पहिलो चरणमा आठ ब्रोकरलाई मार्जिन कारोबारको अनुमति - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

पहिलो चरणमा आठ ब्रोकरलाई मार्जिन कारोबारको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
Sunrise bank
पहिलो चरणमा आठ ब्रोकरलाई मार्जिन कारोबारको अनुमति
LBEF

 काठमाडौं । मार्जिक कारोबार सुविधा प्रदान गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आठ ब्रोकर कम्पनीहरुलाई विहीबार अनुमति दिएको छ । नेप्सेले नेपाल राष्ट्र बैंकबाट पहिलो चरणमा सैद्धान्तिक सहमति दिईसकेका कम्पनीहरुलाई अनुमति दिएको हो । नेपाल राष्ट्र बैंकमा ११ वटा ब्रोकरले मार्जिन कारोबारको लागि निवेदन दिएपनि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति आउन ढिला भएकाले ८ वटाले मात्र विहीबार प्रमाणपत्र बुझेका हुन । 

अनुमति पाउनेमा क्रिष्टल कञ्चनजंघाँ सेक्यूरिटिज (ब्रोकर नम्बर ५०), भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) , सेक्युर्ड सेक्यूरिटिज ( ब्रोकर नम्बर ३६) , श्री कृष्ण सेक्यूरिटिज ( ब्रोकर नम्बर २८) , प्राईमो सेक्यूरिटिज ( ब्रोकर नम्बर १६ ) , नेपाल स्टक हाउस ( ब्रोकर नम्बर १४), कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिज ( ब्रोकर नम्बर ३५ ) र दिपशिखा धितोपत्र कारोबार कम्पनी ( ब्रोकर नम्बर ३८ ) रहेका छन् ।

ब्रोकरहरुले लामो समयदेखिको हाम्रो माग पुरा भएको भन्दै सकेसम्म यसै आर्थिक वर्षभित्र यसलाई कार्यान्वयनमा लैजाने प्रतिक्रिया दिए । कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रबन्ध निर्देशक तथा ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले लगानीकर्ताहरुका लागि वाणिज्य बैंकको तुलनामा कम व्याजदरमै मार्जिन कर्जा प्रवाह गर्ने बताए । बजारमा कारोबार बढेमा सबैभन्दा बढी फाइदा ब्रोकरहरुलाईनै हुने भन्दै उनले मार्जिन कारोबार सुरु भएपश्चात कारोबार बढ्नेमा समेत विश्वास व्यक्त गरे । 
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले धितोपत्र बजारमा एक नयाँ औजार थपिएको बताए । मार्जिन कारोबारको स्वीकृति दिन केही ढिलाई भएको स्वीकार गर्दै उनले अव यसको कार्यान्वयनमा ढिलाई नगर्न ब्रोकरहरुलाई आग्रह गरे ।

यी वाहेक राष्ट्र बैंकबाट ब्रोकर नम्बर ५९ दिव्या सेक्यूरिटिज, ब्रोकर नम्बर ५७ आर्यतारा सेक्यूरिटिज, ब्रोकर नम्बर ३३ दक्षिणकाली इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजले राष्ट्र बैंकको स्वीकृति पाईसकेको प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन् ।

दिव्या सेक्यूरिटिजका प्रवन्ध निर्देशक राम प्रसाद आचार्यले बिहीबार मात्र राष्ट्र बैंकबाट स्वीकृति पत्र प्राप्त गरेको जानकारी दिए । उनले नेप्सेमा बुझाईसकेको भन्दै शुक्रबार नेप्सेबाट पनि स्वीकृति पाउने आशा व्यक्त गरे । 

धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) ले आफ्नो ग्राहकलाई शेयर खरिद गर्ने प्रयोजनका लागि ऋण स्वरुप उपलब्ध गराउन सक्ने व्यवस्थालाई मार्जिन कारोबार सुविधा भनेर बुझ्न सकिन्छ । यो सुविधा ब्रोकरले आफ्नै स्रोत वा वाणिज्य बैङ्कसँग रकम लिएर आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म उपलब्ध गराउन सक्नेछन् । धितोपत्र कारोबारका लागि यो एक किसिमको अल्पकालिन कर्जा हो ।
 

प्रतिक्रिया दिनुहोस