aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

गहुँ र मकैको पनि समर्थन मूल्य तोक्ने तयारी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २२ मंसिर २०७७
Reliance life insurance
गहुँ र मकैको पनि समर्थन मूल्य तोक्ने तयारी
Jagadamba
LBEF

सिरहा । धानको न्यूनतम समर्थन मूल्य तोक्दा त्यसको सकारात्मक परिणाम देखिएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गहुँ र मकैको समर्थन मूल्य तोकेर त्यसलाई खरिद गर्ने नीति बनाइरहेको छ । त्यसैअनुरूप गहुँ र मकै लगाउनु पहिले नै न्यूनतम समर्थन मूल्य तोक्ने तयारी मन्त्रालयले गरिरहेको छ ।

कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले गहुँ र मकैको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी भइरहेको र मङ्सिरको अन्तिम अथवा पुसको पहिलो हप्ताभित्र मूल्य घोषणा गरिने बताउनुभयो । उहाँले किसानले उत्पादन गरेको वस्तु बिक्री नभए सरकारले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ भन्ने नीतिअन्तर्गत तोकिएको समर्थन मूल्यअनुसार सो वस्तु खरिद गरिने जानकारी दिए ।

धानको न्यूतनमत समर्थन मूल्य तोकेर बिक्री हुन नसकेको धान सहकारीमार्फत खरिद गर्ने काम जारी रहेको र यसबाट किसान निकै खुसी भएको बताउँदै मन्त्रालयका सचिव योगेन्द्र कार्कीले धानजस्तै गहुँ, मकैलगायतका वस्तु पनि खरिद गर्ने तयारी भइरहेको बताए । उनले भने, “सरकारले किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने समग्रमा एउटा नीति बनाउन लागेको छ र सोहीअनुसार बिक्री नभएका वस्तु सरकारले खरिद गर्नेछ । ”

किसानको बचत सुनिश्चित हुनुपर्छ भन्ने कुरामा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले किसानले मिहिनेत गरेपछि बचत भएन भने कृषिबाट पलायन हुनसक्ने भएकाले बचत सुनिश्चित गर्न सरकार नीति निर्माणमा लागेको बताए । 

समर्थन मूल्य तोकेअनुसार व्यापारीले खरिद गर्न नमानेपछि सरकारले नै सो वस्तु खरिद गर्ने र त्यसरी खरिद गरेपछि किसानलाई स्वतः बचत हुने मन्त्रालयले दाबी गरेको छ । गहुँको मूल्य गत साल पनि तोकिएको थियो तर सरकारले नै खरिद गर्ने नीति बनाएको थिएन । मकैको मूल्य प्रथमपटक तोकिन लागेको हो । विभिन्न जिल्लाबाट लागत खर्च तथा अन्य विषयमा अध्ययन भइरहेको र दिनमा त्यसलाई पूर्णता दिई मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याउने सचिव कार्कीले बताए ।

गत वर्ष गहुँको प्रतिक्विन्टल तीन हजार १५ रुपियाँ मूल्य तोकिएको थियो । यसपटक पनि त्यसैको सेरोफेरोमा हुने तयारी भइरहेको प्रवक्ता केसीले बताउनुभयो । कोरोनाका कारण विभिन्न सामग्रीको मूल्यमा वृद्धि भइरहेको हुनाले गहुँको लागत खर्च बढ्ने हो कि अनुमान गरिएको छ । त्यसलाई आधार मानेर पनि छलफल भइरहेको उहाँले जानकारी दिए ।

गत वर्ष उत्पादन लागत दुई हजार ३१९ रुपियाँ ४९ पैसा, ढुवानी खर्च २३१ रुपियाँ ९५ पैसा र किसानलाई नाफा ४६३ रुपियाँ ९० पैसासहित तीन हजार १५ रुपियाँ ३४ पैसा समर्थन मूल्य तोकिएको थियो । यसपटक कति गर्ने त्यसमा अध्ययन भइरहेको उहाँले जानकारी दिए ।

उत्पादन हुनुभन्दा पहिले नै मूल्य तोक्यो भने किसान बाली लगाउन उत्साहित हुने बताउँदै उहाँले बिस्तारै हरेक बालीको बाली लगाउनुपूर्व नै मूल्य तोक्ने नीति सरकारले बनाइरहेको बताए ।

गत वर्ष २० लाख मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यसपालि गहुँ उत्पादन वृद्धि हुने बताइएको छ । कोरोनाका कारण गहुँ खेतीमा वृद्धि भएको बताइएको छ । धान, मकै, गहुँलगायतको बीउमा अनुदान दिन सङ्घीय सरकारले २० करोड रुपियाँ छुट्याएको छ । त्यसमध्ये पाँच करोड गहुँका लागि छुट्याएको छ ।

गहुँको खेती सबैभन्दा बढी प्रदेश २ मा हुने गरेको छ । उक्त प्रदेशका आठ जिल्लाका लागि पाँच करोड रुपियाँ अनुदान वितरण हुने बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस