
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सर्वाधिक बजार पूँजीकरण रहेको नेपाल दुरसञ्चार कम्पनीको पूँजीकरण एकै दिन रू. १० अर्ब ९५ करोडले घटेको छ । मंगलवारको तुलनामा बुधवार कम्पनीको शेयरमूल्य घटेसँगै कुल बजार पूँजीकरणमा कमि आएको हो । मंगलवार रू. १ खर्ब ९० अर्ब ८० करोड रहेको बजारपूँजीकरण बुधवार रू. १ खर्ब ७९ अर्ब ८५ करोडमा झरेको हो ।
यो साताको चार कारोबार दिनमा तीन दिन बजार घटेको छ । बुधवार बजार घटेपनि कम्पनीको शेयरमूल्यमा असर पार्ने लाभांश सम्बन्धि सुचना सार्वजनिक भएको थियो । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट प्रतिशेयर रू. ४० का दरले नगद लाभांश वितरण गर्ने निर्णय बुधवार सार्वजनिक गरेको हो ।
यस कम्पनीले लाभांश वितरणको हालसम्मकै इतिहासमा सबैभन्दा कम लाभांश यो वर्ष दिन लागेको हो । विगतका वर्षहरुमा ५५ प्रतिशतसम्म नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष ४० प्रतिशत लाभांश प्रस्ताव गरेसँगै मूल्यमा नकारात्मक प्रभाव परेको देखिन्छ ।
गत वर्ष अघिल्लो आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीले ४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । मंगलवार रू. १ हजार २७२ कायम भएको कम्पनीको शेयरमूल्य बुधवार ५ दशमलव ७४ प्रतिशत घटेर अन्तिम मूल्य रू. १ हजार १९९ कायम भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७३ ले घटेको छ ।
प्रतिक्रिया दिनुहोस