aarthiknews.com विहीबार, १५ असोज २०७७   Thursday, 01 October, 2020
 
Bajaj_Bike
Tasen
अमेरिका–चीन व्यापार युद्ध

सबैभन्दा मारमा अमेरिकी श्रमिक वर्ग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
सबैभन्दा मारमा अमेरिकी श्रमिक वर्ग
LBEF

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकको हित रक्षा गर्ने विश्वासका साथ शुरु गरेको चीनसँगको व्यापार युद्ध अन्ततः स्वयम् अमेरिकाकै लागि घातक हुने देखिएको छ । अब यो शृंखला अमेरिका–चीन सम्बन्धको एक विशेषताको रुपमा नै स्थापित हुने लक्षण देखापर्न थालेका छन् । 

यस्तो अनुमान किन पनि गर्न सकिन्छ भने दुवै मुलुकका राष्ट्रपतिको कार्यशैली र कार्यसम्पादन पद्दति हालको द्वन्द्वको प्रमुख करणको रुपमा रहेको प्रष्ट छ, जहाँ व्यापारको विषय वास्तबमा गौण हो ।

वर्तमान विवादको सिलसिला अध्ययन गर्दा देखिन्छ कि अमेरिकी पक्षको अनावश्यक दबाब र चिनियाँहरुको कडा प्रत्युत्तरको एउटा लामो चरण यो व्यापार युद्धले पार गरिसकेको छ । ट्रम्पले सन् २०११ देखि नै चीनलाई मुख्य सत्रुका रुपमा प्रस्तुत गर्दै आएका थिए । त्यसैबेला उनी भन्थे–‘यदि म राष्ट्रपति भए भने चीनलाई पछि  धकेल्न कुनै कसर बाँकी राख्दैन । अहिले उनी त्यही गरिरहेका छन् । 

ट्रम्पले तीन सय बिलियन डलर बराबरको चिनियाँ वस्तु आयातमा २५ प्रतिशत भन्सार कर लगाउने निर्णय गरेसँगै चीनको प्रतिष्ठित हुवावे कम्पनीलाई कालोसूचीमा राख्यो । अमेरिका हुवावेले विकास गरेको ‘फाइभ जी’ सँग मात्र होइन कि अन्य धेरै चिनियाँ उत्पादन र प्रविधिका कारण आत्तिएको देखिन्छ । 

ट्रम्पको शैली हेर्दा उनी आक्रामक व्यापारको लागि पहिले प्रतिस्पर्धीलाई धम्क्याउने, सम्झौताको वातावरण बन्नै नदिने, पछि हट्दै नहट्ने र अन्त्यमा जितेरै छाड्ने देखिन्छ । उनका पूर्ववर्तीले जस्तो समझदारीको गुन्जायस ट्रम्प प्रशासनमा अलिकति पनि छैन । तर, उनको निसाना किन सफल भइरहेको छैन भने चीन सदियौदेखि बलिया र निकृष्ठ सत्रुहरुसँग जुध्दै र परास्त गर्दै आएको मुलुक हो । राष्ट्रिय स्वाभिमानको सवालमा हत्पत सम्झौता गर्दैन । 
त्यसो त शितयुद्धको नयाँ स्वरुपमा व्यापार युद्धलाई परिभाषित गर्न अमेरिकाले थालिसकेको छ । माइक पोम्पेले त भनिनै सके, हुवावेसँगको संघर्ष भनेको इन्टरनेटको दुनियाँमा कम्युनिष्ट मान्यताले शासन गर्ने या पश्चिमी मूल्यको बर्चश्व रहने भन्ने नै हो । चीनले अमेरिकी डिस्र्कोसको जवाफ दिँदै व्यापार युद्धलाई नयाँ लङ्ग मार्च (लामो यात्रा) भन्दै चीनको आर्थिक विकासको बाटोको रक्षा आफ्नो प्रमुख स्वार्थ भएको घोषणा गरिसकेको छ । 

यसले के स्पष्ट पारिसकेको छ भने चीन अहिले जुन बाटोमा छ त्यसबाट थोरै पनि हट्ने सम्भावना छैन् । बरु उल्टै व्यापारिक लेनदेनको पारिस्पारिक स्वार्थ अघि बढाएर जापान र कोरियाजस्ता अमेरिकाकै नजिकका मित्रहरुलाई आफुतिर तान्ने प्रयत्नमा लागेको छ । 

फेरि पनि के चाहिँ स्वीकार गर्नैपर्छ भने अमेरिकाले थालेको व्यापार युद्धले चीनलाई ठूलै आर्थिक नोक्सानी हुनेछ । तर, अमेरिकी अर्थतन्त्र पनि कम समस्यामा पर्ने छैन । अन्ततः अमेरिकाले नै बढी क्षति बेहोर्नुपर्ने देखिन्छ । अहिलेको व्यापार युद्ध नितान्त प्राविधिक विषयमा मात्रै होइन् । न त अमेरिकाले उठाउँदै गरेको श्रमिकको अधिकार र चीनले अपनाएको अमेरिकी भटमास नकिन्ने नीतिमै सीमित रहन्छ । यसमा बहुआयामिक विषयहरु छन् । यो युद्ध एकले जित्ने र अर्कोले हार्नेमा टुंगिने अवस्था छँदै छैन । बरु अमेरिकन श्रमजीवी जनता अवश्य नै यसबाट प्रताडित बन्नेछन् । 
भन्नलाई त डोनाल्ड ट्रम्प भन्ने गर्छन्, मैले अमेरिकन मजदूर वर्गकै हितको लागि यस्ता कदम चालिरहेको छु । तर, प्रश्न के हो भने कसरी भन्सार वृद्धिले श्रमिक वर्गलाई लाभ पुग्छ ? अन्तर्राष्ट्रिय राजनीति अर्थशास्त्रका जो कोही अध्येता यो कुरामा सहमत हुनैपर्छ कि भन्सार कर बृद्धिले अमेरिकाको आन्तरिक अर्थतन्त्र कमजोर पार्नेमा कुनै शंका छैन् । 

सैद्धान्तिक रुपले भन्नुपर्दा भन्सार कर वृद्धिको उद्देश्य घरेलु उद्योगलाई सहयोग पुर्याउनु नै हो । तर के आजको विश्वमा बाह्य मुलुकबाट कच्चा पदार्थ आयात नगरी कुनै मुलुकमा ठूला उद्योग सञ्चालन सम्भव छ ? यदि छैन भने बढेको भन्सार करले कच्चा पदार्थकै मुल्य वृद्धि गरिसकेपछि घरेलु उत्पादनकै पनि मूल्य वृद्धि हुदैन ? 
कतिपय ठूला उद्योगहरुजस्तै स्टिल कम्पनीहरुको रक्षाका लागि आयातित वस्तुमा कर बढाउनुले आम मानिसको जनजीवनमा त्यति ठूलो प्रभाव नपार्ला  । तर, घरेलु प्रयोगका विद्युतीय उपकरणदेखि लिएर जुत्ता र पोशाकसम्ममा कर वृद्धि गर्दा त्यहाँका काम गरी खाने वर्गमा यसको प्रत्यक्ष असर पर्छ । सीमित आय भएका मजदूर वर्गले चरम आर्थिक अभावको सामना गर्नुपर्ने स्थिति निश्चित रुपमा आउँछ । 

खाना, लत्ताकपडा लगायतका वस्तुमा श्रमिक वर्गले गर्ने खर्च उनीहरुको कुल खर्चको प्रमुख हिस्सा हुन्छ । अमेरिकामा आधारभूत वस्तुको खपतको लगभग ८० प्रतिशत हिस्सा आयातित वस्तुले ओगटेको देखाउँछ । यसले स्पष्ट पार्ने कुरा यहि हो कि निम्न वर्गले उपयोग गर्ने समानमा ट्रम्पको नीतिले मूल्य वृद्धि गर्छ । अनि मारमा चाहिँ गरिखाने वर्गनै पर्छन् । 

दैनिक उपभोग्य वस्तुबाहेक त्यहीका कम्पनीहरुले उत्पादन गर्ने सामग्रीको समेत भन्सार दरका कारण मूल्य वृद्धि हुने निश्चित छ । अमेरिकाले बाह्य विश्वसँग गर्दै आइरहेको व्यापारमा समेत त्यसको असर पर्छ नै । अमेरिकाका कृषिजन्य उत्पादनको दोस्रो ठूलो उपभोगकर्ता मुलुक चीन हो । यो कुरालाई मध्यनजर गर्दै अमेरिकी कृषिजन्य उत्पादनको प्रयोगमा कटौती गर्न थालिसकेको छ । उसले अमेरिकी भटमास, मकै, कुखुराको मासु र बिफको प्रयोग घटाइसकेको छ । यसको प्रत्यक्ष असर फेरि पनि अमेरिकन किसानलाई नै पर्ने हो । अनि सबैभन्दा बढी प्रताडित हुने कृषि मजदुरहरु हुन् । सायद अर्बपति व्यापारी ट्रम्पले यो विषयमा ध्यान दिएका छैनन् । जो एक नम्बरका हठि र मुडीका रुपमा विश्वभर परिचित छन् ।
 

प्रतिक्रिया दिनुहोस