aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

कहिले सञ्चालन हुन्छ रेल ?

  • रिता राउत
    रिता राउत
  • बुधबार, १५ पुस २०७७
Reliance life insurance
कहिले सञ्चालन हुन्छ रेल ?
Jagadamba
LBEF

काठमाडौं । रेल र पानी जहाजको कुरा आफ्ना हरेक मन्तव्यमा नछुटाउने प्रधानमन्त्री केपी शर्मा ओली आजकल अर्कै विषयमा केन्द्रित भएका छन् । यसले आम नेपालीमा के चिन्ता थपिएको छ भने पानी जहाज त ओलीको सपना मात्र थियो अब नेपाल आइसकेको रेल पनि चल्ला कि नचल्ला ?  

त्यसो त रेलको विषय ओलीको नयाँ कदमसँगै चर्चामा नआएको होइन । रक्सौलदेखि काठमाडौंसम्म ल्याउने भनिएको रेलमार्ग भारतको ‘आउटडेटेड’ ब्रोडगेजमा बनाउने वा विश्वभरि चलनमा रहेको स्ट्याण्डर्डगेजमा बनाउने भन्ने कुरा चर्चामा छ । आफ्नो असंवैधानिक कदममा भारतको समर्थन जुटाउन त्यसको डिपिआर भारतिय कै जिम्म लगाएको कुराले यसबिच चर्चा पाएको हो ।  

फेरि पनि तत्कालको चिन्ता चाँहि सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल चल्छ कि चल्दैन भन्ने नै हो । हुन त रेल विभागले माघभित्र नै रेल सञ्चालनमा ल्याइने  बताएको छ । तर, रेल गुड्ने कुरा पनि काठमाडौंमा मेलम्चीको पानी आउने जस्तै कथा बन्ने त होइन भन्ने पिर भने व्यप्त नै छ । 

अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एकदुई साताको तालीम आवश्यकपर्ने उनले जानकारी दिए । उनले भने, ‘तालिम सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।’   
 
भट्टराइका अनुसार रेल सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण संरचना १५ देखि २० दिनमा तयार हुनेछ । भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उनको भनाइ छ । कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उनले बताए ।     

कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुने छन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उनको भनाइ छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याएर काम अगाडी बढाउने उनले जानकारी दिए । 

रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ । नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले बताए । 
   
मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि विदेशी कर्मचारी नियुक्ति अघि बढाउन लागिएको हो । दुई सरकारबीचको सम्झौताबाट उनीहरुलाई ल्याउन लागिएको हो । उनले भने, ‘यताको कम्पनी र उताको कम्पनीबीच सम्झौता गरि ल्याउन लागिएको हो ।’
 
रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनकोसमेत अभाव भएकाले त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको छ । रेल्वेसम्बन्धी ऐन, २०२० पुरानो भएकाले नयाँ विधेयक संसद्मा छ । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवासबाट जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।   
  
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस