aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

मेलम्चीको साइड इफेक्ट : ढल फुटेर जलमग्न हुने खतरा !

  • रासस
    रासस
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
मेलम्चीको साइड इफेक्ट : ढल फुटेर जलमग्न हुने खतरा !
Jagadamba
LBEF

 काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएपछि फोहरपानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहरपानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको हो ।

बर्सेनि वर्षाको समयमा आकाशे पानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न नसकिँदा वर्षा यामका काठमाडौँ उपत्यकाका सडक जलमग्न हुने गरेको छ । ढलको निर्माण फरकफरक निकायबाट भएकाले पनि पर्याप्त समन्वय हुन नसकेकोले यस्तो समस्या देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । अरु विभिन्न निकायले ढल निर्माण निर्माण गरेकाले पनि व्यवस्थापन गर्न गाह्रो भएको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउँछन्।

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउँदैछ । वर्षा याममा यो परिमाण दोब्बर हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले आन्तरिक स्रोतबाट दैनिक  ९ देखि ११ करोड लिटरसम्म पानी वितरण हुँदै आएको छ । पानीको परिमाण बढ्दा फोहोर पानीको परिमाण समेत बढ्ने भएकोले समस्या हुनसक्ने केयुकेएलले जनाएको हो ।

मेलम्चीको पानी वितरणका लागि पाइपको निर्माण गरिएपनि त्यो पानीबाट निस्कने फोहरपानी व्यवस्थापन गर्न ढल नबनेको गुठी संस्थानका प्रविधि सल्लाहकार प्रकाश अमात्यले बताउँछन् । यसले गर्दा फोहरपानी खोलामा पुग्नुभन्दा अगाडि सडकमा पानी भरिएर जलमग्न हुनसक्ने उनको भनाइ छ । अमात्यले भने, 'अहिलेदेखिनै ढल व्यवस्थापनको तयारी नगर्ने हो भने भविष्यमा ठूलो समस्या आउनसक्छ ।'

फोहरपानी व्यवस्थापनमा प्राविधिक हिसाबले जम्मा खपत हुने पानीमध्ये ८० प्रतिशत पानी ढलमा फर्किएर जान्छ भन्ने मान्यता छ । त्यस हिसाबले पनि ढलमा चाप बढ्ने देखिएको छ । उपत्यकाका ढल भरिने विभिन्न स्थानबाट चुहावट हुँदा फोहरपानी निस्कने र खोलामा पानीको परिमाण बढ्ने देखिएको हो ।

सरकारले विभिन्न स्थानमा फोहरपानी प्रशोधन केन्द्रको निर्माण गरेपनि पानी त्यहाँसम्म पुग्ने ढलको व्यवस्थापनमा ध्यान नदिएको पाइएको अमात्यले बताए । अहिले गुहेश्वरीमा केन्द्र निर्माण सम्पन्न भइसकेको छ । बालकुमारी, सल्लाघारी र सुन्दरीघाटका प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छन् । निर्माण सम्पन्न भएको गुहेश्वरीमा केन्द्रसम्म फोहरपानी पुग्न ढल पर्याप्त नभएको पाइएको उनको भनाई छ ।

काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन तयारी अघि बढिरहेको छ । मेलम्ची खानेपानी विकास समितिले गत साताबाट सुरुङको पुनःपरीक्षण शुरु गरेको हो । गत असारमा सुरुङको परीक्षणका क्रममा दुर्घटना भएपछि त्रुटि सच्याएर पुनः परीक्षण गरिएको हो । परीक्षण सफल हुनासाथ उपत्यकामा नियमित पानी वितरण हुनेछ । पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने बताइएको छ । सञ्चिता घिमिरे

प्रतिक्रिया दिनुहोस