aarthiknews.com शुक्रबार, २१ फागुन २०७७   Friday, 05 March, 2021
 
tater Group
Bajaj_Bike

‘काम अनुसारको कमिशन चाहिन्छ भन्ने हाम्रो माग हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
‘काम अनुसारको कमिशन चाहिन्छ भन्ने हाम्रो माग हो’
Jagadamba
LBEF

पूर्णप्रसाद आचार्य सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । ५ खुला प्रतिस्पर्धाबाट ५ महिनाअघि उनी सो कम्पनीको कार्यकारी प्रमुख भएर आएका हुन् । यसअघि उनी कृषि विकास बैंकमा कार्यरत थिए । पुँजी बजारप्रति अहिले  सर्वसाधारणको आकर्षण बढ्दो छ । पुँजीबजारमा आवद्ध हुनेको संख्या अहिले २५ लाख नाघिसकेको छ । दैनिक हजारौं संख्यामा नयाँ व्यक्ति थपिने क्रममा छन् । यस्तो अवस्थामा देशकै एकमात्र केन्द्रीय निक्षेप प्रणाली र राफसाफ गर्ने सीडीएससीको महत्वपूर्ण भूमिका रहन्छ । सीडीएससीको भूमिकाले समग्र पुँजीबजारप्रति सर्वसाधारणको धारणा बनाउन सहयोग पनि गर्छ । सर्वसाधारमा सकारात्मक धारणा निर्माण गर्न अहिले सीडीएससीले गरिरहेको काम, प्राविधिक सुधार एवम् शुल्क तथा आम्दानीको विषयमा केन्द्रित रही सीईओ आचार्यसँग गरिएको आर्थिक वहसः   

तपाई सीडीएससीको कार्यकारी प्रमुख भएर आउनुएको ५ महिना जति भयो । कुन कुन विषयलाई प्राथमिकतामा राखेर काम गर्नुभएको छ ? 

विशेष गरेर मैले यो अवधिमा बजारलाई कसरी व्यवस्थित गर्ने भन्ने, आम लगानीकर्तालाई कसरी सहजीकण गर्ने भन्ने विषयमा केन्द्रीत रहेर काम गरे । यहाँ भएका सफ्टवेयर अपग्रेट गर्नेदेखि मेरो शेयरमा विभिन्न फिचरहरू थपेर सेवालाई बढीभन्दा बढी प्रभावकारी बनाउनेतर्फ लागेको छु । 

सबै काम सिडिएसले गर्नुपर्छ, कमिशन चाहिँ थोरै छ, यसलाई बढाउनुपर्छ भनेर आवाज पनि उठाइरहनुभएको थियो । वास्तविकता के हो ? 

 हामीले काम धेरै गर्नु परेको छ, कमिशन थोरै छ । यस्तो अवस्थामा कसरी सीडीएसलाई सञ्चालन गर्ने भनेर बारम्बार आवाज उठाइरहेका छौं । हामीले अध्ययन प्रतिवेदन बनाएर नै बोर्डमा पेश गरेका थियौं । यो केही हदसम्म सम्बोधन पनि भएको छ । 

धितोपत्र बोर्डले भर्खरै ब्रोकर कमिशन घटाएको छ । हाम्रो विनियमावलीमा नै पहिला ०.१७५ प्रतिशत पाउने भनेर लेखिएको छ । तर, त्यसको कार्यान्वयन भने भएको थिएन । अहिले धितोपत्र बोर्ड र नेप्सेले साउन १ गतेदेखि लागू हुनेगरी भनिदिएकोले हामीलाई अलिकति राहत भएको छ । खासमा त यो कमिशन पनि वैज्ञानिक ढंगले निर्धारण भएको छैन । यो नभएपनि अहिलेलाई केही हदसम्म हाम्रो सुनुवाइ भएको छ । 

यो कमिशनले सीडीएससी चल्न सक्छ ? 

यो एउटा व्यक्तिगत लाभको कुरा हो, एउटा संस्था कसरी चल्ने भन्ने कुरा पनि हो । जसलाई पनि आफ्नो संस्थालाई बलियो, राम्रो, चुस्त दुरुस्त बनाउ भन्ने नै हुन्छ । अझै हामी के भन्छौ भने, कमिशनका बारेमा डिटेलमा बसेर वैज्ञानिक ढंगको व्यवस्था लागू गर्नुुपर्छ भन्ने हो । काम अनुसारको कमिशन चाहिन्छ भन्ने हाम्रो माग हो । 

अहिले कसले कति पाउँछन् कमिशन ? 

अहिले कुल कारोबारको लगभग ८० प्रतिशत ब्रोकरले पाउँछन् । यसभित्र सेबोनको पनि कमिशन हुन्छ । बाँकी रहेको २० प्रतिशतलाई सय मान्दा १७ प्रतिशत हाम्रोमा आउँछ अनि बाँकी ८३ प्रतिशत नेपाल स्टक एक्चेन्जमा (नेप्से)मा जान्छ । 

मासिक आम्दानी कति हुन्छ अनि खर्च कति हुन्छ ?  

हाम्रोमा मासिक भनेर नै त हुँदैन । मासिक भन्दा पनि वार्षिक रुपमा जम्मा हिसाब गर्दा गत वर्ष संस्था चलाउनै गाह्रो थियो । यो वर्ष कारोबार बढेकोले अब संस्था चल्नलाई गाह्रो नहोला भन्ने छ । खर्च भन्ने दिन प्रतिदिन बढ्दै जाँदो रहेछ । 

मेरो शेयरमा कहिले काहीँ समस्या आउने गर्छ । यसको समाधानका लागि के गर्दै हुनुहुन्छ ? 

म यहाँ आउँदा मेरो शेयरमा ४/५ वटा एप्लिकेशन लिनलाई पनि गाह्रो भइरहेको थियो । छोटो समयमै ९ लाख बढी प्रयोगकर्ता बढेका छन् । हामीले अहिले केही सर्भर भाडामा लिएका छौं । र, केही सरकारको सर्भर चलाइरहेका छौं । हामीले एथेस्ट ध्यान दिएर काम गरिरहेका छौं । अब असारसम्ममा सबै सिस्टम अपग्रेड गरेर लैजाने गरी काम गरिरहेका छौं । 

बजार पुँजीकरण जीडीपी बराबर हुन लागिसक्यो । यसको भार सबै सिडिएसमा आइरहँदा भोलिका दिनमा यसलाई व्यवस्थित बनाएर लैजान के के गर्नुपर्ला ? 

बजार पुँजीकरण जीडीपीसँग बराबर भएपनि यसले धान्न सक्छ भन्ने विश्लेषकको पनि भनाइ छ । बजारमा इन्भेस्टरको भोल्युम बढेर जानेलाई त्यसको व्यवस्थापन गर्न आईटीलाई अग्रेड गर्ने भन्ने हो । यदि हाम्रो सिस्टममा समस्या आयो भने भोलि त्यति नै खर्च लगाएर अर्को सिस्टम हाल्नु पर्ने हुन्छ । त्यसका लागि हामी तयारी पनि गर्दैछौं । यदि यो डाउन भयो भने त्यसलाई स्विच गर्ने बित्तिकै रन गराउन सकिन्छ । अर्को भनेको डिजास्टर रिकभरी सेन्टर हो । यो काठमाडौं उपत्यका बाहिर बनाउनुपर्छ । यो बनाउने भन्ने हाम्रो योजना छ । 

डिजिटलाइजेशन भइरहँदा रिक्सको पाटो पनि उतिकै हुन्छ । यसमा सिस्टम अडिटिङ टेक्निकको काम यहाँहरुले गरिरहनु भएको छ कि छैन ?

यो भनेको आईटी सिस्टम अडिट हो । यो हाम्रो अहिले पनि भएको छैन । आईटी सिस्टम पोलिसी पनि हाम्रो छैन । आईटी सिस्टम पोलिसी बनाएपछि हामीले तुरुन्तै गर्नुपर्ने प्लानमा छ । पहिले सिस्टम अपग्रड गर्ने र त्यसपछि आईएस अडिट गर्ने भन्नेमा छौं । यता डाटा सुरक्षाको सवालमा त हाम्रो तीन तहको ब्याकअप सिस्टम छ । 

सर्भरको क्लाउडिङ कस्तो छ ? यहाँ मात्र छ कि बाहिर पनि ? 

एउटा सिंहदरबार भित्र छ अनि अर्को बाहिर छ । डाटा एकदम सुरक्षित छ । हामीले अहिले खाली क्यापिसिटी विकास गर्नमा ध्यान दिइरहेका छौं । अहिले डेक्सटप बेस्ड छ हामीले वेभ बेस्ड बनाउन लागेका छौं । यसकै अपग्रेड गर्न काम गरिरहेका छौं ।  

शेयर कारोबारमा सीडीएसको कामको हिस्सा कति छ ? 

सीडीएससीको काम यति प्रतिशत भनेर ठ्याक्कै भन्न गाह्रो छ । डिपोजीटरीको काम त १०० प्रतिशत नै हाम्रो हो । क्लिरिङ र सेटलमेन्टको काम पनि सबै हाम्रै हो । यसका स्टेक होल्डर चाहिँ तीन/चार वटा छन् । इन्भेष्टरले ब्रोकरकोमा गएर खरिदबिक्रिको आदेश दिनुपर्यो । त्यसपछि उसले त्यहाँ इन्ट्री गर्नुपर्यो । त्यो सिस्टम नेप्सेमा म्याचिङ गराउनुपर्यो । त्यसपछि राती त्यसको टेक्स–फाइल हाम्रोमा म्याचिङ हुन्छ । त्यसैले सबै स्टेकहोल्डरको सामूहिक भूमिकामा बजार चल्ने हो । 

दोस्रो बजारको डाटा सुरक्षित गर्ने जिम्मा निजी कम्पनीलाई दिइएको भन्ने छ । यस्तो गर्दा लगानीकर्ताको गोपनीयता हुन्छ त ? 

पहिले टीएमएस नेप्सेले दिइरहेको थियो । अहिले टीएमएस ब्रोकरहरु आफैँले खरिद गरेर राख्न सक्नेगरी नीति फुकाइदिएको हो । यसका ब्रोकरहरुले कतिको काम गरिरहेका छन् भन्ने चाहिँ जानकारी छैन । 

डाटा दुरुपयोग भन्ने कुरामा चाहिँ जो मानिसले सफ्टवेयर बनायो त्यो मानिसले चाह्यो भने डाटा अस्ट्रयाक गर्नसक्छ । तर, उसले त्यस्तो गर्दैन । किनकी उसलाई त्यहाँ नियममा बाँधिएको हुन्छ । विभिन्न देखिएका समस्याहरुलाई केवाईसीले समाधान गर्छ । केवाईसी प्रत्यक्ष भर्नुपर्ने हुन्छ । यसले गर्दा पनि यसको समस्या समाधान गर्न सहज हुन्छ ।  

शेयर डिजिटाइजेशनको अन्तर्राष्ट्रिय प्राक्टिस कस्तो छ ? विदेशको सफ्टवेयर अनुसार नेपालमा पनि सञ्चालन गर्न कति खर्च लाग्ला ? 

खर्चको कुरामा गर्दा सफ्टवेयरको लागत कति लाग्छ भन्ने अनुसार हुन्छ । यसका हामीले यकिन गर्न सक्दैनौं । एउटै सफ्टवेयर भारतमा गएर किन्दा सस्तो होला सिंगापुरतिर गएर किन्दा झन् महँगो होला । 

हामीले केही विदेशका सफ्टवेयर पनि चलाइरहेका छौं । यसमा खर्च बढी हुने रहेछ । विदेशको सफ्टवेयरमा सानो समस्या आयो भने विदेशकै मानिस बोलाउनु पर्ने हुन्छ । उसको हवाई भाडादेखि पाँचतारे होटलमा बसेको खर्च समेत धान्नुपर्ने हुन्छ । सर्भिस कस्ट नै महँगो हुन्छ । नेपाली कम्पनीलाई पनि हामीले प्रयोग गरिरहेको विदेशको सफ्वेयरको बारेमा अध्ययन गर्नुहोस् भनेका छौं, । नेपालमै बन्यो भने हामी त्यही प्रयोग गछौं । दुई÷तीन वर्षसम्ममा उहाँहरु तयार हुनुभयो भने नेपालकै सफ्टवेयर प्रयोग गर्ने सोच छ । 

प्रतिक्रिया दिनुहोस