
काठमाडौं । सरकारले मुलुकमा लगानीको वातावरण बनेको दाबी गरिरहँदा विदेशी लगानी प्रतिवद्धता भने घटेको छ । उद्योग विभागमा आएको पछिल्लो ५ महिनाको लगानी प्रतिवद्धताले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लगानी प्रतिवद्धता करिब १५ प्रतिशतभन्दा बढीले घटेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा २३ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । गत वर्ष यही अवधिमा २७ अर्ब ६८ करोड लगानी प्रतिवद्धता आएको थियो । गत वर्षको भन्दा कम लगानी प्रतिवद्धता आएको हो ।
चालु आर्थिक वर्षको मंसिरसम्म विदेशी लगानी प्रतिवद्धता २१ अर्ब ११ करोडमा सीमित भएको छ । मंसिरसम्म भएको विदेशी लगानी प्रतिवद्धता गत आवको तुलनामा २२.९ प्रतिशत र उद्योग दर्ता २५ प्रतिशतले कम हो । गएको आवको पहिलो ५ महिनासम्म १४४ वटा उद्योगमा कुल २७ अर्ब ३८ करोड २० लाख लगानी भएको थियो । समीक्षा अवधिमा सो लगानी घटेर २१ अर्ब ११ करोड ५० लाख सीमित भएको छ भने उद्योगको संख्या पनि घटेर १०८ मा सीमित भएको छ ।
पछिल्लो समय नेपालमा लगानीको वातावरण बन्दै गएपनि लगानीमा सुधार भने हुन सकेको देखिदैन । चालु आवमा लगानी प्रतिवद्धता घट्नुका साथै विभिन्न कारणमध्ये कोभिड–१९ पनि एक हो । नेपालमा जलविद्युत्, पूर्वाधार (द्रुत मार्ग, रेलवे, टनेल, केवल कार, मेट्रो रेल, फ्लाइओभर, विमास्थल), कृषि तथा बनजन्य उद्योग, सेवामूलक क्षेत्र, पर्यटन उद्योगमा विदेशी लगानीलाई प्राथमिकता दिएको छ ।
उद्योगी व्यवसायीले उद्योग दर्तादेखि लगानीको स्वीकृति, भिसा लिने, मुद्रा सटही गर्ने लगायत सबै काम एकल विन्दु सेवाबाट गर्न सकिने व्यवस्था पनि विभागले मिलाएको छ । तर, पनि लगानी प्रतिवद्धतामा उत्साह देखिएको छैन । औद्योगिक व्यवसाय ऐन–२०७५ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएका मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका ठूला उद्योग भनेर विभागले दर्ता गर्छ ।
हरेक वर्ष प्रतिबद्धताभन्दा कम लगानी भित्रिनु भनेको उनीहरुको आत्मविश्वास जित्न नसक्नु हो । सरकारले वैदेशिक लगानी आकर्षित गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नियमावली २०७७ कार्यान्वयनमा ल्याएको छ । यसमा भएको केही सुविधाले पनि लगानीकर्ता आकर्षित हुन सक्ने सरकारी पक्षको विश्वास छ । अहिले लगानी घटेपनि आवको अन्त्यसम्म लगानी बढ्ने विभागका महानिर्देशक जिवलाल भुसालले बताए ।
यद्यपि विगत ५ वर्षको विदेशी लगानीको प्रतिवद्धतालाई हेर्ने हो भने लगानीमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ । आर्थिक २०७३/७४ मंसिरसम्म ३ अर्ब ९९ करोड ८० लाख रहेकोमा अहिले बढेर २१ अर्ब ११ करोड पुगेको छ । त्यसको पछिल्लो वर्ष २०७४/७५ मा एकै पटक बढेर १३ अर्ब १४ करोड लगानी प्रतिवता भएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा आएर फेरि विदेशी लगानी घटेको थियो । र गत आवमा सो लगानी बढेपनि अहिले आएर फेरि लगानी घटेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक उद्योग दर्ता हुन्छन् ।
प्रतिक्रिया दिनुहोस