
काठमाडौं । सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका(४ बिशालनगरस्थित ‘द अप्रेन्टिस फर्म प्रालि’ नामको ट्रेनिङ सेन्टरका संचालक तारकेश्वर नगरपालिका मनमैंजु बस्ने नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रविन पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पौडेलले मासिक तलव स्केल ६ सय ५० डलर हुने काममा उक्त ट्रेनिङ सेन्टरबाट सिंगापुर पठाइदिन्छु भन्दै प्रलोभन देखाई भारतको दिल्ली र लखनउमा पानीजहाजमा काम गर्नेलाई दिइने ‘सोलास’ नामक तालिम समेत गर्न लगाई नगद ठग्ने गरेको प्रहरीले जनाएको छ ।
पीडितको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका(४ पारिजातपथ एरियामा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
पौडेलले ३ सय जना भन्दा बढी मानिसहरुबाट उक्त रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उक्त ठगी कार्यमा अन्य मानिस समेतको संलग्नता रहेको भन्ने अनुसन्धानबाट खुल्न आएकोले उनीहरूको समेत खोजी भइरहेको सो महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस