
काठमाडौं । ओरियण्टल इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ७१ लाख ५४ हजार खुद नाफा गरेको छ । कम्पनीले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण फागुन १३ गते सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार यस वर्ष गत वर्षको तुलनामा कम्पनीको नाफा ९७ दशमलव ५३ प्रतिशतले कम भएको छ । गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीले रू. २९ करोड ७८ हजार खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको आम्दानी ९५ प्रतिशत घटेकाले नाफामा असर परेको हो । गत वर्ष रू. ३२ करोड ४५ लाख ६८ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ करोड ६१ लाख ४६ हजार मात्र आम्दानी गरेको हो । नाफामा उल्लेख्य मात्रामा कमि देखिएको कम्पनीको जगेडा कोष रकम पनि रू. ४ करोड ३१ लाख ६७ हजार ऋणात्मक रहेको छ ।
गत वर्ष यो अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १५ करोड ४१ लाख १ हजार ऋणात्मक रहेको थियो । ऋणात्मक जगेडा कोष यस वर्ष करिब ७२ प्रतिशतले सुधारिएको हो । बीमा कोष रकम भने यस वर्ष २० दशमलव ८३ प्रतिशत बढेर रू. ७९ करोड ५६ लाख ५७ हजार कायम भएको छ ।
यस वर्ष कम्पनीले रू. ५४ करोड ४३ लाख १६ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ३१ करोड ७२ लाख ९७ हजार कुल दाबी भुक्तानी गरेको छ । गत वर्षभन्दा कुल बीमाशुल्क आर्जनमा ७ दशमलव ६९ प्रतिशत कमि आएको हो भने कुल दाबी भुक्तानी रकम ६४ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म ११ हजार १०९ बीमालेख जारी गरेको कमनपीले यस वर्ष सोही अवधिसम्म १८ हजार ९० बीमालेख जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस