aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

भारत सरकारले ८ अर्बमा निर्माण गरेको १३ वटा सडक सरकारलाई गर्यो हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ चैत्र २०७७
Reliance life insurance
भारत सरकारले ८ अर्बमा निर्माण गरेको १३ वटा सडक सरकारलाई गर्यो हस्तान्तरण
LBEF

काठमाडौं । भारत सरकारले ८ अर्बमा निर्माण गरेको १३ वटा सडक सरकारलाई हस्तान्तरण गरेको छ । आज बुधबार भारत दुतावासले एक कार्यक्रम आयोजन गरेर नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई सो सडक  हस्तान्तरण गरिएको हो । भारत सरकारको आर्थिक सहयोगमा नेपालको तराई क्षेत्रमा निर्माण सम्पन्न भएका सडकहरू आज हस्तान्तरण गरिएको भारतीय दुताबासबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने योजना सहित भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले पहिचान गरेको सडक निर्माण गरिएको हो । यी सडकहरु हुलाकी राजमार्गको नामले पनि चिनिन्छ र यी सडकहरुले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत—नेपाल सीमासँग पनि जोड्ने बताइएको छ । नेपालको प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्नेछ । 

सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरुको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्ग सहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ । 

भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटी अनुरुप यो परियोजनाको कार्यान्वयन भएको छ । ठेक्का उद्देश्यका लागि यी १० सडकहरुलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो । यी सडकहरुको निर्माण हेतु सन् २०१६ अक्टोबर देखि सन् २०१७ नोभेम्बरसम्मको अवधिमा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो ।

 यी सडकहरुको निर्माणका लागि विशेष विवरणहरु सडक विभागले तयार पारेको विस्तृत परियोजना विवरणमा समावेश गरिएको छ । यस परियोजनाका लागि भारत सरकारको परामर्शदाताको रुपमा राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेडलाई चयन गरिएको थियो । 

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका तराई सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नत गर्न ठूलो सहयोग पुर्याउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरु जस्तै वीरगञ्ज र विराटनगरमा अवस्थित एकीकृत चेक पोष्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गरेको छ ।

भारत सरकारको आर्थिक सहयोगमै भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको छ । 

१४ वटा प्याकेज मध्ये निर्माण सम्पन्न भई सम्बन्धित क्षेत्रका जनताले प्रयोग गरिरहेका १३ वटा प्याकेज तयार भएको हो।  यी हाल सालै निर्माण सम्पन्न भएका सडकले मानिसहरुको यात्रा तथा आवागमनलाई थम आरामदायी र सहज बनाएकोे छ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ, उप—सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक रोहित कुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख प्रफुल्लचन्द्र शर्माको उपस्थित रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस