aarthiknews.com शुक्रबार, २१ फागुन २०७७   Friday, 05 March, 2021
 
tater Group
Bajaj_Bike

‘शेयरधनीलाई प्रतिफल दिन योग्य भएका छौं’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ माघ २०७७
‘शेयरधनीलाई प्रतिफल दिन योग्य भएका छौं’
नारायण प्रसाद पौडेल, सीईओ, प्रभु लाइफ इन्स्योरेन्स
Jagadamba
LBEF

नेपाल राष्ट्र बैंकमा ३० वर्षको सेवापछि बीमा क्षेत्रमा प्रवेश गरेका नारायणप्रसाद पौडेल प्रभु लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भुमिका रहेर कार्य सम्पादन गरिरहेका छन् । राष्ट्र बैंक जस्तो नियामक निकायमा बसेर कार्य सम्पादन गरेका पौडेलका लागि बीमा क्षेत्र फरक हो । चौथो वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले साधारण शेयर (आईपीओ) जारी गरिसकेको छ भने व्यवसायलाई पनि बढाउँदै अघि बढेको छ ।  प्रभु ग्रूपको ब्राण्ड बोकेको यस कम्पनीको अहिलेसम्मको अवस्था, यस क्षेत्रमा देखिएका अवसर र चुनौती तथा अबका दिनमा कम्पनीले गर्ने व्यवसाय र शेयरधनीलाई दिने प्रतिफलका विषयलाई लिएर सीईओ पौडेलसँग आर्थिकन्युज डकमले गरेको आर्थिक वहसः


प्रभु लाइफ ३ वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ । यो अवधिमा तपाईले नेतृत्व गर्नु भएको संस्थाको अवस्था कस्तो छ ?  

हामीले २०७४ मङ्सिरबाट काम सुरु गरेका हौँ । हामी जीवन बीमा कम्पनीमा नयाँ हौं र पनि हामीले हाम्रोतर्फबाट गर्न सक्ने जति इफोर्ट लगाएर काम गरिरहेका छौं । यस अर्थमा कम्पनीले राम्रो गरिरहेको छ र अबका दिनमा पनि राम्रो गर्छ भन्ने हो । 
कम्पनीको वित्तीय सूचकहरू राम्रा छन् । अहिले हामी दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गर्ने तयारीमा छौं । हाम्रो अहिलेको पुँजी २ अर्ब रूपैयाँ हो । बीमा समितिले जीवन बीमा कम्पनीका लागि २ अर्ब चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ ।

सोही अनुसार हामीले साधारण शेयर (आईपीओ) पनि निष्काशन गरिसकेका छौं र अहिले कम्पनीको  पुँजी  एक अर्ब ६० करोडमा ४० करोड साधारण शेयर निष्काशन गरेपछि पुँजी बढेर २ अर्ब पुगेको छ । हामी ३ वर्ष पूरा गरेर ४ वर्षमा लागेका छौँ । असोज मसान्तसम्म हामीसँग आबद्ध भएका बिमितको बिमालेख संख्या १ लाख २० हजारभन्दा माथि छ ।  कोभिडका बोला केही असर परेको हो । तर, पछिल्लो समय व्यवसाय राम्रो बन्दै गएको छ । कम्पनीले गरेको प्रगति तथा अवस्था हाम्रो वित्तीय प्रतिवेदनले देखाउने नै छ । 

खासमा बीमा कम्पनीहरूलाई कसरी हेर्ने हो ? 

विशेष गरेर बीमा कम्पनीहरूमा बीमा लेख र यसमा भएको दाबी भुक्तानीको अवस्थालाई हेर्ने गरिन्छ । हामी नयाँ बिमा कम्पनी भएको हुनाले हामी कहाँ त्यति ठूलो दाबी भुक्तानी छैन, सामान्य नै छ । यो निश्चित समय पछि बढ्दै नै जाने छ । बीमा लेखका सम्बन्धमा हामीले प्रगति गरिनै रहेका छौ । 

हामीले त्यति धेरै महत्वकांक्षी लक्ष्य पनि राखेका छैनौ । लक्ष्य नराखिएको भनेर बुझ्न पनि भएन । महत्वकांक्षी लक्ष्य छैन मात्रै भनिएको हो । हामी रोखेको लक्ष्यमा हामी सजिलै पुग्न सक्छौं भन्ने हो । हाम्रो गन्तव्य पनि त्यहि हो । हामीले योजनाहरू बनाउँदा बजार र कम्पनीको अवस्था हेरेर बनाएको हुन्छौं । त्यसैले हाम्रो समग्र प्रगति सन्तोषजनक बाटोमै छ । बजारमा राम्रै गर्छौं भन्ने पूर्ण विश्वासका साथ कार्य सम्पादन भइरहेकोे छ ।  

प्रभु लाइफ इन्स्योरेन्ससँग कस्ता कस्ता प्रडक्ट छन् ? र कुन प्रडक्ट आम सर्बसाधारणले रुचाएका छन् ?  

बजारको मागअनुसार हामीले प्रडक्ट डिजाइन गरेका हुन्छौं । नेपाली बजारमा १९  वटा जीवन बीमा कम्पनी छन् । प्राय सबैको प्रडक्ट उस्तै उस्तै नै छन् । कसैको  प्रडक्टमा प्रिमियम धेरै होला त केहीमा थोरै होला । बिमाङ्कीय रकम पनि यस्तै हो । केहीमात्रै तलमाथि हुन सक्छ । नत्र सबैको उस्तै नै हो ।  हामीसँग भएका १२/१३ वटा प्रडक्टमध्ये इन्डोमेन्ट पोलिसी अलिबढी सेल भएको छ ।

हामीले सावधिक जीवन बिमा, म्यादी जीवन बिमा, अग्रिम भुक्तानी जीवन बिमा लगायतका प्रोडक्ट ल्याएका छौँ । फेरि बुझ्नु पर्ने कुरा के हो भने एक पटक ल्याएको प्रोडक्ट सधैँ एउटै रहँदैन । समय, सन्दर्भ, बजारको बदलिँदो परिस्थिति र प्रतिस्पर्धाको अवस्था अनुसार हामीले नयाँ प्रोडक्टहरू पनि ल्याउनुपर्ने हुन्छ । यसका लागि हामी सधै नै लागिरहेका हुन्छौं । 

नयाँ प्रडक्ट ल्याउन कतिको सहज छ ? 

हामीले नयाँ प्रडक्ट ल्याउन चाहने वित्तीकै ल्याउन सक्ने अवस्था पनि छैन । बजार हेर्नु पर्यो  । पोलिसी  ल्याउँदा बीमा एक्चुरीले यसका वारेमा अध्ययन तथा रिसर्च गर्छ र यसबाट बीमा बजारमा के कस्ता फाइदा पुग्छ वा कम्पनीलाई कसरी लाभ पुर्याउँछ भनेर पूरै मूल्यांकन गरिएको हुन्छ । बीमा समितिको स्वीकृतीले मात्रै कम्पनीहरूले नयाँ पोलिसी लन्च गर्न सक्छन् । यसका लागि धेरै गृहकार्य गर्नुपर्छ । रिसर्च नगरी ल्याएको पोलिसीले कम्पनीलाई राम्रो गर्छ भन्ने हुँदैन ।  

बीमा कम्पनीहरूले समयमा वार्षिक साधारणसभा गर्न नसक्नुको कारण स्वदेशमा एक्चुरी नहुनुमात्रै हो कि अन्य कारण पनि छन् ?  

नेपालमा एक्चुरी छैनन् । यो सबैलाई थाहा भएकै कुरा हो । फाट्टफुट्ट भए पनि आवश्यकता फूलफिल हुने गरी अर्थात बजार माग अनुसार एक्च्युरी छैनन् । कम्पनीले आर्थिक वर्षको अन्त्यपछि ब्यालेन्स सिट बनाएर शुरुमा बीमा समितिमा पठाउँछ । समितिले सहमति लिएपछि हामीले साधारणसभा गर्न सक्ने अवस्था छैन । बिमाङ्कीय मूल्यांकनको लागि भारतमा पठाउनु पर्छ । उताबाट मूल्यांकन भएर आउँन नै समय लाग्छ । 

एक्च्युरी सहमत भएको ब्यालेन्स सिटमा बिमा समितिको सुझाव समेटेपछि मात्रै प्रक्रिया पूरा हुने कारणले साधारणसभा गर्न ढिलाइ भएको हो । त्यो प्रक्रियामा हामी अलिकति छिटो भएका हौँ । तर, पनि हामीले चाहेको जस्तो छिटो हुन भने सकिरहेको अवस्था छैन । यतिलेमात्रै प्रक्रिया पूरा हुँदैन । कम्पनी रजिस्ट्रारको कार्यालयमा विवरण दर्ता नभई अघि बढ्न सकिँदैन । यी सबै व्यवस्थापन मिलाउँदा समय लाग्छ ।  

जीवन बीमा बजारमा एक्कै पटक १० वटा कम्पनी आए । त्यति बेला बजारले धान्न सक्दैन कि भन्ने थियो  । तर, अहिले सबैले राम्रै व्यवसाय गरिरहेका छन् । साँच्चै नेपालमा बीमा बजार फराकिलो रहेछ, होइन त ?

यसलाई हामीले विभिन्न पक्षबाट हेर्नुपर्ने हुन्छ । चार वर्ष अघिसम्म बीमाको पेनिटेसन सात प्रतिशतको हाराहारीमा थियो । अहिले समग्रमा बीमा बजार बढेर २७ प्रतिशत पुगेको छ । अहिले हामी एक तिहाइ बजार पनि पुग्न सकेका छैनौ ।  सय प्रतिशतमा २७ प्रतिशतमात्रै पुग्नु भनेको अझै पनि यसबीचमा ठूलो भ्याकुम छ वा खाली छ भन्ने हो । बीमा बजारमा सम्भावना र अवसर दुबै छन् । अहिले बजार वर्षैपिच्छे बढ्दै गएको छ । जबसम्म स्याचुरेसनमा पुग्दैन तबसम्म सम्भावना रहिनै रहन्छ ।   

पब्लिक कम्पनीले आम शेयरधनीलाई प्रतिफल पनि दिनुपर्ने हुन्छ । कहिलेदेखि लाभांश दिनुहुन्छ शेयर धनीलाई ? अहिले भइरहेको बिजनेशले कति प्रतिफल दिन सकिन्छ जस्तो लाग्छ तपाईलाई ?  

कम्पनीको बिजनेश ‘आहा’ भन्ने नभए पनि राम्रो छ । अहिले नै यति उति भन्नु भन्दा पनि आगामी आवमा सबै शेयरधनीलाई उचित लाभांश दिन्छौं भन्ने हो । यसमा कुनै शंका छैन । हामीले राम्रो नै गरिहेकाले लाभांश दिने हैसियतमा कम्पनी पुगेको छौं । १०/१२ प्रतिशत लाभांश दिन २०/२२ करोड भए पुगिहाल्छ । सहजै हामी यो अवस्था पुग्छौं भन्ने आत्मविश्वास छ ।  

केही समयअघि आईपीओ पनि आइसकेको छ । बजारमा यसको शेयर मूल्य पनि दिनप्रतिदिन बढ्दो अवस्थामा छ । आईपीओमा गएपछि हामी लाभांश दिनका लागि योग्य भएका छौं भन्ने हो । फेरि लाभांश दिने कुरा सञ्चित जगेडा रकममा कति रहन्छ  त्यसमा भर पर्दछ । 

पूराना बीमा कम्पनीसँग प्रतिस्पर्धा गर्दै व्यवसाय गर्न कतिको सहज छ ? 

पुराना कम्पनीहरू स्थापित भइसकेका छन् । उनीहरूले बजार पनि बनाइसकेका छन् । नयाँ कम्पनीको तुलनामा उनीहरूको सञ्जाल पनि ठूलो भइसकेको छ ।  बजार विस्तारमा पहुँचका साथै ब्राण्ड पनि बनिसकेको हुन्छ । नयाँ कम्पनीहरू नयाँ उत्साह र योजना लिएर आएका छन् । त्यही हिसाबले आफ्नो पूर्वाधार पनि बनाउँदै लगेका छन् ।  

हुनत हामीसँग पनि ‘प्रभु ग्रूप ब्रान्ड छ । यस्तो ब्रान्ड वा पहिचानले पनि हामीलाई अझ बढी स्ट्रेन्थ मिलेको छ । बजार विस्तार तथा स्थापित हुन मुख्य प्रवद्र्धक र व्यवस्थापन को छन् भन्ने कुराले पनि अर्थ राख्छ । यस हिसावले हामीलाई अन्य नयाँ कम्पनीको भन्दा बजारमा व्यवसाय गर्न अझ सहज भएको छ । 

प्रतिस्पर्धाको कुरा गर्दा नयाँ जीवन बिमा कम्पनीलाई पुरानाको र पुरानालाई नयाँको असर परेको हुन सक्छ, पुरानालाई पनि नयाँले केही असर परेको हुन सक्छ । बजारमा स्वस्थ र प्रतिस्पर्धी ढंगबाट जसले सेवा दिन सक्छ उसले नै बजारमा व्यवसाय बढी गर्ने हो या उसैले बढी हिस्सा लिने हो । 

बीमा क्षेत्रमा मर्जरको आवश्यकता कति देख्नु भएको छ कि छैन ? के बीमा बजारको अनुपातमा कम्पनी बढी भएका हुन् त ?  

बीमा क्षेत्रमा पर्याप्त बजार भएकाले मर्जर नै गरिहाल्नु पर्छ भन्ने देखिदैन । मर्जरका कुरा बेलाबेलामा उठ्ने र सेलाउने गरेका छन् । यसमा बीमा समितिको निर्देशन पनि छ । तर, एउटा रेगुलेटरले मर्जर र एक्विजिसनको योजना ल्याएको छ हामीले पनि ल्याउनु पर्छ भन्ने होइन कि त्यसको आवश्यकता त्यो क्षेत्रमा कति को भनेर बुझ्नु पर्छ । तर, क्रस होल्डिङ भएका कम्पनीहरू भने मर्जर हुँदा नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ  किन छुट्टाछुट्टै बसेर एउटै क्षेत्रमा व्यवसाय गर्ने भन्ने विषय चाहिँ मूलभूत विषय हो । 

तपाईंसँग ३० वर्ष राष्ट्र बैंकमा बसेर काम गरेको अनुभव छ । नियमन विभागदेखि विभिन्न विभागमा विभागीय प्रमुख भएर काम पनि गर्नु भयो । राष्ट्र बैंकको नियमन र बीमा समितिको नियमनलाई तुलना चाहिँ कसरी गर्नु भएको छ ?

नियमनको आवश्यकता जुनसुकै क्षेत्रमा पनि उत्तिकै पर्दछ । राष्ट्र बैंक नेपालमा भएका अरू नियामक निकायको तुलनामा अलि बढी नै व्यवस्थित नियामक निकाय हो । त्यसको गाम्भीर्यता, त्यसको महत्व, त्यसको अर्थ घटबढ हुन सक्छ । नेपाल राष्ट्र बैंक कानुनी हिसाबले पनि पर्याप्त अधिकार प्राप्त भएको निकाय हो ।

बैंकिङ क्षेत्रको ३५/३६ सय अर्ब डिपोजिटको प्रोटेक्सन ठूलो कुरा हुन्छ । भोलि गएर बैंकमा कुनै किसिमको समस्या आयो भने त्यो बैंकिङमा मात्रै सीमित रहँदैन । बैंकिङ क्षेत्रको महत्व समग्र वित्तीय बजारमा अलि बढी नै हुन्छ । तर, बीमा क्षेत्रमा त्यस्तो हुँदैन ।
बीमा क्षेत्रको हकमा स्वस्थ प्रतिस्पर्धात्मक विकास र विस्तारका लागि र बिमितको हक हित संरक्षणका लागि नियामक निकायले मुख्य भुमिका खेल्नुपर्ने हुन्छ ।  

यसको नियमन गर्ने, सुपरिवेक्षण गर्ने, आवश्यक पर्दा कारबाही गर्ने र कुनै किसिमका विचलन भएमा त्यसलाई सही बाटोमा ल्याउने बाटोमा राष्ट्र बैंकको धेरै नै पहल कदमी रहन्छ । अब बीमा पनि आवश्यक कानुनहरू निर्माण गरेर यो क्षेत्रलाई अझ बढी व्यवस्थित, प्रतिस्पर्धी र पारदर्शी बनाउन पर्छ । 


 

प्रतिक्रिया दिनुहोस