गैरआवासीय नेपालीलाई शेयर बजारमा भित्र्याउने कुरा गफमै सीमित - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

गैरआवासीय नेपालीलाई शेयर बजारमा भित्र्याउने कुरा गफमै सीमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
Sunrise bank
LBEF
NCH-IPS

काठमाडौं । बर्षौ बित्दा पनि नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन) लाई देशको शेयर बजारमा भित्र्याउने सकेको छैन । बोर्डले एनआरएनलाई नेपाली धितोपत्रको दोस्रो बजारमा सिधंै लगानी गर्न पाउने गरी कार्यविधिको मस्यौदा बनाउन समिति गठन गरेको पनि दुई वर्ष पुगेको छ । तर, त्यसले मूर्त रुप भने अहिलेसम्म लिन सकेको छैन ।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा पनि चक्रपथभित्र सीमित भएको भनिएको पुँजी बजारमा गैरआवासीय नेपालीलाई शेयर खरिद गर्न सक्ने गरी दायरा फराकिलो बनाइने उल्लेख गरेको छ । तर, बोर्डले कार्र्यविधिको मस्यौदालाई अन्तिम रुप दिन नसक्दा एनआरएनलाई शेयर बजारमा भित्र्याउन तत्काल सम्भव नदेखिएको बिज्ञहरु बताउँछन् ।

कार्यविधिको मस्यौदा तयार गर्न बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा बोर्डका अन्य एक जना सदस्य, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारी सदस्य रहने गरी एक समिति गठन गरिएको थियो । उक्त समितिमा एनआरएनको प्रतिनिधि समेत रहने व्यवस्था गरिएको थियो । 

समितिले कार्यविधिको मस्यौदा तयार गरी बोर्डमा पेस गरे पनि त्यसले अन्तिम रुप पाउन सकेको छैन । कार्यविधि तयार भएपछि एनआरएनले शेयर बजारमा सजिलै लगानी गर्न सक्ने बताइएको थियो । तर, शेयर बजारमा गैरआवासीय नेपालीको लगानीका लागि ढोका खुल्ने काम भएको छैन् ।
धितोपत्रको दोस्रो बजारमा एनआरएनले सहज रुपमा प्रवेशको लागि पटक–पटक माग गर्दै आएका थिए । गैरआवासीय नेपालीले आफूलाई प्रत्यक्ष रुपमा लगानीगर्ने वातावरण मिलाउन लामो समयदेखि माग गर्दै आएका छन् ।कार्यविधि निर्माणपछि एनआरएनहरुको माग पूरा हुने आश्वासन बोर्डले दिएको थियो । तर, त्यो आश्वासन पूरा हुन सकेको छैन । 

परम्परागत रुपमा हुँदै आएको धितोपत्रको दोस्रो बजारकको कारोबार अनलाइनबाट हुन थालेसँगै आधुनिक युगमा प्रवेश गरेको छ । शेयर कारोबार आधुनिक तरिकाले गर्न थालेपछि नेपाली धितोपत्र बजारको क्षेत्र समेत विस्तार हुँदै गइरहेको  छ । तर, धितोपत्र बजारमा गैरआवासीय नेपालीले प्रत्यक्ष रुपमा लगानी गर्ने व्यवस्था गरिएको छैन ।

गैरआवासीय नेपालीलाई शेयर बजारमा प्रत्यक्ष रुपमा सहभागी गराउन अनलाइन ट्रेडिङ प्रणाली अत्यावश्यक मानिएको थियो । त्यो काम भए पनि गैरआवासीय नेपालीले विदेशमै बसेर शेयर किन्ने वातावरण बनाउन सकिएको छैन । एनआरएनलाई शेयर बजारमा प्रवेश गराउन सकिएको खण्डमा बजार विस्तारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

केही गैरआवासीय नेपालीले अहिले अप्रत्यक्ष रुपमा शेयर बजारमा लगानी गरिरहे पनि कार्यवधि निर्माणपछि उनीहरुको लगानी वैधानिक हुने र नाफा लैजान पनि सहज हुने बिज्ञहरुको भनाइ छ । ‘एनआरएनको सहभागिताबाट धितोपत्रको दोस्रो बजार हुँदै अर्थतन्त्रमा समेत प्रभाव पर्नेछ,’ एक बिज्ञले भने ।

आर्थिक वर्ष २०७१/०७२ को बजेटमा धितोपत्र बजारमा एनआरएन र अन्तर्राष्ट्रिय वित्तीय संस्थाको लगानी आकर्षित गराउने नीति लिइएको थियो । एनआरएनको लगानी भित्र्याउने नीतिगत व्यवस्था सरकारले पहिल्यै गरिसकेको भए पनि त्यससम्बन्धी कार्यविधि नबन्दा उनीहरुले शेयर बजारमा प्रत्यक्ष रुपमा लगानी गर्न पाएका छैनन् ।

सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले हितग्राहीखाता खोल्नेसम्मको व्यवस्था गरे पनि कसरी उनीहरुलाई दोस्रो बजारमा सहभागी गराउने भन्नेमा अन्योल नै छ । रामशरण महत अर्थमन्त्री हुँदा एनआरएन र अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई लगानी गर्न प्रोत्साहित हुने गरी नीति ल्याइएको थियो ।
 
सरकारले पनि विगतकोे बजेटमा धितोपत्र बजारमा एनआरएनको लगानी आकर्षित गराउने नीति लिएको घोषणा गरेको थियो । तर, कार्यविधि नबन्दा अहिलेसम्म एनआरएनले शेयर बजारमा लगानी गर्न पाएका छैनन् । धितोपत्रको दोस्रो बजार कारोबार अनलाइनबाट हुन थालेको छ ।

नेपालको धितोपत्र बजारको क्षेत्रसमेत विस्तार हुँदै गएकाले एनआरएनलाई लगानीको ढोका खोल्नु गर्नु उपयुक्त हुने बिज्ञहरुको सुझाव छ । एनआरएनलाई धितोपत्रको दोस्रो बजारमा प्रवेश गराउँदा दायरा फराकिलो हुने र नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनीहरुको भनाइ छ ।

नेपालको शेयर बजार सुधार तथा विस्तारमा एनआरएनलाई भित्र्याउन सके युगान्तकारी कदमको शुरुवात हुने र शेयर बजार सुधार हुनुका साथै लगानीकर्तामा थप आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस