महिनावारी हुँदा स्कुल नजाने शिक्षिका भन्छिन्, 'बरु जागिर छाड्छौँ, परम्परा तोड्न सक्दैनौँ' - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

महिनावारी हुँदा स्कुल नजाने शिक्षिका भन्छिन्, 'बरु जागिर छाड्छौँ, परम्परा तोड्न सक्दैनौँ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
Sunrise bank
महिनावारी हुँदा स्कुल नजाने शिक्षिका भन्छिन्, 'बरु जागिर छाड्छौँ, परम्परा तोड्न सक्दैनौँ'
LBEF
NCH-IPS

बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ रतुडा जनप्रकाश आधारभूत विद्यालयका शिक्षिका महिनावारी भएका वेला विद्यालय नजाने गरेको खुलेको छ । 

विद्यालयनजिकै रतुडीमाडु देवताको मन्दिर रहेकाले महिनावारी हुँदा देवता लाग्ने डरले शिक्षिकाहरू विद्यालय नआउने गरेको स्थानीय जयबहादुर अयडीले जानकारी दिए । ‘बुढापाकामा यस्तो अन्धविश्वास अझै कायम छ, युवा पुस्ताले विरोध गर्दै आएका छन् । तर, पनि शिक्षिकाहरू मान्न तयार छैनन्,’ उनले भने ।

बडीमालिका नगरपालिका–८ रतुडा विद्यालय ०५१ सालमा स्थापना भएको हो । स्थापनाकालदेखि अहिलेसम्म यो प्रथा कायमै छ । शिक्षिका महिनावारी भएको समयमा विद्यार्थीको पढाइमा बाधा हुने गरेको प्रधानाध्यापक प्रकाश अयडी बताउँछन् । 

कहिलेकाहीँ आफू तालिम, गोष्ठी, बैठकमा गएका वेला कार्यरत दुवै शिक्षिका महिनावारी हुँदा स्कुल बन्द हुने गरेको अयडीले बताए । यो प्रथा गलत रहेको भन्दै महिनावारी भएका वेला शिक्षिकाहरूलाई विद्यालयले बिदा नदिने निर्णय गरे पनि उनीहरूले नमानेको प्रधानाध्यापक अयडीले जानकारी दिए । एक पुरुष र दुई महिला शिक्षक कार्यरत विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा तीनसम्म सञ्चालित छ । विद्यालयमा हाल १८ जना विद्यार्थी अध्ययनरत छन् । 

शिक्षिका निरा विष्ट भन्छिन्– बरु जागिर छाड्छौँ, परम्परा तोड्न सक्दैनौँ

विद्यालयकी शिक्षिका निरा विष्ट आफूहरू चलिआएको परम्परा तोड्न नसक्ने बताउँछिन् । पहिलेदेखि मानिआएको परम्परा एक्कासि छोड्न नसक्ने बताउँदै उनी भन्छिन्, ‘महिनावारी भएका वेला स्कुलछेउमा एउटा सामान्य छाप्रो बनाइदिए पठन–पाठन गराउने थियौँ ।’ विष्टले महिनावारी हुँदा चार दिनसम्म स्कुल नजाने गरेको बताइन् । ‘बरू जागिर छोड्न सक्छु, यो परम्परा तोड्न सक्दिनँ, हामीलाई देवताको डर लाग्छ ।’ सुदूरपश्चिमका अधिकांश जिल्लामा यो प्रथा कायमै छ । 


 

प्रतिक्रिया दिनुहोस