aarthiknews.com मंगलबार, १६ मंसिर २०७७   Tuesday, 01 December, 2020
 
BOK

घट्यो बैंकहरुको नाफा, खुम्चियो लाभांश, कुन बैंकको वित्तीय अवस्था कस्तो ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, ०७ मंसिर २०७७
घट्यो बैंकहरुको नाफा, खुम्चियो लाभांश, कुन बैंकको वित्तीय अवस्था कस्तो ?
LBEF
Nabil Bank

काठमाडौं । मलुकमा कोरोना सङ्क्रमण सुरु भएयता सुस्ताएको अर्थतन्त्रसँगै बैंकहरू पनि सुस्त रहँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकको नाफामा सङ्कुचन आएको छ । कोरोना सङ्क्रमणकै कारण व्यवसाय विस्तारमा असर पर्नुका साथै पर्याप्त कर्जाको माग नआउँदा बैंकहरूको नाफा र लगानीकर्ताले पाउने लाभांशमा पनि कमी आएको छ ।

कोरोना कहरकै कारण चालू आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्ममा वाणिज्य बैंकहरूको नाफा घट्दा वितरणयोग्य नाफा ५४.४१ प्रतिशत अर्थात् साढे चार अर्ब रुपियाँले घटेको छ । यो अवधिमा २७ वाणिज्य बैंकले तीन अर्ब ७६ करोड रुपियाँ वितरणयोग्य नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्षको २०७६/७७ को पहिलो त्रैमासको तुलनामा ५४.४१ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा बैंकहरूले आठ अर्ब २६ करोड रुपियाँ वितरणयोग्य नाफा गरेका थिए ।

कोरोना कहरका बीच पनि जनता बैंकसँग मर्जर गरेकाले ग्लोबल आईएमई बैंकले भने अधिकांश वित्तीय सूचक मजबुत बनाएको छ भने नाफा, चुक्ता पुँजीलगायतमा ग्लोबल आईएमई, प्राइम, एनएमबी, मेगालगायतका बैंकको ठूला संस्था मर्ज तथा एक्विजिसन गरेका कारण पनि धेरै वृद्धि देखिएको छ ।

एनआईसी एसिया बैंक नाफा विस्तारमा अगाडि छ भने नबिल बैङ्कको भने नाफा आर्जनमा अघिल्लो वर्षको तुलनामा सङ्कुचन आएको छ । अघिल्लो वर्ष नाफा आर्जनमा अघि रहेका राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट, नेपाल बैंक, एभरेस्ट, हिमालयनलगायत पुराना बैंक पनि सुस्ताएका छन् ।

गत वर्ष मात्रै कैलाश विकास बैंकसँग मर्जर सम्पन्न गरेको प्राइम बैंक, किस्ट बैंक, ग्रान्ड बैंक र प्रभु फाइनान्स मिलाएर बनेको प्रभु बैंकको उपस्थिति पनि राम्रो देखिएको छ । पहिलो पाँचको सूचीमा रहँदै आएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा घट्दा यसपटक पहिलो पाँचमा परेन । विकास बैंकहरूलाई मर्जर गराएको एनएमबी बैंकको नाफाको वृद्धि दर पनि उच्च देखिएको छ । गत वर्षको सोही अवधिको तुलनामा एनएमबी बैंकको नाफा १६८.६५ प्रतिशतले बढेको छ ।

उच्च नाफा आर्जन गर्ने पहिलो पाँच बैंकको सूचीमा रहेकामध्ये ग्लोबल आईएमई बैंकले एक अर्ब पाँच करोड ८८ लाख, नबिल बैंकले एक अर्ब तीन करोड ५७ लाख, एनआईसी एसिया बैंकले एक अर्ब दुई करोड १० लाख, प्राइम कमर्सियल बैंकले एक अर्ब एक करोड ७६ लाख र प्रभु बैंकले ८५ करोड रुपियाँ नाफा आर्जन गरेका छन् ।

चालू आवको पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा नाफा बढाउने बैंकहरूमा ग्लोबल, एनआईसी एसिया, प्राइम, प्रभु र एनएमबीका अतिरिक्त मेगा, कुमारी, नेपाल बङ्गलादेश बैंक र सिटीजन्स बैंक रहेका छन् । सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकमा सिभिल, एसबीआई, सेन्चुरी, बैंक अफ काठमाण्डू र लक्ष्मी बैंक रहेका छन् ।

धेरैको लाभांशमा पनि कमी
एनआईसी एसिया बैंकले कोरोना महामारीको विषम परिस्थितिमा समेत कर्जा असुलीमा गत वर्ष अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई पहिलो त्रैमाससम्म ०.४० प्रतिशतमा झारेको दाबी गर्दै आव २०७६÷७७ का लागि २० प्रतिशत लाभांश प्रस्ताव ग¥यो ।

बैंकको आगामी मङ्सिर २१ गते हुने २३औँ वार्षिक साधारण सभाले स्वीकृत गरेपछि वितरण हुने जनाएको बैंकले चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा एक प्रतिशतले मुनाफा वृद्धि गरी एक अर्ब दुई करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

यस्तै ग्लोबल आईएमई बैंकले १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट १४ प्रतिशत बोनस र करसहित २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष बैंकले १२.७५ प्रतिशत बोनस र १२।७५ प्रतिशत नगद गरी २५.५ प्रतिशत लाभांश वितरण
गरेको थियो ।

सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश दिने भएको छ । यता नेपाल एसबीआई बैङ्कले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद (कर प्रयोजनका लागिसमेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश अघिल्लो आव २०७५/७६ को तुलनामा कम हो तर बोनस दर भने बराबर रहेको छ । बैंकले उक्त वर्षको नाफाबाट सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश (६ प्रतिशत बोनस र १०.८४ प्रतिशत नगद) वितरण गरेको थियो ।

माछापुच्छ्रेको ७.०३ बोनस र ३।३७ प्रतिशत नगद रहेको छ । लाभांश घोषणा गरेका अन्य बैंकमा बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगदसहित १६ प्रतिशत, कुमारी बैंकले १० प्रतिशत र ४ प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश घोषणा गरिसकेका छन् ।

सिटिजन्स बैंकले ७.७ प्रतिशत बोनस र ३.३ नगदसहित ११ प्रतिशत लाभांश घोषणा गरेको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिमा कोभिडका कारण बैंक तथा वित्तीय संस्थालाई नगद लाभांशमा कडाइ गरेर बोनस सेयर बाँड्ने नीति लिएको थियो । कुल लाभांशमा बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म मात्र नगद लाभांश दिन सक्छन् ।

कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यो भने पछिल्लो तीन वर्षयताकै उच्च हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले आव २०७५/७६, आव २०७४/७५ र आव २०७३/७४ को नाफाबाट क्रमशः १०.५२, ८.५ र १२.७५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले तीन वर्षपछि पहिलोपटक बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले पुँजी वृद्धिका लागि तीन वर्षअघि १०० प्रतिशत बोनस सेयर दिएपछि पछिल्ला दुई वर्ष नगद लाभांश वितरण गरिरहेको थियो ।

बैंकले गत वर्षको नाफाबाट ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा सङ्कुचन आएको हो । बैङ्कले अघिल्लो आव २०७५/७६ को नाफाबाट २२.५ प्रतिशत नगद लाभांश दिएको थियो भने २०७४/७५ को नाफाबाट प्रतिसेयर १७.५० प्रतिशत नगद
लाभांश दिएको थियो ।

एभरेस्ट बैंकले पनि लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन अघिल्लो वर्षको भन्दा कमी हो । बैंकले ५.५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी जम्मा १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत गरेर ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकिङविज्ञ अनलराज भट्टराई गत वर्ष फागुन मसान्तपछि अहिलेको अवस्थालाई हेर्दा कोरोनाको असर मुख्य रहेको बताउँछन् । लामो समय व्यवसाय ठप्प रह्यो । लकडाउन, निषेधाज्ञाको असर पनि रह्यो, उनी अगाडि भन्छन्, “यसमा संसारभरकै केन्द्रीय बैंकले पुरानो साधारण अवस्थामा हुने र अहिलेको खराब परिस्थितिलाई मूल्याङ्कन गरेर विभिन्न किसिमले नियम परिवर्तन गरे । त्यो परिवर्तन गरेका कारण बैंक तथा वित्तीय संस्थाको स्थायित्वमा सकारात्मक प्रभाव पर्यो । ”  

प्रतिक्रिया दिनुहोस