आर्थिक पत्रकारलाई तालिम, 'स्वार्थ बाझिने गरि समाचार नबनाउ' - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

आर्थिक पत्रकारलाई तालिम, 'स्वार्थ बाझिने गरि समाचार नबनाउ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
आर्थिक पत्रकारलाई तालिम, 'स्वार्थ बाझिने गरि समाचार नबनाउ'
LBEF
NCH-IPS

असार ६, काठमाडौं । नेपाल धितोपत्र बोर्ड ( सेवोन) ले शुक्रबार राजधानीका आर्थिक पत्रकारहरुका लागि आर्थिक तथा धितोपत्र बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बोर्डले प्रदेश स्तरिय धितोपत्र वस्तु विनिमय बजार गतिविधिहरुलाई मध्यनजर गरी प्रदेश नम्बर ३ अन्तरगत नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र आर्थिक पत्रकार समाजमा आवद्ध पत्रकारहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । 

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पूँजीबजार सम्बन्धी सचेतनाका लागि लगानीकर्ता र पूँजीबजार सम्बद्ध निकायबिचको समन्वयमा सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका खेलको भन्दै प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताए । उनले पूँजीबजारमा सुचना प्रवाहले धेरै प्रभाव पार्ने हुदाँ सम्वेदनशिल भएर यस क्षेत्रको समाचार सम्प्रेषण गर्न आग्रह समेत गरे । 

विभिन्न सञ्चार माध्यममा आर्थिक विषयमा समाचार लेख्दै आएका ४० भन्दा बढी पत्रकारहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो । सहभागीहरुले पूँजीबजारका सम्बन्धमा बोर्डले गरिरहेको पहल र देखिएका समस्याको विषयमा जिज्ञासा राखेका थिए । उनीहरुले असार ३ गते बोर्डले आगामी नीति तथा कार्यक्रमका लागि समेटेको सुझाबमा आर्थिक पत्रकारहरुले दोस्रो बजारमा कारोबार गर्न रोक लगाउने कुरालाई बोर्डले कसरी हेरेको छ भन्ने प्रश्न गरेका थिए ।

साथै, जनताको जलविद्युत कार्यक्रमका आयोजनाहरुको क्रेडिट रेटिङ्ग गराउन छुट लगाएतका विषय र पछिल्लो समय जलविद्युत क्षेत्रका कम्पनीमा लगानी गर्न देखिएको जोखिमका सम्बन्धमा समेत जानकारी गराएका थिए ।

सहभागीहरुको जिज्ञासालाई प्रष्ट पार्दै बोर्डका प्रबक्ता निरज गिरिले आर्थिक पत्रकारहरुले शेयर कारोबार गर्न पाउनुपर्छ भन्नेतर्फ बोर्डको ध्यानाकर्षण रहेको उल्लेख गरे । तर, आफ्नो लगानीलाई लिएर स्वार्थ बाझिने हिसाबमा समाचार सम्प्रेषण गर्न नहुने उनको तर्क छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका आयोजनाहरुको इक्रा रेटिङ्गमा छुटको व्यवस्था भएकाले यस्ता कम्पनीको आधारभूत पक्षलाई हेरेर लगानी गर्ने र अन्य जलविद्युत क्षेत्रका कम्पनीको शेयरमा इक्रा रेटिङ्का आधारमा लगानी गर्ने हो भने जोखिम कम हुने प्रबक्ता गिरिले प्रष्ट पारे ।

बोर्डले यस अघि प्रदेश नम्बर १ ,२ र ६ का आर्थिक पत्रकारका लागि समेत प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । बाँकी अन्य प्रदेशमा समेत प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी भैरहेको बोर्डले जानकारी दिएको छ । उक्त कार्यक्रममा विरिष्ठ पत्रकार तथा शिक्षक मासिकका सम्पादक राजेन्द्र  दहालले पत्रकारिता गर्दाका अनुभाव सुनाएका थिए । 
 

प्रतिक्रिया दिनुहोस