aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

‘ऋणीले सेञ्चुरी बैंकबाट मात्रै ३० करोड छुट पाएका छन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
Reliance life insurance
‘ऋणीले सेञ्चुरी बैंकबाट मात्रै ३० करोड छुट पाएका छन्’
Jagadamba
LBEF

बैकिङ क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव हासिल गरेका सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम आफैमा बैंकिङ क्षेत्रका एक खम्बा हुन् । नेपाल बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका उनी अहिले विभिन्न बैंक हुँदै सेन्चुरी बैंकमा करिब ३ वर्षदेखि सीईओको भूमिकामा कार्य सम्पादन गरिरहेका छन् । उनै गौतमसँग बैकिङ क्षेत्रमा उठेका सवाल र चुनौतीका विषयमा गरिएको आर्थिक वहसको सम्पादित अंशः 

कोरोना कहरमै पहिलो त्रैमासको रिपोर्टमा सार्वजनिक भयो । जुन रिपोर्टमा सबै बैंकहरूको आम्दानी घटेको देखियो छ ? 
 
यसमा मिश्रित कुरा छ । पहिलो कुरा त कर्जाको ब्याजमा दिइएको छुट नै हो । ठूला खालका छुट हुन् ।  त्यो मैले भन्न पर्दैन । ऋणीहरूलाई बैंकहरूले दिएको छुटहरूका कारणले पनि असर परेको छ । ऋणीहरू चलिरहेका भएपनि वा चल्न नसक्ने भएका भएपनि २ प्रतिशत ब्याज छुट दिनु भनिएको थियो । मैले बुझे अनुसार समग्रमा २ अर्ब त छुट नै भयो । 

सेञ्चुरी बैंकबाट ३० करोड जति छुट भएको छ । यसबाट करिब १५ देखि १६ करोड खुद नाफामा असर पर्यो । अर्को भनेको राष्ट्र बैंकले नै असर परेका क्षेत्रलाई क्षेत्रगत रुपमा छुट्याएको थियो । जसमा बढी, मध्यम खालको असर परेको र कम असर भनेर छुट्याइएको थियो । यसमा पनि पैसा माग्न पनि समय तोकिएको थियो । राष्ट्र बैंकले तोकेको समयसम्म पनि हामीले कुर्नै पर्यो । 

कोरोना महामारीमा हामीले सेवा दिएपनि निरन्तर बैंकहरू खोल्न सकेनौं । हाम्रा २ सयभन्दा बढी कर्मचारीलाई कोरोना पोजेटिभ भयो त्यसबेला पनि बैंक बन्द गर्नु पर्यो । अहिले पनि राष्ट्र बैंकले ५० प्रतिशत कर्मचारीको सहभागितामा काम गर्नु भनेको छ, त्यसको पालना भइरहेको छ । हामीले सावा उठाउन नसकेको भन्दा पनि ऋणीहरूकोे क्षमतामा कम भएको हो । ऋण तिर्न सक्ने क्षमता नै छैन भने हामीले सावा कसरी माग्ने ? यी सबै कुराले गर्दा बैंकको आम्दानी घटेको हो । 

कोभिडका कारणले दिइएको छुट र अन्य कारणले बैंक तथा वित्तीय संस्थालाई परेको क्षतिले भविष्यमा पर्ने असरको अनुमान गर्नु भएको छ ?

कोभिड १९ कारणले भइसकेको क्षति भइनै सक्यो । त्यो हिसाव गरेर केहि हुदैन ।  अब कोभिडबाट बाहिर निस्कन भ्याक्सिन आइसकेको सुखद खबरहरू आउन थालेका छन् । यसको शुभ संकेतले पनि अब विश्वभरीको आर्थिक गतिविधिमा सकारात्मक संकेतहरू देखा पर्न थालेका छन् । करिब १ वर्षमा नेपालमा देखिएको कोभिडको असरका कारणले नाफामा असर पर्नेजति परिसक्यो । अब आउँदो केहि महिनाबाट सबै क्षेत्र राम्रोसँग सुचारु हुने हो भने पुनः आर्थिक गतिविधि पहिलाकोभन्दा तिव्र रुपमा बढ्न सक्ने अनुमान गर्न सकिन्छ । 

लामो समयसम्म धेरै मानिसहरू घरबाहिर निस्कन नपाएर गुम्सिएका छन् । कोभिडको भ्याक्सिन आइसकेकाले अब सबै क्षेत्रको मुभमेन्टले चाडो गति लिन थाल्छ र आर्थिक गतिविधिले राम्रो लय समात्न सक्छ । अहिले भएको क्षतिलाई समेत पूर्ति गर्ने गरि केहि वर्षमा नै नेपालका बैंक तथा वित्तीय संस्थाले प्रगति गर्ने सम्भावना देख्छु । 

फेरि बैंकहरू ठूला कर्पोरेट हाउसहरूको पैसा र ऋणमात्र चलेका हुँदैनन । बैंकहरूले यो घाटा सबै शेयर होल्डरहरूको हिस्सामा पर्छ । सेञ्चुरीका कुरा गर्ने हो भने २ लाख २० हजार जना शेयर होल्डरहरूमा बाँडिने भएकाले ठूला जस्तो लाग्दैन । एक दुई वर्ष नाफा कम हुँदैमा नाफामा ठूलो असर पनि पदैन जस्तो लाग्छ ।   

अहिले बैंकहरूमा धेरै नै तरलता छ, लगानी हुन सकिरहेको छैन यसको व्यवस्थापन बैंकहरूले कसरी गर्दैछन् ?  

धेरै तरलता भयो भन्दा पनि निक्षेपको तुलनामा ऋण बढ्न नसकेकोमात्रै हो ।  निक्षेप बढी हुनु एक हिसाबले राम्रै हो । तर, त्यहि हिसाबले ऋण बढ्न सकेन भने यसले लागत बढाउँछ । यो अवस्थामा निक्षेप बढ्नुलाई नराम्रो मान्नुपर्छ । पहिला डिपोजिट कम अनि लोन धेरै थियो । तर, अहिले यसको ठिक उल्टो डिपोजिट बढी लोन कम भैदियो । 

अहिले ठूला उद्योग कलखाना खोल्न सक्ने वातावरण भैसकेको छैन । ठूला लगानीमा उद्योग कलकारखाना खुल्ने सक्ने वातावरण भयो भने लोनको माग बढ्छ । भोलिका दिनमा राम्रो हुन्छ भनेर नै अहिले हामीले अगाडि बढिरहेका छौं । अहिले धेरै क्षेत्रमा लगानी बढाउन नसकेका कारणले लगानीकर्ताको रकम बैंकमा जम्मा भएर बसेको छ । 

गएका वर्षहरूमा यसको ठिक विपरित हुन्थ्यो । ऋण माग्न आउनेहरूलाई ऋण दिन नसक्ने अवस्था थियोे भने अहिले भने ऋण लिने व्यापारी खोज्न पर्ने अवस्था आएको छ । अहिले होटलहरूमा केहि लगानी बढिरहेको देखिन्छ नत्र अन्य क्षेत्रले लगानी विस्तार गर्ने आँट गरिहेका छैनन् । भोलि राम्रो हुन्छ भन्ने आशमा हामी अहिले बाँचिरहेका छौं ।

जीडीपी ग्रोथ, मुद्रास्फीति र ब्याजदरबीच तालमेल भइरहेको छैन । अनि कर्जा प्रवाहमा पनि त्यसको प्रभाव छ भन्ने टिप्पणी गरिन्छ । यसबारे के भन्नुहुन्छ ? 
ऋणको वृद्धि र कुल गार्हस्थ्य उत्पादन(जीडीपी) बीचमा केहि त्यस्तो देखिएको छ । जीडीपीको ग्रोथ र ऋणको वृद्धिसँगसँगै हुनपर्छ भन्ने छ । सामान्यतय २० प्रतिशत ऋणको वृद्धि हुँदा जीडीपी ८ प्रतिशतले वृद्धि हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यता छ । अहिले विश्वकै जीडीपी एक प्रतिशतले मात्रै बढ्ने प्रक्षेपण गरिएको छ । त्यसो हुँदा अब ऋण कतिले बढ्छ भन्ने कुराले यसको प्रभाव हेर्नुपर्ने हुन्छ । 

अहिले प्रायः सबै बैंकको ऋण सिंगल डिजिटमा आइसकेको छ । दुबै हातमा लड्डु हुँदैन । जस्तै डिपोजिटको ब्याजदर पनि धेरै होस र ऋणको ब्याजदर घटोस भन्ने विषयले मेल खादैन । अब नेपालको मुद्रास्फीतिका आधारमा बैंकले दिने ब्याज धेरै फरक पर्यो भने अब केहि निक्षेपहरू राख्नेको संख्या कम हुने सम्भावना चाहिँ छ ।  

राष्ट्र बैंकले पहिले नै ऋण लिइसकेकाहरूको हकमा ब्याजदर नबढाउनु भनेको छ यसमा के भन्नु हुन्छ ? 
यसमा दुई खालको रेट हुन्छ । एउटा घटबढ हुने हुन्छ । अर्को फिक्स रेट हुन्छ । हामीले वेश रेट प्लस २ प्रतिशत भनेर कुनै ऋणीलाई भनेका छौं भने बेस रेट १० प्रतिशत भयो भने ऋणको ब्याज १२ प्रतिशत हुने भयो । यो चाहिँ हटेको नै छैन । तर, बीचमा फिक्स रेट पनि अफर गर भनेर आएको मात्र हो । त्यसैले दीर्घकालीन कर्जामा बैंकहरू हिच्कियका हुन् । यसमा किन हिच्किय भने आज पो डिपोजिट सस्तोमा आएको छ, भाेिलका दिनमा के होला ? डिपोजिट नै १२ प्रतिशतमा लिनुपर्ने भयो भने अहिले १० प्रतिशतमा दिएको लोन त फस्न सक्छ । नेपालको बजार म्याचुअर नभइ सकेकाले पनि अन्तर्राष्टिय बजार जस्तो फिक्स ब्याजदर कायम गर्न हामीले सकेका छैनौं । 

पुनरकर्जाका लागि बैंकमा कतिको चाप छ ? 

नाफाका हिसावले नभइ सेवाको भावले अर्थात राष्ट्र बैंकको निर्देशन हिसाबले मात्रै बैंकहरू रि फाइनान्स गर्ने हो । एक पटक फाइनान्स गरिसकेको आधारमा अर्को फाइनान्स तिर्ने भन्ने हो । यो भनेको रेगुलर पैसा पाउने भन्ने होइन । जस्तै कुनै एउटा उद्योगले हामीसँग १० अर्बको लोन लिएको छ भने त्यो लोनको खातापाता राष्ट्र बैंकमा देखाएर अनि त्यो अनुसार राष्ट्र बैंकले हामीलाई अर्को १० करोड दिने हो । लोन दिने फण्ड चाहिँ हाम्रो पैसा हो । बैंकले लोनको खातापाता देखाएको पैसा जाने होइन । जुन पुरनकर्जाको लागि देखाइएको छ त्यसको ५÷६ प्रतिशत घटाएर दिने हो । यसमा बैंकले सस्तोदरमा फण्ड पाउने मात्र हो । 

 बैंकको ९ खर्ब भन्दा बढी हाइड्रोमा लगानी छ । यसमा सेञ्चुरी बैंकले रिक्स कति पर्छ ? 

बिजुलीको कुरामा एउटा लोकल कन्जप्सन भयो । यो हेर्दा तत्काललाई पुग्ला जस्तो देखिन्छ । हामीलाई के लाग्छ भने भोलिका दिनमा स्थानीय खपत बढाउँदा बिजुली खपत हुनुपर्यो । जहाँ बिजुली उत्पादन गरिएको छ त्यसकै आसपासमा बेच्ने हो । जति उत्पादन भएका बिजुली छन् त्यसको पुरापूर खपत हुनुपर्छ । हामीले उत्पादन गरेका बिजुली अन्य देशमा पनि सप्लाइ गर्न सक्छौं ।

ढिलो चाँडो त्यसको व्यवस्थापन पनि होला तर, बैंकको लगानी अहिले नै डुब्यो भन्न मिल्दैन । हामीले भोलिका दिनलाई हेरेर यसमा लगानी गरेका हौँ । हाइड्रोमा सरकारको स्वामित्व पनि छ । त्यसै पनि यसको लगानी अहिलेसम्म सुरक्षित छ । अब नेपालमा हालसम्म उत्पादन भएको विद्युत नेपालभित्र नै खपत हुनसक्ने अवस्था पनि देखिएको छ भने नेपाल नजिकका छिमेकी राष्ट्रहरूलाई धेरै विद्युत आवश्यक पर्ने देखिएको छ । 

त्यसैले नेपालमा जसरी विद्युतमा लगानी भइरहेको छ । यसको मार्केट अथाह भएकाले लगानी पनि सुरक्षित नै छ । विद्युतको उत्पादन र वितरणको प्रणाली सरकारी भएकाले पनि निजी क्षेत्रले गरेको लगानी नढुब्नेमा हामी निश्चित छौं । 

सिमेन्ट र रडमा गरेको लगानीको अवस्था कस्तो छ ? 

सिमेन्टको खपत धेरै भइरहेको छ । अहिले विकासका पूर्वाधारहरू धेरै बनिरहेका छन् । ठूला ठूला परियाजनमा नेपालमै उत्पादन भएका सिमेन्टका प्रयोग भइरहेका छन् । सिमेन्ट र रडको लगानी पनि सुरक्षित नै छ । नेपालका ठूला ठूला सडक पनि अब सिमेन्टबाट नै बनाउने भन्ने अवधारण आइसक्यो । सडक बनाउन आवश्यक पर्ने अलकत्रा विदेशबाट ल्यारहेका छौं । अब ढलान गरेर सडक बनाउने हो भने नेपालमा उत्पादन भएकोे सिमेन्ट नेपालभित्र नै खपत हुन्छ ।  

कोरोना महामारीले अरु क्षेत्रलाई गरेको असर जस्तो बैंकिङ क्षेत्रमा खासै देखिएन । यसलाई कसरी हेर्नुभएको छ ?  

कोरोना महामारीमा हामीले अनलाइन सिस्टमलाई प्रमोशन गर्यौ । पहिलेको अवस्थामा भन्दा महामारीले अनलाइन सिस्टममा जान सिकायो । तर, हामीले जति गर्नु पर्ने थियो त्यति गर्न सकेनौं । कोरोना महामारीको सबैभन्दा जोखिममा वृद्धवृद्धा छन् । जो बढी जोखिममा छन् उनीहरू नै भत्ता लिन बैंकमै जानुपर्ने बाध्यता छ । यो बाध्यता हुनुमा बैंकले त्यो लेबलसम्मको सेवा दिन नसक्नु नै हो । 

त्यस्तै अर्को भनेको क्युआर कोड भयो । क्यूआर कोड अन्य देशहरूमा धेरै पहिला देखि नै चलिरहेको छ । हाम्रोमा भर्खर सुरु भएको छ । अबको एक वर्षसम्म  बैंकिङ प्रणालीलाई फुलफेजलमा क्यासलेस बनाउँछौ जस्तो लागेको छ । पहिल्ला  शाखा विस्तारमा जोड दिने बैंकहरू अहिले सकभर ग्राहकलाई घरमै सेवा लिन सक्ने वातावरण बनाउन लागि परेका छन् । प्रायःजसो सबै बैंकहरूका खाता अनलाइन सिस्टमबाट खोल्न सकिन्छ । 

वायरलेस टेक्नोलोजीमा ट्रान्जेसन गरिरहँदा सेक्युरिटीको पनि कुरा आउँला । यसका लागि के तयारी गरिरहनु भएको छ ? 

यसलाई हामीले सरल तरिकाले हेर्नु पर्छ । यो एक्ट्रा सेक्युरिटी थ्रेड होइन । यो एउटा टेक्नोलोजी हो । कुनै पनि टेक्नोलोजीमा जोखिम जोडिएर आएको हुन्छ । जोखिम छ भनेर भाग्न खोज्ने भन्दा पनि त्यसको निराकरण गर्न तिर लाग्नु पर्छ । हिजो पनि चोरी हुन्थ्यो आज पनि भइरहन्छ । ठ्याक्कै बन्द त भएको छैन नि ? यसमा मेन भनेको डिपोजिटको पैसा हिनामिना हुन्छ की हुँदैन भनेर हेर्ने हो । यसमा आत्तिनु पर्ने स्थिति छैन ।

सेञ्चुरी बैंकले राम्रो इनभेष्ट दिन सकेनन् भन्ने गुनासो पनि छ ? यसमा के भन्नुहुन्छ ? 

कतिपय कारण हामी सुरुवाती दिनमा पछि पर्यौ । म आउँदा बैंकका धेरै आन्तरिक कुराहरू मिलाउनु पर्ने अवस्था थियो । यी कुराहरू विस्तारै मिलाउँदै गएको छु । यसमा मेरो मात्रै हात होइन सबैजनाको साथ र सहयोगले राम्रो सेटप बनाइसकेका छौं । विस्तारै सबैकुरा मिलिसकेको छ अब राम्रो गतिमा अगाडी बढ्छ । 


 

प्रतिक्रिया दिनुहोस