
काठमाडौँ। बीमा कम्पनीहरूको नियामक संस्था बीमा समितिले सबै बीमा कम्पनीलाई कडा निर्देशन जारी गरेको छ। बीमा कम्पनीहरुले आफूखुसी हकप्रद शेयर लगायतका विषयमा निर्णय गर्न थालेपछि बीमा समिति सक्रिय बनेको हो।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालका अनुसार समितिलाई बेवास्ता गर्दै कम्पनीहरुले निर्णय गर्न थालेपछि यस्तो निर्देशन गर्न समिति बाध्य बनेको हो। उनले भने, 'नियममा पहिले देखि नै भएका कुराहरू हुन्। तर, हामीलाई बाइपास गर्दै हकप्रद शेयर लगायतका विषयमा सञ्चालक समितिमा छलफल गर्ने लगायतका काममा कम्पनीहरू लागेको देखियो। त्यसैले फेरी स्मरण गराउनु पर्यो।'
केही सरोकारवालाले ऐन र निर्देशन विपरीत बीमा कम्पनीहरुले काम गरेकोले चनाखो बन्न बीमा समिति समक्ष अनुरोध गरेपछि समिति यसमा लागि परेको हो। अजोड इन्स्योरेन्सको घटनाले समेत बीमा समितिलाई गम्भीर बनाएको बेला समितिबाट यस्तो निर्देशन जारी भएको हो।
स्मरण रहोस्, अजोड इन्स्योरेन्सले बीमा समितिबाट स्वीकृति नलिईकन नै हकप्रद शेयर जारी गर्ने प्रस्ताव सञ्चालक समितिबाट पारित गरेको थियो। यसरी बीमा कम्पनीले आफूखुसी निर्णय गर्दा बीमा समितिको औंचित्यतामाथि नै प्रश्न उठेको थियो।
त्यति मात्र होइन,हकप्रद सम्बन्धी सूचना आन्तरिक रूपमा चुहावट गरेर शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोप समेत अजोडमाथि छ। बीमा समितिले यो कम्पनीलाई हकप्रद शेयर जारी गर्नबाट रोक लगाइसकेको छ।
प्रतिक्रिया दिनुहोस