनल्यान्डबाट फरेन्सिक एन्थ्रोपोलोजिस्टको टोली बोलाएको थियो । टोलीमा ब्यालेस्टिक विज्ञ पनि थिए ।

आयोगका पूर्वसदस्य गौरी प्रधानले त्यस घटनाका अलावा भैरवनाथ गणबाट बेपत्ता पारिएका बन्दीहरूको शिवपुरी जंगलमा कंकाल भेटिएको भन्ने घटनाको अनुसन्धानमा पनि फिनल्यान्डबाट विज्ञ टोली झिकाइएको बताए । उनले भने, ‘खर्चिलो र समय लाग्ने भए पनि आयोगले इच्छाशक्ति देखाउने हो भने विज्ञ झिकाएर स्वतन्त्र अनुसन्धान गराउन सक्छ ।’

पूर्वडीआईजी हेमन्त मल्ल मुठभेडका घटनाको अनुसन्धान गर्न आवश्यक पर्ने ब्यालेस्टिक विज्ञ नेपाल प्रहरीसँग भए पनि स्वतन्त्र विज्ञको कमी भएको बताउँछन् । ‘मुठभेड घटनाको अनुसन्धान अधुरो छाडदा बाध्यात्मक मुठभेडका घटनामा पनि प्रहरी विवादमा तानिने सम्भावना हुन्छ,’ उनले भने, ‘यस्ता घटना दोहोरिने वा फिल्डमा खटिने प्रहरीको मनोबल कमजोर हुने सम्भावना हुन्छ ।’

मानव अधिकारवादी चरण प्रसाईंले शंकास्पद मुठभेड घटनामा आयोगले अनुसन्धान नटुंग्याउँदा गैरन्यायिक हत्यालाई प्रोत्साहन मिल्ने खतरा रहेको बताए । उनले पछिल्ला वर्षहरूमा प्रहरीले गरेको कारबाहीका घटनामा प्रश्न उठेको तर त्यसको स्वतन्त्र छानबिन नभएकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘शंकास्पद मुठभेडबारे छानबिन नहुँदा आयोगको औचित्यमाथि प्रश्न उठ्छ, यस्ता घटना दोहोरिने खतरा पनि उत्तिकै रहन्छ ।’ कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस