कर्जा लिन पुग्नेलाई कर्मचारीले भन्न थाले, ‘साउन लागेपछि आउनुहोस्’ - Aarthiknews
aarthiknews.com सोमबार, ०२ मंसिर २०७६   Monday, 18 November, 2019
 
Bajaj_Bike
बैंकहरुमा असार मसान्तको प्रभाव

कर्जा लिन पुग्नेलाई कर्मचारीले भन्न थाले, ‘साउन लागेपछि आउनुहोस्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
Sunrise bank
कर्जा लिन पुग्नेलाई कर्मचारीले भन्न थाले, ‘साउन लागेपछि आउनुहोस्’
LBEF
NCH-IPS

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा असार मसान्तको प्रभाव देखिन थालिसकेको छ । आक्रमक रुपमा कर्जा विस्तार गर्दै आएका ती संस्थाहरुले असार महिनाभरी कर्जा लगानीलाई भन्दा साँवा ब्याज असुलीलाई प्रथमिकता दिन थालेका छन् । ऋण लिन बैंक पुग्ने ग्राहकलाई बैंकका कर्मचारीले साउन लागेपछि सम्पर्क गर्न अनुरोध गर्न थालेका छन् ।

किसानलाई साउनमा रोपेको धान कात्तिक–मंसिरमा भित्र्याउने चटारोमा भएजस्तै बैंक तथा वित्तीय संस्थका कर्मचारी साँवा ब्याज उठाउने चटारोमा छन् । आर्थिक वर्षको अन्त्य हुन लागेकाले पनि बैंकहरुले अहिले लगानीभन्दा असुलीलाई प्राथमिकता दिन थालेका छन् ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) नाघेका वाणिज्य बैंकलाई कारबाही गर्ने चेतावनी दिएपछि कारबाहीबाट बच्न ती बैंकहरुले कर्जा लगानी ठप्प पारेका हुन् । केही बैंकहरुले कर्जा–निक्षेप अनुपातको ख्याल नै नगरी आक्रमक रुपमा कर्जा लगानी गरेको भन्दै केन्द्रीय बैंकले कारबाही गर्ने चेतावनी दिएपछि ती बैंकहरुले आर्थिक वर्षको अन्त्य हुनु अघि नै कर्जा लगानी कम गर्दै आएका छन् ।

२८ वाणिज्य बैंकले जेठको दोस्रो सातासम्म निक्षेप २७ खर्ब ४३ अर्ब संकलन गरेर  २४ खर्ब ५९ अर्ब ऋण लगानी गरेका छन् । राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थालाई बेवास्ता गर्दै केही बैंकहरुले आक्रमक रुपमा कर्जा प्रवाह गर्न थालेपछि सीसीडी रेसियोभित्र रहन राष्ट्र बैंकले चेतवनी दिँदै आएको छ ।

केन्द्रीय बैंकले प्रत्येक त्रैमासमा पनि सीसीडी रेसियो कायम गर्न वाणिज्य बैंकलाई निर्देशन दिँदै आएको छ । तर, आर्थिक वर्षको अन्त्यमा भने उक्त प्रवधान कडा रुपमा पालना नगर्ने वाणिज्य बैंकहरुलाई कारबाही हुने भएको छ ।

यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले केही वाणिज्य बैंकको सीसीडी रेसियो नाघेको भन्दै कारबाही चेतावनी दिएका थिए ।

केही समय अघि केन्द्रीय बैंकको सुपरीवेक्षण विभागले एक दर्जन बैंकको ऋण लगानी सम्बन्धमा अनुसन्धान गरेको थियो । तीमध्ये केहीले  जथाभावी ऋण लगानी गरेको निष्कर्ष निकालेको थियो ।

‘१२ वटा वाणिज्य बैंकमा सुक्ष्म अनुसन्धान गर्यौ, तीमध्ये केहीले कर्जा लगानीमा जथाभावी गरेको देखियो, अहिले माफी मागेका छन्’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने–‘तिनीहरुले चालू आवको अन्त्यमा पनि सीसीडी रेसियो कायम नराखे कारबाही हुन्छ ।’

कारबाहीबाट बच्न पनि बैंकरहरु पनि सीसीडी रेसियो घटाउने तयारीमा लागेका छन् । सीसीडी रेसियो कायम नहुँदा जोखिम बढ्छ । बैंकहरु डुब्छन् । जनताको पैसा पनि डुब्छ । त्यसकारण पनि केन्द्रीय बैंक उक्त व्यवस्था कडाइका साथ लागू गर्ने भएको हो ।

राष्ट्र बैंकले सीसीडी रेसियो कायम नगर्ने बैंकहरुलाई आक्रामक रुपमा कर्जा लगानी नगर्न निर्देशन दिएको छ । ‘बैंकहरुलाई आक्रामक रुपमा कर्जा लगानी नगर्न भनेका छौं, कर्जा लगानी घटाउन निर्देशन दिएका छौं,’ केन्द्रीय बैंकका ती अधिकारीले भने । 

सीसीडी रेसियो ८० प्रतिशतभन्दा बढी भएकाले उक्त प्रतिशतलाई तल झार्न पनि कर्जा प्रवाह रोक्नुपर्ने अवस्था भएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘विगतका वर्षमा पनि बैंकहरुले असारमा खासै ऋण लगानी गर्दैनन्,’ उनले भने–‘ अहिले पनि असारमा त्यसै गर्दैछन् र बैंकहरुलाई सीसीडी रेसियो कायम गर्नुपर्ने बाध्यता छ ।’

बैंक तथा वित्तीय संस्थाहरु ट्र्याकबाट बाहिर जान नपाउन भन्ने उद्देश्यले सीसीडी रेसियोको व्यवस्था गरिएको हो । सीसीडी रेसियोलाई लगामको रुपमा लिने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस