
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर गिरावट हुुनुलाई कतिपयले बजारमा शेयरको आपूर्ति उच्च हुनुलाई पनि दोष मानेका छन् । लगातार बजारमा शेयर आपूर्ति हुँदै जाँदा लगानीकर्तासँग पुँजी अभाव हुने भएकाले पछिल्लो केही समयदेखि नेप्सेमा गिरावट आउनुको एउटा कारण मानिँदै आएको हो ।
बजारमा उच्च शेयर आपूर्ति भएकै कारण केही कम्पनीको आईपीओ, एफपीओ बिक्री नभएर अन्डर राइट गर्नुपर्ने स्थिति आएको छ भने केहीले आईपीओ एफपीओ बिक्री गर्न लाभांशको फन्डा समेत फ्याँक्नुपर्ने भएको थियो ।
विगतमा शेयर निष्काशन हुने वित्तिकै ओभर सस्क्राइभ हुँदै आएका बैंक, हाइड्रोपावर जस्ता कम्पनीको शेयरप्रति लगानीकर्ताको चासो कम पाएको छ । तर, लघुवित्त कम्पनी र बीमा कम्पनीमा भने अझै पनि लगानीकर्ताको भीड रहेकै छ ।
यसै सन्दर्भमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म विभिन्न ५३ वटा कम्पनीले ३५ अर्ब ५ करोड रुपैयाँबराबरको ३५ करोड ५ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेका छन् ।
नेपाल धितोपत्र बोर्डका अनुसार जेठ मसान्तसम्म २५ वटा कम्पनीले ७ अर्ब २४ करोड रुपैयाँ बराबरको ७ करोड २४ लाख कित्ता आईपीओ निष्काशन गरेका छन् । त्यस्तै १५ वटा कम्पनीले ४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ४ करोड ३३ लाख कित्ता हकप्रद शेयर जारी गरेका छन् । ऋणपत्रतर्फ ९ वटा कम्पनीले १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको १९ करोड ५८ लाख कित्ता जारी भएको छन् ।
त्यस्तै चालू आवमा ४ कम्पनीको ३ अर्ब ९ करोड रुपैयाँबराबरको ३ करोड ९ लाख एकाई म्युचअल फन्ड जारी भएको छ । यस वर्ष कुनै पनि कम्पनीले थप निष्काशन एफपीओ भने जारी गरेका छैनन् ।
यसअघि आव २०७३/७४ मा १०१ कम्पनीले ५९ अर्ब ३९ करोड रुपैयाँ बराबरको ५९ करोड ३९ लाख कित्ता शेयर जारी गरेको थियो । त्यस्तै आव २०७४/७५ मा ८७ वटा कम्पनीले ५३ अर्ब ३ करोड रुपैयाँ बराबरको ५३ करोड ३ लाख कित्ता शेयर जारी गरेको थियो ।
आव २०७३/७४ मा १७ वटा कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ बराबरको १ करोड ५१ लाख कित्ता आईपीओ निष्काशन गरेका थिए भने आव २०७४/७५ मा २१ वटा कम्पनीले ८ अर्ब ३ करोड रुपैयाँ बराबरको ८ करोड ३ लाख कित्ता निष्काशन गरेका थिए । त्यस्तै हकप्रद शेयरमा पनि आव २०७३/७४ मा ७६ वटा कम्पनीहरुले ४५ अर्ब ६४ करोड रुपैयाँ बराबरको ४५ करोड ६४ लाख कित्ता निष्काशन गरेका थिए । आव २०७४/७५ मा ५५ वटा कम्पनीले २५ अर्ब ७ करोड रुपैयाँ बराबरको २५ करोड ७ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेका थिए ।
एफपीओतर्फ आव २०७३/७४ मा ४ वटा कम्पनीले ७ अर्ब ९९ करोड रुपैयाँ बराबरको ७ करोड ९९ लाख कित्ता शेयर जारी गरेका थिए भने आव २०७४र७५ मा ६ वटा कम्पनीले ११ अर्ब ५ करोड रुपैयाँ बराबरको ११ करोड ५ लाख कित्ता शेयर थप जारी गरेको थियो । आव २०७४/७५ मा १ कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता ऋणपत्र जारी गरेको थियो ।
म्युचअल फन्डमा आव २०७३/७४ मा ४ वटा कम्पनीले ४ अर्ब २५ करोड रुपैयाँ बराबरको ४ करोड २५ लाख एकाई शेयर जारी गरेको थियो भने आव २०७४/७५ मा पनि ४ कम्पनीले ४ अर्ब ८ करोड रुपैयाँ बराबरको ८ करोड ८ लाख एकाई जारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस