
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ पहिलो दिनमा नै आधा बिक्री भएको छ । बैंकको आईपीओमा २ लाख ७० हजारभन्दा बढी आवेदन मार्फत पौने ४ अर्बको आवेदन परेको हो । पहिलो दिनमा नै ४९ प्रतिशत आईपीओ बिक्री भएको हो । बैंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबार ४ः०० बजेसम्ममा करिब ३ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ करोड ७० लाख कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरूको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।
इच्छुक लगानीकर्ताले बैंकको आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर जारी गरेको थियो ।
पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।
बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता पूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।
पछिल्लो समय साधारण शेयर निष्काशनमा चाप बढ्न थालेपछि नेपाल सीडीएस एण्ड क्लियरिङ हाउसले २० लाखसम्मको आवेदन थाम्न सक्ने गरी तयार पारिएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । त्यसैले आज दिनभर नै सर्वरले राम्रोसँग काम गरेको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस