aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

तालतलैया क्षेत्रमा वाटर पार्क, ४० करोड लगानी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०६ पुस २०७७
Reliance life insurance
तालतलैया क्षेत्रमा वाटर पार्क, ४० करोड लगानी
Jagadamba
LBEF

विराटनगर । पूर्वको प्रसिद्ध वनभोज स्थल सुनसरीका इटहरी–२, तालतलैया क्षेत्रमा ४० करोड रुपियाँको लगानीमा पूर्वकै पहिलो वाटर पार्क निर्माण गरिएको छ । चार जनाको समूहिक लगानीमा छ बिघा क्षेत्रफलमा यीपी ल्यान्ड एन्ड वाटर पार्क निर्माण गरिएको हो ।

पार्कको औपचारिक शुभारम्भ आगामी फागुन महिनामा गरिने भएको छ । नेपाल प्रहरी पूर्वएआईजी कृष्ण बस्नेत तथा पूर्वडीआईजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौंको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पर्यटकीय क्षेत्र तालतलैयामा पार्क निर्माण गरिएको हो ।

पार्कका सञ्चालक विनोद पौडेलले कोभिड–१९ को जोखिम र बन्दाबन्दीका कारण गत चैतमा नै निर्माण सकेर वैशाखदेखि सञ्चालनमा ल्याउने तयारीमा रहेको पार्कमा आवश्यक थप संरचना तयार गरेर आगामी फागुनदेखि सञ्चालनमा ल्याउने बताए । पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठवटा राखिएका छन् । एक स्लाइडमा एकपटकमा बढीमा आठ जनाले खेल्नसक्ने र दैनिक पाँच हजारले यसको रमाइलो लिनसक्ने पौडेलले बताए । 

खासगरी सुनसरीको वराह क्षेत्रमा आउने भारतीय पर्यटकलाई लक्षित गर्दै पार्कभित्रै चारवटा रेस्टुराँसहित एकैपटक छ सय मानिस अटाउने एक वेभ पुलसमेतको सुविधा राखिएको छ । समुद्रको छालमा बसेकोजस्तो आनन्द लिने अवसर विदेशीसँगै स्वदेशीले लिनसक्ने पौडेलको भनाइ छ । “पार्कको अर्को महत्वपूर्ण विशेषता जुरासिक पार्क हो । बोटिङ गर्न र बोटिङ गर्दै डाइनोसरलगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्ने सुविधा छ,” सञ्चालक पौडेलको भनाइ छ ।

पार्कभित्र चारवटा छुट्टाछुट्टै रेस्टुरेन्ट सञ्चालनमा आउने छन् । एउटा बार्बे क्यु र अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिने छ । त्यस्तै फास्टफुडका लागि अर्को रेस्टुरेन्टसमेत बनाइएको छ । भारतीय आगन्तुकलाई केन्द्रित गरेर इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि तयार भइसकेका पौडेलले जानकारी दिनुभयो । पार्कमा जिपलाइन खेलको सुविधासमेत राखिएको छ ।

इटहरीलाई केन्द्रमा पारेर मोरङको सुन्दरहरैँचामा हाल गोकुलम् पार्क र गोकर्ण पार्क सञ्चालनमा रहेका छन् । त्यसबाहेक इटहरीमै ओसियन पार्कसमेत सञ्चालनमा छ । पुराना पार्कको सौन्दर्य र त्यहाँ घुम्न आउनेको रुचिका आधारमा वाटर वनभोज क्षेत्रमा वाटर पार्क सञ्चालनमा ल्याइएको छ तर पौडेलले भने पुराना तीन पार्कमा वनभोज खानेको सङ्ख्या धेरै भए पनि नयाँ पार्कमा प्रवेश गर्नेले त्यहीका विभिन्न भेराइटीका रेस्टुरेन्टका परिकार खानुपर्ने हुन्छ । 

पार्कभित्र विकेन्द्रित रेस्टुरेन्टको सुविधाले उपलब्ध गराउने भएकाले खाने र पिउने सामग्रीका स्टल ठाउँठाउँमा राखिने छन् । घुम्दै र खानपिनको मज्जा लिँदै आगन्तुकले आनन्द लिन पाउने सुविधा दिइने पौडेलले बताए । दैनिक पाँच सयले अवलोकन गर्ने लक्ष्य राखिएको पार्क सञ्चालनमा आएसँगै ६० जनालाई रोजगारी दिइने भएको छ । रोजगारका लागि जनशक्ति अहिले तयार पार्ने काम भइरहेको पौडेलले बताउनुभयो । पार्कको क्षमता भने दैनिक पाँच हजारको रहेको छ ।

प्रतिक्रिया दिनुहोस