
काठमाडौं । मंसिर महिनामा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा गएको छ । कार्तिक महिनासम्म २० अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको चालु खाता एक महिनाको अवधिमा यो परिमाणमा घटेको हो । चार महिनापछि सरकारको चालु खाता घाटामा गएको हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खाता ६५ अर्ब १३ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको राष्ट्र बैंकको देखाएको छ ।
देशभित्र भित्रने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर नै चालु खाता हो । विदेशी मुद्रा बढी भित्रिए चालु खाता बचतमा हुन्छ, कम भित्रिए अर्थात बढी बाहिरिए चालु घाटामा जाने पूर्व अर्थसचिव डा.शान्तराज सुवेदीले बताए । ‘यस वर्ष आयात कम हुँदा चालु खाता बचतमा थियो,’ उनले भने ‘पछिल्लो महिना अर्थात मंसिरमा आयात बढ्यो सोही कारण चालु खाता चार महिनापछि घाटाको अवस्थामा पुगेको हो ।’
स्तु तथा सेवाको निर्यात, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), रेमिटेन्सकालगायतका कारणले विदेशी मुद्रा देशभित्र भित्रिरहेको हुन्छ । गत वर्षसम्म चालु आयात बढी हुँदा चालु खाता अझ बढी घाटामा थियो । कोभिडका कारण भएको लकडाउनपछि आयात घट्दा चालु खाता घाटा बचतमा गएको थियो । पेट्रोलियम पदार्थ, यातायातका साधन र उपभोग्य सामग्रीलगायतका आयातले घाटा बचत रहेको खातालाई घटाएको हो ।
कात्तिक महिनासम्ममा ४ खर्ब २ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । मंसिर महिनासम्म आइपुग्दा ५ खर्ब २५ अर्ब रुपैयाँको आयात भएको छ । मंसिर महिनामा मात्र १ खर्ब २३ अर्ब रुपैयाँको वस्तु आयात भएको देखिएको हो ।
चालु खाता घाटामा गएपनि शोधानान्तर भने बचतमा छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको छ । कात्तिक महिनासम्म भने १ खर्ब १० अर्ब ६५ करोडले शोधानान्तर बचतमा थियो ।
प्रतिक्रिया दिनुहोस