aarthiknews.com शुक्रबार, ०२ माघ २०७७   Friday, 15 January, 2021
 
tater Group

अर्बौं लगानीको नेपाली चिया विश्व बजारमा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, २९ पुस २०७७
अर्बौं लगानीको नेपाली चिया विश्व बजारमा
LBEF

काठमाडौं । इलामे चियाको सौन्दर्य देख्दा जति आकर्षक छ, पछिल्लो समय यसबाट हुने आम्दानी पनि बढ्दो छ । नेपाली व्यवसायीले गरेको अर्बौं लगानीको प्रतिफल स्वरुप अहिले चिया विश्वका थुप्रै मुलुकमा पुगेको छ । यसबाट अवसर र सम्भावना पनि उसैगरी झाँगिँदैछन् । हरियो चियाको गुणस्तर बढाउन किसान लागि परेका छन् भने उद्योगी लगानी थपेर पूर्वाधार तयार गर्न ।  

आफ्नै बलबुतामा इलामे अर्गानिक अर्थोडक्स चिया विश्वका लाखौं उपभोक्तासम्म पुर्याउन यहाँका उद्योगी–किसानले कसैको मुख ताकिरहनु परेको छैन । तर, चिया वगान र अन्य पूर्वाधार निर्माण गर्न व्यवसायीले अर्बौं लगानी गर्नु परेको छ ।

कुनै पनि कृषिउपज उपभोक्ताले जिब्रो पड्काउने स्वाद र त्यत्तिकै गुणस्तरको बनाउन थोरै मेहनत र बजेटले सायदै सम्भव होला । अझ नेपालमात्र नभई युरोप, अमेरिकालगायतका दर्जनौं बजारमा खोजी–खोजी बिक्री हुने कृषिउपज तयार गर्न यहाँका किसान–उद्योगीको संघर्ष धेरैका लागि अनुकरणीय बन्नसक्छ । र, यो वास्तविकता प्रत्यक्ष हेर्न जो–कोही इलाम आउनुपर्छ ।

भर्खरै नेपालको कृषिउपजमध्ये अर्थोडक्स तयारी चियाले सबैभन्दा पहिला विश्व बजारमा बिक्रीका लागि ट्रेडमार्क ९लोगो० पायो । चियालाई यो अवस्थामा ल्याउन इलामका पौरखी किसान र उद्योगीको भूमिका निकै महत्वपूर्ण छ । नेपाली अर्थोडक्स अर्गानिक चियालाई करिब शून्य अवस्थाबाट यहाँसम्म ल्याउन दिलोज्यान दिएर लागेका व्यक्तिमध्ये पहिलो नम्बरमै नाम आउँछ उद्योगी उदय चापागाईंको ।

झट्ट हेर्दा चापागाईं चिया उद्योगी हुन् । हरियो चिया प्रशोधन गर्न उनले सूर्योदय नगरपालिका–९, सुन्दरपानीमा ‘गोर्खा टी स्टेट’ सञ्चालन गरेका छन् । उद्योगवरिपरि एकछिन नियालेपछि अलि बढी थाहा हुन्छ, उनी उद्योगीमात्र होइन, किसान पनि हुन् । उनले ६ सय रोपनी आफ्नै जग्गामा चिया खेती गरेका छन् । तर, उनी यतिमात्रैमा पनि सीमित छैनन् ।

२०५७ सालअघि चापागाईं चियाको सामान्य व्यापारी थिए । २०४१ सालतिर जेसिजको माध्यमबाट जर्मनी घुम्न गएका बेला चियाका प्रसिद्ध व्यापारी थोमस होल्जसँग उनको सम्पर्क भयो । होल्जसँगको संगतले चापागाईंले नेपालको चिया जर्मनीलगायत अन्य देशमा बेच्ने मौका पाए । त्यतिबेला उनी तयारी चिया व्यापार गर्थे । यसैबाट आनासुकी जम्मा गर्थे, परिवार चलाउन थाले । सधैं उही दिनचर्या । केही न केही नयाँ काम गर्न खोज्दैथिए उनी । जर्मनीमै चिया बेच्न गएका बेला एकदिन उनको दिमागमा यस्तो उपाय ‘क्लिक’ भयो, जसले झन्डै डेढ दशकदेखि गरिआएको व्यापारको पेसालाई त्यतिमै सीमित राखेन, सफल उद्योगी र किसान पनि बनायो ।

जर्मनीको चिया बजारमा उनले भारतको चिया देखे, श्रीलंकाको देखे, चीनको देखे र नेपालको पनि देखे । फरक यति थियो, अरू देशको चियाले उनीहरूको देश चिनाउँथ्यो । तर, नेपालको चियाले व्यापारी र उद्योगीमात्रै । त्यतिमात्र होइन, दार्जिलिङमा ब्रिटिसले रोपेर उपहार दिएको, मार्केटिङ गरिदिएको चिया बेच्न जर्मनी पुगेका भारतीय व्यापारीले नेपाली संस्कृति देखाएर, कञ्चनजंघा हिमाल देखाएर, नेपालकै पञ्चैबाजा बजाएर, यहीको हावापानी वर्णन गरेर चियाको मार्केटिङ गरेको देख्दा उनलाई निकै खल्लो लाग्यो ।  

‘नेपालको चिया उच्च गुणस्तरको छ, दार्जिलिङकोभन्दा अझ राम्रो बन्नसक्छ भने यसका लागि आफू नै किन नलाग्ने रु त्यसै दिन म विश्वमा नामी चिया बनाउन सक्छु भन्ने प्रण गरें,’ उनले सम्झिए, ‘नेपालीले पनि आफैं उत्पादन गरेको चिया देश चिनाएर बेच्नसक्छ, त्यसका लागि हाम्रै तत्परता मात्र खाँचो छ भन्ने लाग्यो ।’

लगत्तै उनी नेपाल फर्किए । इलाममा अहिले ‘गोर्खा टी स्टेट’ भएकै ठाउँमा ३ सय रोपनी जग्गा किने । झापाबाट चियाका बिरुवा ल्याएर रोपे । विश्वमा चियाले नाम कमाएको दार्जिलिङबाट चियाको दक्ष प्राविधिक ९एसके प्रधान०लाई ल्याएर र चिया उत्पादनदेखि प्रशोधनसम्मका काम सिके ।  

बिरुवा रोपेको करिब ७ वर्षपछि उनले उद्योग नै स्थापना गरे । तर, वार्षिक डेढ लाख किलो तयारी चिया उत्पादन गर्ने उद्योगलाई आफ्नोमात्रै बगानले हरियोपत्ती पुगेन । उनले स्थानीय किसानलाई पनि सँगसँगै लैजाने निधो गरे । ‘त्यतिबेला कोही पनि किसान अर्गानिक चिया उत्पादनमा तत्पर भएनन् किनभने अर्गानिक चिया उत्पादन गर्न निकै खर्चिलो र झन्झटिलो थियो,’ चापागाईंले सम्झिए, ‘तर, किसानले अर्गानिक चियाको सम्भावना बुझेपछि सजिलो भयो ।’

उद्योगी चापागाईंले स्थानीय किसानलाई सहकारीमार्फत् चिया बिक्री गर्न सुझाए । नभन्दै, यहाँका किसानले सहकारी गठन गरे भने कोल्बुङ, बौद्धधाम र श्रीअन्तुका सहकारीमा आबद्धसमेत गरी ३ सय ११ किसानले उत्पादित  

हरियोपत्ती उनकै उद्योगमा प्रशोधनका लागि ल्याउने भए । ‘तर, किसानलाई दीर्घकालीन हिसाबले कसरी अर्गानिक चिया उत्पादनमा प्रोत्साहन गर्न सकिन्छ भन्ने मुख्य चुनौती थियो,’ उनले भने, ‘त्यसको उपाय पनि थियो तर लगानी गर्ने रकम थिएन ।’  

किसानलाई हरियोपत्ती उत्पादनमा सघाउने रकम नभएपछि उनले केही चिया व्यापारी विदेशी र जिआइजेडको सहयोगमा स्रोत जुटाए । जिआइजेडको ५० प्रतिशत, आफ्नै चिया किन्ने व्यापारीको ४० प्रतिशत र आफ्नो १० प्रतिशत रकम गरी करिब १ करोड रुपैयाँ जम्मा भएपछि उनले किसानलाई अनुदान दिए ।

किसानलाई १ सय २० वटा गाई वितरण गरे, भने १ सय २५ वटा गोबरग्याँस प्लान्ट निर्माण गरिदिए । ‘गाई भएपछि त्यसको मल चियामा प्रयोग हुन्छ, दूध किसानलाई आम्दानी हुन्छ र गोबरग्याँसले वातावरण संरक्षण हुन्छ भनेर यो अवधारणा ल्याइएको थियो,’ उनले भने, ‘एकातिर अर्गानिक चिया उत्पादन गर्न मल, अर्कोतर्फ किसानको आम्दानीसमेत बढ्ने भएपछि यो कार्यक्रम अभियानकै रूपमा चलाइयो ।’ जसको गाई थिएन, उसलाई गाई अनुदान दिए । गहुँत संकलन गर्न सिमेन्टको पोखरी बनाइदिए । पानी संकलन गर्ने ड्रम र स्प्रे मेसिन दिए । किसानले उत्साही भएर श्रमदान गर्दा ४० वटा गोठ बनाउने योजना गरिएकामा ८० वटा बनाउन सफल भएको उनले जनाए । अहिले पनि त्यतिबेलाका २ सय ८६ किसानले गोर्खा टीमा हरियोपत्ती प्रशोधनका लागि ल्याइरहेका छन् ।

चियामा गुणस्तर कायम भएपछि उनले उद्योग र किसानसमेतको चियालाई अन्तर्राष्ट्रिय मापदण्डको अर्गानिक प्रमाणीकरण गराए । किसानलाई चियाका दक्ष प्राविधिकबाट तालिम दिए । सुन्दरपानी, बौद्धधाम र कोल्बुङका चिया किसान प्रतिनिधिलाई उनले आफूले तयारी चिया बेच्ने जर्मनीको भ्रमण गराए ।  

‘मैले पैसा कमाउन उद्योग खोलेको थिएन र होइन पनि,’ उनले भने, ‘आफूले उत्पादन गरेको चिया उद्योगले कति रुपैयाँमा किनेर कति रुपैयाँमा बेच्दैछ भन्ने किसानलाई थाहा होस् भनेर उनीहरू स्वयंलाई व्यापारीसँग भेट गराइदिएको हुँ ।’

जिल्लाकै अरू बगानमा हरियो चियापत्तीको मूल्य किसानले प्रतिकिलो २० देखि ४५ ९नन् अर्गानिक० र ६० देखि ७५ ९अर्गानिक० रुपैयाँ पाइरहेका छन् । गोर्खाले भने किसानलाई प्रतिकिलो ९२ रुपैयाँ दिएको छ । र, जुन सहकारीमार्फत् हरियोपत्ती आउँछ, त्यो सहकारीलाई प्रतिकिलो ५ रुपैयाँ थपिदिएको छ । थपिएको ५ रुपैयाँबाट स्रोत जुटाएर सहकारीहरूले हरियो चियामा गुणस्तर कायम गर्न प्राविधिक राखेका छन् । अरू उद्योगी र किसानबीच हरियोपत्तीको विषयलाई लिएर हरेकजसो सिजनमा द्धन्द्ध भइरहेको छ । तर, गोर्खा टीमा आबद्ध किसान उद्योगसँग सहकार्य गरिरहेका छन् । ‘अर्गानिक हरियोपत्तीको प्रतिकिलो १ सय रुपैयाँ दिँदा पनि किसानको लगानी उठ्न त धौ धौ नै छ,’ उद्योगी चापागाईं भन्छन्, ‘तर, बाह्रैमास एउटै मूल्य पाउँदा किसानलाई पनि आफ्नो उत्पादन बेच्ने सहज छ, उत्पादनको बजार सुनिश्चित छ ।’

अहिले गोर्खा टी स्टेटको तयारी चिया जर्मनीका १ सय २५ सहरमा बिक्री हुनेगरेको चापागाईंले सुनाए । ‘उद्योगको हरेक वर्षको लेखापरीक्षण सार्वजनिक छ, कतिमा किनेको चिया कतिमा बेच्छु भन्ने सबै किसानलाई थाहा भएर नै उहाँहरूले विश्वास गर्नुभएको छ,’ चापागाईंले भने, ‘त्यसैले म यो उद्योग मेरोमात्रै भन्दिनँ, यो त हामी सबै किसानको उद्योग हो । हाम्रो सहकारी हो यो । चिया अर्गानिक बनाउने अभियान हो ।’

गोर्खा टी उद्योगसँगै प्रत्यक्ष–अप्रत्यक्ष सहयोग लिएर, सिको गरेर अर्गानिक चिया उत्पादन गर्ने, विश्व बजारमा पुर्‍याउने किसान–उद्योगी पनि जिल्लामा छन् । किसानको चिया अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त गुणस्तरको बनाउन गोर्खा टीले सेतुको काम गरिरहेको किसान दोर्जे लामा बताउँछन् । ‘किसानको मात्रै प्रयासले यहाँको चिया अर्गानिक प्रमाणीकरण हुने सम्भावना थिएन,’ । उनले भने, ‘उद्योगमार्फत् किसानलाई आफ्नो उत्पादन विश्वमा चिनाउने पहुँच बनाइदिएको छ ।’

गोर्खाले २०६७ सालपछि आफूसहित किसानको चिया अर्गानिक प्रमाणित गराएको हो । गोर्खा टीले बर्सेनि ७० हजार किलो हाराहारी तयारी अर्गानिक अर्थोडक्स चिया उत्पादन गरिरहेको छ । यहाँको उत्पादनको मुख्य बजार जर्मनी नै हो । जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्सलगायत देशका व्यापारी हरेक वर्ष तयारी चिया किन्न यहीँ आइपुग्छन् । यो वर्ष कोभिड–१९ का कारण चिया किन्ने व्यापारी आउन पाएनन् । तर, इमेलमार्फत् हजारौं किलो चिया माग गरिरहेको उनले बताए । ‘उच्च गुणस्तरको चियाको बजार विश्वमा सुनिश्चित छ,’ चापागाईं भन्छन्, ‘तर, चिया उत्पादन गर्ने भन्दैमा जस्तोसुकै बेचेर पैसामात्रै कमाउने उद्देश्य राख्नुहुँदैन, गुणस्तर कायम गरेर उद्योगीको विश्वास जित्न सक्नुपर्छ ।’ चियाको मापदण्ड र गुणस्तर कायम गरेकै कारण गोर्खाले भर्खरै प्रयोगमा आएको नेपाली ब्रान्ड ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’को लोगोसमेत पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस