aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

१८ करोडमा निर्माण गर्न लागिएको सिद्धार्थ केबलकार १८ महिनाभित्र सञ्चालनमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० फागुन २०७७
१८ करोडमा निर्माण गर्न लागिएको सिद्धार्थ केबलकार १८ महिनाभित्र सञ्चालनमा आउने
Jagadamba
LBEF

काठमाडौं । पाल्पाको नुवाकोटगढीसम्म सञ्चालनमा आउने सिद्धार्थ केवलकारको आइतबार शिलान्यास गरिएको छ । १८ करोडको लागतमा निर्माण हुन लागको सो केवलकारको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका हुन । शिलान्यासका क्रममा अर्थमन्त्री पौडेलले विकासका दृष्टिले रुपन्देहीलाई मुलुककै नमूना जिल्लाका रुपमा स्थापित गरिने बताए । 

केवलकार निर्माणपछि जिल्लामा पर्यटकीय गतिविधि बढ्ने समेत उनले बताए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको लगानीमा निर्माण हुने आयोजना राष्ट्रका गौरव रहेको उल्लेख गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट पर्याप्त सहयोग रहने बताए । 

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले केवलकार निर्माण र सञ्चालनपछि भौतिक पूर्वाधारको विकाससँगसँगै जिल्लामा आर्थिक गतिविधि पनि बढ्ने बताए । बुटवल तथा यस आसपासका व्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र निर्माण सम्पन्न हुने विश्वास गरिएको सिद्धार्थ केवलकार प्रालिका अध्यक्ष ई राजेन्द्रसिंह गुरुङले सो अवसरमा जानकारी गराए । 

‘केबलकारमा २५ वटा गण्डोल हुने र दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सकिन्छ,’ उनले भने ‘एकतर्फीरुपमा जान वा आउन आठ मिनेटको समय लाग्छ ।’ यो केवलकार निर्माणका लागि भारतको कलकत्तामा रहेको कन्वेयर एन्ड रोप वे सर्भिसेजसँग सम्झौता गरेकोे छ । 

यो परियोजनामार्फत बुटवल टेक्निकल इन्स्टिच्युटले प्रविधि भित्र्याउँदै छ । कम्पनीले प्रविधि भित्र्याउने मात्र हैन जनशक्ति उत्पादन गर्नका लागि पनि आवश्यक तयारी गरेका छौं ।  यसअघि बुटवलबाट पाल्पाको वसन्तपुरका लागि लुम्बिनी केवलकारको एक साताअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।  

सोही अवसरमा अर्थमन्त्री पौडेलले रुपन्देहीमा विकासका महत्वपूर्ण आयोजनाहरू निर्माणका क्रममा रहेको बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको र अब दोस्रो चरणको अत्याधुनिक विमानस्थलको काम शुरु हुने बताए ।
उनले जिल्लालाई नमूना जिल्लाका रुपमा स्थापित गर्न आम नागरिकको साथ र सहयोग हुनुपर्ने सो अवसरमा बताए । ‘विकासका मुद्दामा सबै एकताबद्ध भएर उभिने संकल्प गरौं,’ उनले भने ‘विकासले नै समृद्ध नेपाल निर्माणमा सहयोग गर्छ ।’ 

विकासको महत्वपूर्ण पाठशालाका रुपमा रुपन्देहीलाई विकासका रुपमा हेरिनु पर्ने उनले बताए । विकास सिक्न र पढ्नका लागि जानुपर्ने जिल्लाका रुपमा रुपन्देही स्थापित भइसकेको पनि बताए । सोही अवसरमा अर्थमन्त्री पौडेलले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पूरा गर्न सरकारले आवश्यक बजेटको समेत ब्यवस्था गरेको बताए । यस्तै बेलहिया बुटवल छ लेन सडक निर्माण सम्पन्नसँगै बुटवल राजमार्ग चौराहादेखि चिडियाफेदीसम्मको सडक विस्तारको काम शुरु भएको बताए । 

अर्थमन्त्री पौडेलले सिद्धबाबामा सुरुङ मार्ग निर्माणको लागि केही साताभित्रै टेन्डर आह्वानको तयारीमा रहेको, बुटवल पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम अघि बढाइने बताए । 
 

प्रतिक्रिया दिनुहोस