aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

आर्थिक आँखाले वर्ष २०७७ को अवलोकन गर्दा......

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ चैत्र २०७७
Reliance life insurance
आर्थिक आँखाले वर्ष २०७७ को अवलोकन गर्दा......
LBEF

वर्ष २०७७ को अन्त्यमा आर्थिक सूचकाङ्क समेटिएका दुई वटा रिपोर्ट एकै दिन सार्वजनिक भए । चैत्र ३० गते सोमबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका पछिल्ला ८ महिनाको समीक्षा प्रतिवेदन सार्वजनिक गर्‍यो भने विश्व बैंकले पनि नेपालको आर्थिक स्थिति सम्बन्धी अर्को रिपोर्ट बाहिर ल्यायो । 

विश्व बैंकको रिपोर्टले नेपालमा गरे हुन्छ भन्ने भावको सञ्चार गरेको छ । हाम्रो निर्यात क्षमता ११ खर्ब रुपैयाँ बराबरको रहेको रिपोर्ट सार्वजनिक हुँदा गर्न सकिने रहेछ भन्ने स्वभाविकरुपमा सबैमा परेको छ । हुन पनि ११ खर्बको निर्यात भनेको अहिले भइरहेको वार्षिक निर्यातको १२ गुण बढी हो । सो रिपोर्टमा यो अवस्थामा पुग्दा स्वभाविकरुपमा थप दुई लाख २० हजार नयाँ रोजगारी सिर्जना हुन सक्छन् भन्ने अनुमान गरिएको छ । 

उता राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टले भने केही निराशा थपेको छ । हाम्रो अर्थतन्त्रको सबैभन्दा महत्त्वपूर्ण हिस्सा बन्दै आएको रेमिट्यान्स आयको वृद्धिदर लगातार घट्दै गएको सो रिपोर्टमा उल्लेख छ । राष्ट्रिय आयका अन्य क्षेत्रहरू बलियो बन्न नसक्नु र रेमिट्यान्स आयमा समेत उल्लेख्यरुपमा गिरावट आउनु चिन्ताको विषय हो । 

गएको एक वर्षलाई फर्केर हेर्ने हो भने हामीले सकारात्मक पाटो केही पनि देख्दैनौँ । सबै नकारात्मकता छ, अर्थतन्त्रदेखि राजनीतिसम्म । अर्थतन्त्रमा क्षति नै क्षतिका रेकर्ड रहेका छन् । यता, राजनीतिमा स्थिरता हुन्छ भन्ने आम नेपालीको विश्वासमा कठ्याङ्ग्रिने गरी तुसारापात भएको छ । 

२०७७ वैशाख एकलाई स्वागत गर्दै गर्दा देश पुर्णरुपमा लकडाउनको अवस्थामा थियो । कलकारखाना, उद्योगधन्दा र सबै खाले आर्थिक गतिविधि ठप्प थिए । मानिसहरूमा त्रास र निराशा छाएको थियो । अहिले ठिक एक वर्ष पछि स्थिति केही फरक त छ तर, अनिश्चितता र त्रास भने उही रूपमा व्याप्त छ । जुन एक वर्ष अघि थियो । प्राविधिकरुपमा बजार खुल्ला छ तर, आर्थिक कारोबार सुस्त छ । उद्योगहरू सञ्चालनमा त छन् तर, पुरानै अवस्थामा फर्किन निकै नै कठिन परिरहेको छ । 

त्यसैले नयाँ वर्ष २०७८ लाई खुल्ला मनले हर्षोउल्लाषका साथ स्वागत गर्न सकिरहेका छैनौँ । अहिले देशको आर्थिक वृद्धिदर हालसम्मकै ऋणात्मक स्थितिमा रहेको छ । यसबिच १५ लाख भन्दा बढी नेपालीले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक भइसकेको छ । अझै पनि १२ लाख भन्दा बढी नेपालीहरू गरिबीको रेखामुनि छन् । 

यदि कोरोना भाइरसको प्रभाव नहुँदो हो त लगातार रूपमा तीन आर्थिक वर्षसम्म ६ प्रतिशत भन्दा बढीको आर्थिक वृद्धिदर हासिल गरिरहेको हाम्रो देशले यो आर्थिक वर्षमा समेत त्यो गतिलाई कायमै राख्ने थियो । तर, विडम्बना २०७७ सालको जम्मा एक दिन मात्रै बाँकी रहँदा विश्व बैंकले जारी गरेको प्रतिवेदनले हाम्रो आर्थिक वृद्धिदर २.७ प्रतिशत मात्रै रहने जनाएको छ । त्यो पनि यदि मनसुनी अनुकूलताले कृषि उत्पादनमा सुधार ल्याउन सक्यो भने मात्र ।  

नेपालको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिन सक्ने भनेर व्याख्या गरिँदै आएको पर्यटन क्षेत्र अत्यन्तै नाजुक अवस्थामा छ । अर्थमन्त्रालयले सोमबार मात्र सार्वजनिक गरेको अर्थ बुलेटिनले सन् २०२१ को फ्रबुअरीसम्ममा हवाई मार्गबाट नेपाल आउने पर्यटकको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ८७.४ प्रतिशतले न्यून रहेको जनाएको छ । यस अवधिमा जम्मा १८ हजार २० जना मात्रै पर्यटक हवाई जहाज चढेर नेपाल आए । जबकि अघिल्लो वर्ष यही अवधिमा एक लाख ४३ हजार ४७ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए । 

नेपालको जिडिपीमा सर्वाधिक महत्त्वपूर्ण हिस्सा बोकेको कृषि क्षेत्रले मात्रै कोरोनाका कारण १९ अर्ब भन्दा बढी क्षति व्यहोरेको एक अध्ययनले देखाएको छ । सरकारले लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न सकिरहेको छैन । पटक पटक बजेटको आकार घटाउन बाध्य भएको छ । 

स्थिति यहाँसम्म तल झरेको छ की नेपालमा औपचारिकरुपमा बजेट ल्याउन थालिएको ७० वर्षको इतिहासमा दोस्रो पटक सरकारले अघिल्लो वर्षको भन्दा कम अर्थात् १४ खर्ब ४७ अर्बको बजेट विनियोजन गरेको थियो । जबकि अघिल्लो वर्ष १५ खर्ब ३२ अर्बको बजेट ल्याइएको थियो । नयाँ वर्ष सुरु भएको डेढ महिनामा ल्याउनै पर्ने अर्को बजेटको आकार त्यो भन्दा घट्ने सम्भावना देखिँदै छ । किनकि यदि तथ्यमा आधारित रहेर र बढी महत्त्वाकाङ्क्षी नबनीकन बजेटको आकार निर्धारण गर्ने हो भने सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा बजेट सानो, छरितो र चुस्त बनाउनु पर्ने हुन्छ । 

आम नागरिकमा आशा सञ्चार गराउने कुनै पनि काम यसबिच भएको छैन । यस वर्ष इन्धनको भाउ अत्यधिक बढेको छ । राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने पनि पछिल्लो आठ महिनामा दैनिक उपभोग्य वस्तुको मूल्य २० प्रतिशतसम्म बढेको देखिन्छ । वर्ष ०७७ का अन्तिम दुई महिना फागुन र चैत्रमा त झन् बजार भाउ यति चर्किएको छ की निम्न मध्यमवर्गको चुलो बल्न नै सकस परिसकेको छ ।

यसरी समग्र रूपमा हेर्दा वर्ष २०७७ आर्थिकरुपले अत्यधिक सकसपूर्ण वर्ष रह्यो । आर्थिक परिसूचकहरू निराशापूर्ण मात्र देखिए । सडकमै रहेको सर्वहारादेखि देशकै सर्वाधिक धनी भनिनेहरूका लागि समेत यो वर्ष तनावपूर्ण नै रह्यो । अझै पनि नयाँ आशा तरगिंत गर्ने खासै तथ्यहरू देखिएका छैनन् । तथापि अपेक्षा र कामना गरौँ, नयाँ वर्ष २०७८ ले सुख, समृद्धि र आर्थिक विकासको नयाँ ढोका खोल्नेछ । 

 

 

प्रतिक्रिया दिनुहोस