aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

पिप्लामोड–नागढुङ्गा-कलङ्की क्षेत्रमा बत्ती जडान गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ पुस २०७७
पिप्लामोड–नागढुङ्गा-कलङ्की क्षेत्रमा बत्ती जडान गरिने
NIBL

काठमाडौं ।चन्द्रागिरि नगरपालिकाले पिप्लामोड–नागढुङ्गा–सतुङ्गल– कलङ्की क्षेत्रमा ५०० सडक बत्ती जडान गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले सडक क्षेत्रमा हुने अपराधलाई रोक्नका लागि ५०० सडकबत्ती जडान गर्न लागेको हो । 

नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्रको मुख्य सडकमा सडक बत्ती जडानका लागि नगरपालिकाले रु एक करोड रकम विनियोजन गरेको जानकारी दिए । “चन्द्रागिरिले गत महिना राजमार्ग क्षेत्रमा ६८ सिसी क्यामरा जडान गरेको छ, आउने एक महिनामा सडक बत्ती जडानको काम सक्छौँ”, नगरप्रमुख गिरीले भने । 

चन्द्रागिरिले रु एक करोड लागतमा सिसी क्यामरा जडान गरेको हो । सिसी क्यामरा र सडक बत्ती जडानसँगै चन्द्रागिरिको राजमार्गमा हुने आपराधिक क्रियाकलाप कम हुँदै जाने विश्वास सो नगरपालिकाले लिएको छ । 

चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा छन् भने राजमार्ग क्षेत्रमा मात्र ११ वडा पर्दछन् । चन्द्रागिरि नगरपालिकाले केही दिन पहिले मात्र नगरपालिकाभित्र हुने आगलागी नियन्त्रणका लागि दमकल खरीद गर्नाका साथै बिरामी बोक्नका लागि एम्बुलेन्ससमेत खरीद गरेको छ । चन्द्रागिरिले रु ५२ लाखमा दमकल र रु १२ लाखमा एम्बुलेन्स खरीद गरेको हो । 

चन्द्रागिरिले सतुङ्गल–मातातीर्थ–चित्लाङ हुँदै हेटौँडा पुग्ने गणेशमान सिंह मार्गको चन्द्रागिरि नगरपालिकामा ढलानको काम तीव्र गतिमा अगाडि बढाएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । नगरपालिकाको विकासलाई उच्च प्राथमिकता दिएको सो नगरपालिकाले नगरपालिकाको भवन निर्माणसमेत अन्तिम चरणमा पु¥याएको छ । यस्तै जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा नेपालकै पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग चन्द्रागिरिमा निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस