नदीसंग संस्कृतिको छुट्टै र विशेष सम्बन्ध हुँदोरहेछ - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 
सभ्यता-संस्कृति

नदीसंग संस्कृतिको छुट्टै र विशेष सम्बन्ध हुँदोरहेछ

  • दीपक ज्ञवाली
    दीपक ज्ञवाली
  • शनिबार, ०७ असार २०७६
Sunrise bank
नदीसंग संस्कृतिको छुट्टै र विशेष सम्बन्ध हुँदोरहेछ
LBEF
NCH-IPS

हाम्रो जलश्रोतको कुरा गर्दा नदी सभ्यताको बिषयलाई छुटाउनु हुँदैन । हामीले के देखेका छौं भने नदीको किनारमा नै विश्वका ठुला ठुला सभ्यताहरू बिकशित भएका छन् । दक्षिण एसिया कै मात्रपनि कुरा गर्ने हो भने यमुनाको किनारमा दिल्ली, गंगोत्रीको किनारमा लखनउ, रावलपिन्डी हुँदै ली नदी बगेको छ भने काठमाडौँमा बागमती देखिन्छ । यसरी ठुला शहर र ठुला नदी संगै देखिनु कुनै संयोग मात्र होइन यसमा एउटा संस्कृति र सभ्यताको कुरा जोडिएको हुन्छ ।

ग्यान्जिज (Ganges) र मेकोंगको कथा

नदी सभ्यताको एउटा रोचक उदाहरण छ हामीसंग, माता गंगा र मिकोंगको अनौठो संयोगको रुपमा । विश्वका दुई ठुला सभ्यताहरुको अध्यानको क्रममा के देखियो भने नदिसंग संस्कृतिको छुट्टै र बिशेष सम्बन्ध हुँदोरहेछ । गंगा र मिकोंग सभ्यताको प्रतीकको रुपमा हामि बीच छन् जसको किनारमा बिकशित दुई बिल्कुलै अलग र बिशाल सभ्यताको बीच हामि धेरै समानता पाउछौ । 

'मिकोंग' शब्दको उत्पति प्रशंग पनि रोचक छ । पुरानो खिमेर भाषामा 'मै खोङ्ग खा' भन्ने शब्द छ । त्यहि 'मै खोङ्ग खा' अर्थात् 'मा गंगा' पछि अंग्रेजले आफ्नो शैलीमा उच्चारण गर्दा 'मिकोंग' हुन पुग्यो । 'मिकोंग' शब्दलाई खिमेरहरुले अंग्रजीमा भन्नुपर्दा 'द ग्रेट मदर रिभर' भन्ने गर्छन् ।

हरिद्वारमा जसरी हामि टपरीमा दियो हालेर बगाउने गर्छौं, ठिक त्यसैगरी खिमेरहरु पनि मिकोंगमा दियो बगाउने गर्छन । यसप्रकार दुई भिन्न संस्कृति र सभ्यता बिचको समानता हामि देख्न सक्छौं ।   

यसैगरी यांग्जी भन्ने शब्द हाम्रो दक्षिण एसियाली कुनै पनि भाषामा छैन । तर ब्रिटिशले बनाएको नक्सामा यांग्जी लेखिएको छ । के अनुमान गर्न सकिन्छ भने नदीको नाम सोध्दा शायद खोला किनारमा नुहाउदै गरेको ब्राम्हणले भनेको 'गंगा' शब्दको अपभ्रम्सित रुप हो,ग्यान्जिज (Ganges) ।

अठारौं शताब्दीमा कर्नेल रेनेलले बनाएको नक्सामा गंगा शंब्द नै छैन । त्यो नक्सामा जुन नदीलाई आज हामि गंगा भन्छौं त्यसलाई 'मगनी रिभर' भनेर उल्लेख गरिएको छ । त्यसो हुनुमा पनि त्यो नदीको किनारमा रहेको मंगिर नामक तत्कालिन शहर रहेको देखिन्छ । उनि जुन शहरमा बसेर त्यो रेखांकन गरे त्यो शहर संगैको नदीको नाम पनि त्यहि राखिदिए ।

बागमती सभ्यताको कुरा  
   
बागमती सुधार आयोग लगायतका कुनैपनि कागजी संरचनाबाट यसको संस्कृति र सभ्यतासँग जोडिएको बिषयको सम्बोधन हुने सक्दैन किनकि यो प्राविधिक समस्या हुँदै होइन । 

बागमती नदीको जुन मूल्य छ त्यो कसरी प्राप्त भयो भन्ने खोज्नु पर्छ, त्यसको संरक्षण गर्नुपर्छ । कुनै पनि खोलालाई त्यतिको महत्व किन दियो समाजले ? त्यो महत्व के कारणले कहाँबाट प्राप्त भयो यसको खोजि जरुरि हुन्छ । अब साँच्चिकै खोज्ने हो भने त्यो धर्ममा गएर जोडिन्छ । बिडम्बना के भने हामि (हाम्रो राजनीति) पर्यौं, धर्म निरपेक्ष । अर्को शब्दमा भन्ने हो भने हाम्रो देशमा नास्तिकबाद लादिएको अवस्था छ ।  

आफुलाई भौतिकबादी भन्नेहरुको यस्ता  सभ्यता /संस्कृति बोकेका नदिप्रति के धारणा रहला ? सहज अनुमान लगाउन सकिन्छ, उनीहरुको लागि बागमती फगत एउटा खोलो हो ।  अझ सुष्म रुपले भन्ने हो भने पानि अर्थात् बैज्ञानिक भाषामा 'एचटुओ' ।  

यदि अहिलेको राजनीतिक अवस्था र राज्यको दृष्टिकोणलाई ध्यानमा राखेर भन्ने हो भने बागमती सभ्यताको कुरा गर्नु  समयको बर्बादी मात्र हो । यहाँका केहि नेवारहरुले चाहिं आजसम्म पनि त्यसलाई जोगाउने प्रयत्न गरिरहेका छन् । तर, संस्कृतिक मूल्य, मान्यता, धर्म र सभ्यताको रक्षाको भार केवल उनीहरुको परम्परागत जात्रा र पदयात्राले  मात्र थेग्न सक्ने अवस्था छैन ।

नेवारको पानी संस्कृति

नेपाल यस्तो मुलुक हो जहाँ शदियौं देखि किसानहरुले आफै सिंचाई व्यवस्थापन गर्दै आएका छन् । कम्तिमा ८ सय वर्ष अघिदेखि राजकुलो लगायतका विभिन्न संरचनाको माध्यमबाट त्यसको व्यवस्थापन गरिंदै आएको पाईन्छ । काठमाडौँ उपत्यकाको भूमिगत जलश्रोतको व्यवस्थापन हेर्ने हो भने लिच्छवीकाल देखि नै ढुंगेधाराहरु रहेको देखिन्छ । त्यस्ता धाराहरुको  छुट्टै संस्कृतिक महत्व पनि छ ।

अहिलेपनि यस्ता धाराहरुको संरक्षण र सम्बर्धनमा नेवार समुदाय गुठि लगायतका सामाजिक संरचनाको माध्यमबाट सक्रिय देखिन्छ ।   हालै मात्रपनि  उनीहरुले 'सिटिनख' नामक चाड मनाए ।  जसको प्रमुख उदेश्य भनेकै पानीको श्रोतको सरसफाई हो । उपत्यकाको बनोट नै कचौरा आकारको छ जहाँ पानीको स्रोत नजिक खोला किनामा भन्दा खोला भन्दा माथी बस्ती छन् । अनि पानीको जगेर्ना गर्ने र संचित गर्ने परम्परागत तरिकाहरु छन् ।

धारा, कुवा, इनार लगायतका पानीको मुहानहरुको सरसफाईलाई समेत चाडको रुपमा मनाउने नेवार समुदाय अहिले आफ्नो संस्कृतिको रक्षा गर्न सडकमा उत्रिएको छ। परम्परागत गुठिको सम्पति हत्याउन र काठमाडौँ का नेवारहरुलाई एकतावद्द राख्ने कडी टुटाउन गुठि बिधेयक अगाडी बढाउने जस्तो बकबास काम गरिरहेका छन् ।

यहाँ उल्लेख गर्नैपर्ने कुरा यो हो कि आज काठमाडौँ उपत्यका भित्रका नेवारहरु आफ्नो संस्कृति, परम्परा, सामाजिक संरचना र समग्र बागमती सभ्यताको रक्षाको लागि सबै राजनीतिक आस्था, बिश्वाश र आवद्दतालाई पर राखेर एकजुट भई सडकमा आउन बाध्यछन् त्यो बामपन्थी सरकारको बिरुद्ध जसलाई बिगत सात दशक देखि आफ्नो संस्कृतिक उत्थानको समेत धरोहर मान्दै आए ।
 

 (जलस्रोतविद् तथा पूर्वमन्त्री ज्ञवालीसंग आर्थिकन्युजले गरेको कुराकानीमा आधारित । )

प्रतिक्रिया दिनुहोस