aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

इमाडोल–लामाटार सडक निर्माण अन्तिम चरणमा

  • रासस
    रासस
  • बुधबार, २६ फागुन २०७७
Reliance life insurance
इमाडोल–लामाटार सडक निर्माण अन्तिम चरणमा
LBEF

काठमाडौं । विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । झण्डै सात किलोमिटर लम्बाइको यो सडकको ५६० मिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।  

सडकमा अहिले सानागाउँ क्षेत्र र लुभुको बजार क्षेत्र बाहेक अन्यत्र कालोपत्र सकिएको छ । कालोपत्र बाँकी भएका यी स्थानमा पनि वैशाखसम्ममा कालोपत्र गरिसकिने आयोजना प्रमुख गुरु अधिकारीले बताए । लुभुको बजार क्षेत्रमा ५०० मिटर र सानागाउँ क्षेत्रमा ६० मिटर सडक कालोपत्र गर्न बाँकी छ । 

विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन । गत वर्ष नै सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको उनले बताए । उनले भने, “अहिले पनि कतिपय स्थानीयवासीले जग्गाको मुआब्जा र घरको क्षतिपूर्ति माग गरिरहनुभएको छ ।”
 
तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले जनाएको छ । सडकको चौडाइ कम भएकै कारण पैदल यात्रु मार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन । सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ । त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम  चौडाइमा निर्माणको काम भएको उनले बताए । उपलब्ध चौडाइमा निर्माण गर्दा बजारमा पाँच मिटर चौडाइ भएको उनले बताए । उनले भने, “अरु धेरै ठाउँमा सातदेखि नौ मिटर चौडाइ भएको छ ।”

आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो । डाँफे÷समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी र लामा÷सामानान्तर जेभीसँग फरकफरक समयमा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्का सम्झौता विसं २०७३ र दुई ठेक्का विसं २०७४ मा भएको थियो । गत पुस महिनासम्ममा सडकको भौतिक प्रगति ८५ प्रतिशत थियो । 

आयोजनाले उपत्यकाका नौ सडकमा विस्तारको काम गरिरहेकामा अहिलेसम्म एउटा पनि सम्पन्न भइसकेको छैन । गत आवसम्म स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अवरुद्ध थियो । उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयपछि अहिले अधिकांश सडक अन्तिम चरणमा छन् । आयोजनाले नयाँ सडकमा विस्तारको योजना नबनाएर निर्माणाधीन सडकमा कालोपत्र सकाएर ठेक्का अन्त्य गर्ने योजना बनाएको छ । 

प्रतिक्रिया दिनुहोस