नेप्सेले लय समाउन थालेपछि लगानीकर्ताको आन्दोलन सेलायो - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

नेप्सेले लय समाउन थालेपछि लगानीकर्ताको आन्दोलन सेलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
Sunrise bank
नेप्सेले लय समाउन थालेपछि लगानीकर्ताको आन्दोलन सेलायो
LBEF
NCH-IPS

काठमाडौं, वैशाख ८ । शेयर बजार मापक नेप्से परिसूचकले यसअघि बनाएको १८८१ बिन्दूको रेकर्डको लय समात्ने संकेत देखाएपछि लगानीकर्ताको आन्दोलन सेलाएको छ  । नेप्से नयाँ वर्ष लागेपछि निरन्तर उकालो लाग्दै पुरानो रेकर्ड पच्छाउन थालेपछि लगानीकर्ताको मनोबल बढ्न गएको छ र आन्दोलनका कार्यक्रम स्थगित हुन पुगेका हुन् ।

नयाँ वर्ष शुरु हुनुभन्दा अघि ११८८.७१ विन्दुमा रहेको नेप्से परिसूचक १२३२.२६ विन्दुमा आइपुगेको छ । नयाँ वर्ष लागेसँगै शेयर बजारमा सुधार आएको छ । नेप्से निरन्तर उकालो लागेपछि लगानीकर्ताको मनोबल बढ्न पुगेको छ । यसअघि नेप्से निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल गिर्न पुगेको थियो । त्यही कारण लगानीकर्ताले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

शेयर बजार ओरालो लाग्दै गएपछि लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडाको समेत राजीनामा समेत मागेका थिए । लगानीकर्ताले पुँजी बजारको ओभर सप्लाई रोक्न नागरिक लगानीकोष, कर्मचारी सञ्चयकोष तथा सैनिक कल्याणकारी कोषको के कति प्रतिशत रकम ल्याउन मिल्छ ल्याई ती संस्थालाई मार्केट मेकरको भूमिकामा राख्ने समेतको व्यवस्था गर्न माग गरेको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।

त्यसैगरी अनियन्त्रित बैंक कर्जाको ब्याजलाई नियन्त्रण गर्दै ९ प्रतिशतमा झार्ने व्यवस्था गर्न, शेयर धितो मूल्यांकनको ८० प्रतिशतसम्म ऋण पाउने व्यवस्था गर्न, वेटेज एभरेजलाई १५० बाट एक सयमा झार्न, बैंकलाई ब्रोकर लाइसेन्स तुरुन्तै दिनलगायतका माग राखेर लगानीकर्ताले आन्दोलन गर्दै आएका थिए ।

पछिल्लो समय पूर्ण अनलाइन कारोबार शुरु भएको, कर्जाको ब्याजदर पनि क्रमशः कम हुँदै जाने अवस्था पुगेको, बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी भइरहेको छ । शेयर लगानीकर्ताले राखेका अधिकांश माग पूरा हुने अवस्थामा रहेका कारणले पनि आन्दोलन सेलाउन पुगेको बिश्लेषकहरुको भनाइ छ । लगानीकर्ताले जुन माग राखेर आन्दोलन गर्दै आएका थिए, ती मागहरु कतिपय पूरा भइसेकेको र कतिपय पूरा हुने क्रममा रहेकाले पनि आन्दोलनको जरुरी नभएको उनीहरुको भनाइ छ ।

लगानीकर्ताले शेयर बजार सुधार र विस्तारका लागि लामो सयम आन्दोलमा होमिए । उनीहरुको आन्दोलनले सरकारको उच्च नेतृत्वमा रहेका व्यक्तिको कुर्ची समेत हल्लिन पुगेको थियो । अन्त्यमा सरकार लगानीकर्ताको आन्दोलनबाट गल्न पुगेको थियो । नयाँ वर्षदेखि सबै लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) मा दर्ता हुनुपर्ने निर्णयसमेत सरकारले गरेको थियो ।

लगानीकर्ताको आन्दोलनकै कारण त्यस्तो निर्णय सच्चाउँदै एकपटकमा ५ लाखभन्दा बढीको शेयर कारोबार गर्नेले मात्र प्यानमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गर्न पुग्यो । त्योभन्दा तलको कारोबार गर्नेलाई एच्छिक रुपमा छोड्ने निर्णयमा सरकार पुगेको छ ।  

लगानीकर्ताको आन्दोलनले बजार सुधारमा सघाउ पुर्याएको विश्लेषकहरुले बताएका छन् । लगानीकर्ताले आन्दोलन नगरेको भए सरकारले एकपछि अर्को गर्दै अप्रिय निर्णय गर्दै जाने थियो, कमसे कम लगानीकर्ताको आन्दोलनले त्यस्ता निर्णयलाई रोक्ने प्रयास गरेर शेयर बजार सुधारको बाटोमा हिडनलाई मार्गनिर्देशन दिने काम भएको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्ने विश्लेषकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस