बिग मर्जरका निम्ति गभर्नरले बैंकहरुको नाडी छाम्दै - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

बिग मर्जरका निम्ति गभर्नरले बैंकहरुको नाडी छाम्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
बिग मर्जरका निम्ति गभर्नरले बैंकहरुको नाडी छाम्दै
LBEF
NCH-IPS

काठमाडौं । मौद्रिक नीति सार्वजनिक गर्ने करिब १५ दिन अघि नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले मर्जरलाई विवाहसँग तुलनाका छन् । उनले मर्जरलाई हरेक व्यक्तिले जीवनमा एकपटक (अपवाद बाहेक) गर्ने विवाहसँग तुलना गर्दै बैंकलाई पनि जोडी खोज्न अभिप्ररित गर्ने खालको अभिव्यक्ति दिएका छन् । 

गभर्नरको यस्तो अभिव्यक्तिले बैंकको विवाह गर्ने मौसम अर्थात बिग मर्जर गर्ने दिन आएको हो कि भन्ने भान दिएको छ । मौद्रिक नीति अघि यस्तो अभिव्यक्ति आउनुलाई बिज्ञहरुले अर्थपूर्ण रुपमा लिएका छन् । उनीहरुले गभर्नरको उक्त अभिव्यक्तिलाई आगामी मौद्रिक नीतिमा बिग मर्जरलाई प्राथमिकता दिने संकेतको रुपमा लिएका छन् ।

मर्जरले बैंकलाई बलियो बनाउने ठम्याइ गभर्नर नेपालको छ । यसअघिका विभिन्न कार्यक्रममा पनि बैंकहरुको पुँजीवृद्धि र मर्जरका बारेमा मात्रै कुरा गरेर समय बिताउने गरेका उनले पछिल्लोपटक त्यही मर्जरलाई विवाहसँग तुलना गर्न पुगेका छन् । 

गभर्नर नेपालको आगामी चैत ७ गते कार्यकाल समाप्त हुँदैछ । उनको यो अन्तिम मौद्रिक नीति हो । त्यसैले पनि उनले ‘बोल्ड’ निर्णय गर्न सक्ने आँकलन पनि गरिएको छ । गभर्नर नेपालले आफ्नो कार्यकालमा पुँजीवृद्धि र मर्जरलाई प्राथमिकता दिए । उनले यसलाई आफ्नो कार्यकालमा भएको सबैभन्दा उत्तम कामको रुपमा लिएका छन् । गभर्नर नेपालले आफ्नो ५ वर्षको कार्यकालमा पुँजी वृद्धि र मर्जरको नीति ल्याउने बाहेक केही उदारणीय काम गरेनन् । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा घरजग्गामा गएको अत्याधिक लगानीलाई रोक्ने काम गरे । त्यसैको बोनसको रुपमा अहिले अर्थमन्त्री बन्न पुगे ।

गभर्नर नेपाल पनि खतिवडाजस्तै आफ्नो कार्यकालमा के गरे त ? भन्ने प्रश्न उठाउन थालिएको छ । त्यस्तो प्रश्नको जवाफमा गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाको पुँजीवृद्धि र मर्जरबाहेक अरु दिन सक्दैनन् । वाणिज्य बैंकको चुक्तापुँजी २ अर्बबाट ८ अर्ब, विकास बैकको २ अर्ब ५० करोड र वित्त कम्पनीको ८० करोड पुर्याए । यसले गर्दा बैंकको संख्या घट्न पुग्यो र बैंक पनि बलिया भए भन्ने बाहेक अरु गतिलो उत्तर उनीसँग छैन ।

पछिल्लो अभिव्यक्तिले गभर्नर नेपालले पुँजीवृद्धि र मर्जरको जस लिने कामलाई अभियानकै रुपमा लान खोजेको देखिन्छ । बिगतका विभिन्न कार्यक्रममा चुक्तापुँजी वृद्धि गर्दा धारे हात लगाउनेहरु अहिले ठिक गर्नु भएछ भन्दै प्रशंसा गर्न थालेको अभिव्यक्ति उनले दिँदै आएका छन् । यसले पनि के देखाउँछ भने चुक्तापुँजी वृद्धि र मर्जर उनको कार्यकालमा भएको ठूलो उपलब्धि हो र त्यसलाई गभर्नर नेपालले नगद (क्यास) मा रुपान्तरण गर्न खोजिरहेका छन् ।

विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम जस्ता विदेशी संस्थाले पनि बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन दबाब दिएको छ । स्वदेशमा पनि चुक्तापुँजी र मर्जरको बारेमा उनले गरेको कार्यको प्रशंसा बढी गरेका बेलामा मर्जरलाई विवाहसँग तुलना गरेर सर्वसाधारणमाझ पुग्ने कोशिस गरेका छन् ।

गभर्नर नेपालले आफ्नो कार्यकालमा पुँजीवृद्धि र मर्जर बाहेक अरु उल्लेख्य केही काम गरेनन् । लगानीयोग्य पुँजी (तरलता) को अभाव हुँदा पनि केही गर्न सकेनन् । जे राम्रो काम गरे उनले आफ्नो कार्यकालमा त्यसलाई बढी प्रचार प्रसार गर्न खोजेका छन् ।

मौद्रिक नीति ल्याउने तयारी गरिरहेका बेला मर्जरलाई विवाहसँग तुलना गर्नुले बिग मर्जरका बारेमा बजारबाट आउने प्रतिक्रिया के हुन्छ । त्यही अनुसार अगाडि बढ्न सजिलो हुने भएकाले पनि उनले मर्जरलाई विवाहसँग तुलना गरेर कार्ड प्याकेको अर्थात सरोकारवालको नाडी छामेको हुन सक्ने आँकलन बिज्ञहरुले गरेका छन् ।

अर्थमन्त्री खतिवडाले शेयर बजार घटेको बेला शेयर बजारलाई काउलीको भाउसँग तुलना गरेका थिए । अर्थमन्त्री खतिवडाले ‘सिजनमा काउलीको भाउ २० रुपैयाँ किलोमा पनि झर्छ । बेसिजनमा महँगिएर सय रुपैयाँ पनि नाघ्छ । शेयर बजार पनि त्यस्तै हो ।’ भनेका थिए । शेयर बजारको उतार–चढावलाई सहज रुपमा बुझन पनि उनले लगानीकर्तालाई आग्रह गरेका थिए ।

गभर्नर नेपालले पनि अर्थमन्त्री खतिवडाले जस्तै मर्जरलाई विवाहसँग तुलना गर्दै सहज रुपमा बुझ्न आग्रह गरिरहेका छन् । गभर्नर नेपाललाई पनि बिग मर्जरको भूत चढेको उनको अभिव्यक्तिबाट प्रष्ट हुन्छ । मौद्रिक नीति अघिको उनको अभिव्यक्तिलाई बिग मर्जरसँग तुलना गरिएको छ । गर्भनर नेपालको उक्त अभिव्यक्तिले बिग मर्जरको नीति ल्याउने सम्भावना बढ्दै गएको प्रष्ट हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस