aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नदी किनारका सडकः जामको विकल्प कोरिडोर

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, २८ माघ २०७७
Reliance life insurance
नदी किनारका सडकः जामको विकल्प कोरिडोर
LBEF

काठमाडौं । श्याम चित्रकारलाई केही वर्षअघिसम्म मोटरसाइकलमा बुढानिलकण्ठको कामीडाँडाबाट लगनखेलस्थित कार्यालय पुग्न डेढ घण्टाभन्दा धेरै समय खर्चिनुपथ्र्यो। उनी चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर र ग्वार्कोको जाम छिचोल्दै कार्यालय पुग्थे। यही कारण उनी कहिल्यै भनेको समयमा कार्यालय पुग्न सक्दैनथे। सरकारले धोवीखोला र वाग्मती कोरिडोर बनाएसँगै श्यामको यात्रा एक घण्टाले छोटिएको छ। पहिला डेढ घण्टा लाग्ने यात्रा अहिले आधा घण्टामै सकिन्छ। अचेल उनी समयमै कार्यालय पुग्छन्।

‘धोवीखोलामा सडक नबन्दासम्म चक्रपथकै बाटो हिँडिन्थ्यो। त्यो बेला कार्यालय पुग्न कम्तीमा पनि डेढ घण्टा लाग्थ्यो,’ श्यामले नागरिकसँग भने, ‘अहिले धोवीखोला सडक बनेसँगै भित्री बाटो हुँदै आधा घण्टामै कार्यालय पुग्ने वातावरण बनेको छ।’

कोरिडोर निर्माणले श्यामजस्ता हजारौं राजधानीवासी छोटो समयमै गन्तव्यमा पुग्ने गरेका छन्। सरकारले पछिल्लो समय उपत्यकाका नदीनालाका दुवैतर्फ सडक बनाउनुका साथै पुलमुनिबाटै साना सवारीसाधन क्रस गर्न सक्ने व्यवस्था मिलाएसँगै सर्वसाधारणलाई यात्रा सहज बनेको छ।

सरकारले तीन दशकअघि नै धोवीखोला कोरिडोर निर्माण गर्ने योजना बनाएको हो। त्यति बेला उपत्यकामा जनघनत्व बढ्दै थियो। सर्वसाधारणसँगै सवारीसाधन थपिने क्रम चलिरह्यो। त्यो बेलामा फराकिलो मानिने चक्रपथमा पनि क्रमशः ट्राफिक जाम देखिन थाल्यो। यसको विकल्पमा सरकारले धोवीखोला कोरिडोर सडक बनाउने योजना ल्याएको हो। यसको उद्देश्य सवारी जाम कम गर्ने मात्र नभएर धोवीखोलालाई व्यवस्थित गर्दै नदीकिनारका दुवैतिर सडक बनाएर सहरलाई व्यवस्थित गर्ने पनि थियो।

जापानी सहयोग नियोग (जाइका) ले सन् १९९३ मा धोवीखोला कोरिडोर सुधार आयोजनाको प्रतिवेदन तयार पारेको थियो। सोही प्रतिवेदनलाई आधार मान्दै सरकारले धोवीखोला कोरिडोर निर्माण २०६६/६७ सालमा सुरु गर्‍यो। हाल बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ कामीडाँडादेखि वाग्मती दोभानसम्म धोवीखोला किनारमा दुवैतर्फ १२/१२ किलोमिटर लामा सडक बनिसकेका छन्। यो कोरिडोरको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। धोवीखोला कोरिडोर सुधार आयोजनाका प्रमुख दिनेश पोचे श्रेष्ठले बुढानिलकण्ठदेखि वाग्मती नदी दोभानसम्म गरी १७ किलोमिटर सडक कालोपत्रे भइसकेको बताए। ‘चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने।

धोवीखोला कोरिडोरमा बिजुलीबजार बाहेक अन्यत्रका सबै पुलमुनिबाट सवारीसाधन वारपार गर्दै आएको आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर सञ्जन कुँवर निलोपुल क्षेत्रमा दुई सय मिटर र कामीडाँडा क्षेत्रमा करिब ४५० मिटरको भौगोलिक अध्ययन गर्नुपर्ने भएकाले काम हुन नसकेको बताउँछन्। बाँकी क्षेत्रमा आयोजना ट्र्याक खोल्ने, फुटपाथ, रेलिङ बनाउने, साइड ड्रेन बनाएर वातावरण सुधार गर्ने तथा खोलामा लन्चिङलगायतका काम गरिरहेको छ। हालसम्म धोवीखोला कोरिडोरमा ३ अर्बभन्दा धेरै खर्च भइसकेको छ। यो कोरिडोर नदीको दुवैतर्फ ९/९ मिटर चाक्लो रहेको छ। धोवीखोलामात्रै होइन, अहिले वाग्मती कोरिडोर सडक पनि तयार भइसकेको छ। अहिले पिकआवरमा अधिकांश साना सवारीसाधन चक्रपथभन्दा पनि भित्री सडक भएर गुड्छन्।

यस्तै विष्णुमती कोरिडोरअन्तर्गत पनि काम जारी छ। अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले विष्णुमती कोरिडोरअन्तर्गत नयाँबसपार्क क्षेत्रमा पुलमुनिबाट यातायात सञ्चालन भइरहेको बताए। ‘नयाँबसपार्क क्षेत्रमा पुलपुनिबाट अन्डरपास यातायात सञ्चालन गरेसँगै धेरै हदसम्म जामको समस्याबाट मुक्ति मिलेको छ’, उनले भने। समितिले विष्णुमती कोरिडोरअन्तर्गत शोभाभगवती र डल्लुखोलामा पुलमुनि सडक खोल्ने काम थालेको छ। विष्णुमती कोरिडोरअन्तर्गत दुवै किनारमा ६र६ किलोेमिटर चौडा सडक छन्। यो कोरिडोरअन्तर्गत साङ्लाखोलादेखि कुपन्डोलसम्मको सडक खण्ड पर्छ।

समितिका अनुसार २८ किलोमिटरको वाग्मती कोरिडोरमध्ये १७ किलोमिटर कालोपत्रे भइसकेको छ। मुआब्जा र क्षतिपूर्ति विवादका कारणले यो कोरिडोरको सुन्दरीजलदेखि गोकर्णसम्मको करिब ८ किलोमिटरमा सडक निर्माण हुन सकेको छैन। त्यसैगरी तिलगंगा–तिनकुने खण्डमा पनि एकतर्र्फी ३ किलोमिटरजति सडक सुकुमबासीको समस्याका कारणविस्तार गर्न नसकेको समितिले जनाएको छ।

पछिल्लो समय नरेफाँटदेखि–बालकुमारी पुलतर्फ र ललितपुरबाट भक्तपुरतर्फ जाने सवारीसाधन कोटेश्वर र जडीबुटीको जामको सामना नगरीकनै गन्तव्यमा गइरहेका छन्। यो सडक खण्ड हालसालै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको हो। डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले मनहरा करिडोर निर्माण सम्पन्न भएसँगै कोटेश्वर–जडीबुटी सडकखण्डको चाप केही हदसम्म कम हुने बताए। यो सडकखण्ड १९ करोड १६ लाख लागतमा निर्माण गरिएको हो।

प्रतिक्रिया दिनुहोस