aarthiknews.com मंगलबार, १६ मंसिर २०७७   Tuesday, 01 December, 2020
 
BOK

‘स्टार्ट अपहरूले यसो गरे व्यवसायमा सफलता पाउँन सकिन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ मंसिर २०७७
‘स्टार्ट अपहरूले यसो गरे व्यवसायमा सफलता पाउँन सकिन्छ’
LBEF
Nabil Bank

कोभिडको कारणले समग्र अर्थतन्त्रमा विश्वव्यापी रुपमा नकारात्मक असर परिरहेको छ ।  रोजगारीको अवसरमा संकुचन आएको छ भने अर्को तर्फ  समग आपूर्ति व्यवस्थालाई पनि असर पारेको  छ । कोभिड १९ ले खाली चुनौती मात्र होइन अवसर पनिसँगै प्रदान गरेको छ । यही अवसरको पहिचान गरेर नयाँ व्यवसाय सुरु गर्न सकियो भने सफलता हात पार्न सकिन्छ भन्ने कुरामा दुईमत छैन । हाल नेपालमा पनि एकातर्फ  संचालनमा रहेको कतिपय व्यवसाय बन्द हुने क्रममा  छन भने अर्को  तर्फ नयाँ सोच र नयाँ तरिकाले व्यवसाय सुरु हुने क्रम बढेको छ । 

यहि बन्दाबन्दीको  समयमा पनि कम्पनी  र उद्योग दर्ता गर्ने क्रम बढेको छ । गाउँघरमा कृषिमा आधारित उत्पादन र प्रशोधनमा उधोगहरू स्थापना गर्ने क्रम पनि शुरु भएको छ । विदेशबाट फर्केकाहरू पनि अब आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने सोचका साथ आगाडी आइरहेका छन । नयाँ व्यवसाय शुरु, र स्टार्ट अपहरूको लागि यो उपयुक्त्त समय पनी हुन् सक्छ ।

हाम्रो जस्तो देशको लागि जहाँ बार्षिक थप पाच लाख लाई रोजगारी सृजना गर्नु छ भने अर्को तर्फ बैदेशिक रोजगारीबाट फर्केका हरूलाई पनि उनीहरूको सीप, पुँजी, र अनुभवको सदुपयोग गरि औद्योगिक र व्यवसायिक वातावरण निर्माण गर्न जरुरी छ । यस लेख मार्फत स्टार्ट अपहरूको लागि नयाँ व्यवसायिक शुरुवात गर्न सरकारी नीति नियम कस्तो हुनु पर्छ र उद्यमी स्वयंले आफनो व्यवसायको व्यववस्थापन गर्ने गरी कसरी व्यवसायिक आचरण र गुणको विकास गर्ने भन्ने उद्देश्यले विस्तृत रुपमा चर्चा गरिएको छ ।

१.स्टार्ट अपहरूको लागि सरकारी नीति नियम कस्तो हुनु पर्छ ?

उद्योग प्रशासनको संरचना, नीति नियम, कर्मचारीको कार्यशैली, सोच र व्यवहारहरू स्टार्ट अपहरूको लागि उपयुक्त हुने खालको हुनुपर्छ । हाम्रो उद्योग प्रशासनको संरचनाको काम र कर्तव्य हेर्ने हो भने उद्योग प्रशासन र प्रवद्र्धन गर्ने दुबै जिम्मेबारी एउटै निकायमा सीमित छ । प्रबद्र्धन गर्ने भन्दा पनि प्रशासन गर्न बढी रमाउने,  स्रोत साधनमा नियन्त्रण गर्ने, नियम कानुन र प्रक्रियामा झन्झटिलो बनाउने खालको छ । हाम्रो नेपाली समाजको प्रशासनिक चरित्रसँग उद्योग प्रशासनको चरित्र पनि मिल्दो जुल्दो छ । यसको ठिक विपरित स्टार्ट अपहरूलाई छिटो, सहज र सरल तरिकाले  व्यवसायिक सूचना, मेन्टरिंग, कोचिंग र व्यवसायिक तथा प्राविधिक ज्ञानको आवश्यकता पर्दछ ।

जुन कुराहरू उद्योग प्रबद्र्धन गर्ने निकायको प्राथमिकतामा पर्दैन । दर्ता र लगानीको तथ्यांक संकलन भन्दा पनि दिगो उद्यमको विकासको लागि उद्यमीको व्यवसायिक सोच र क्षमताको विकास गर्ने तर्फ केन्द्रित हुनु पर्दछ । संरचनागत रुपमा उद्योग प्रबद्र्धन र प्रशासन गर्ने निकायलाई अलग अलग गर्दै पुनसंरचना र संरचनागत पुनपरिभाषाको साथै व्यक्तिगत कार्यशैली र सोचमा परिवर्तन गर्दै स्टार्ट अपहरूलाई सहज हुनेगरी संरचनागत परिवर्तन गर्न आवस्यक छ । 

२.स्टार्ट अपहरूले आफू सफल उद्यमी हुन् कस्तो कस्तो गुणको विकास गर्ने?

कुनै पनि व्यक्ति केवल उद्योग व्यवसायको स्थापना गर्न मात्र चाहँदैनन्, उनीहरू आफूले सुरु गरेको व्यवसायमा सफलता प्राप्त गर्न चाहन्छन् । तर कोही आफ्नो पेशामा सफल भएर धन सम्पत्ति र सामाजिक मर्यादा समेत प्राप्त गर्न सक्षम हुन्छन् भने कोही आफूले गरेको पेशाबाट असफल भई घाटामा परेका हुन्छन् । यस्तो किन हुन्छ ? वा किन कोही मानिस उद्योग व्यवसायमा सफल हुन्छन् र कोही त्यस्तै व्यवसाय गर्दा असफल हुन्छन् ? भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा गरिएका विभिन्न अध्ययन अन्वेषणबाट व्यवसायमा सफल हुन विभिन्न गुणहरूको महत्वपूर्ण भूमिका हुन्छन भन्ने कुरामा प्राय सबै सहमत देखिन्छन् । नयाँ सोचका साथ व्यवसाय शुरु गर्न लागेका स्टार्ट अपहरूले पनि व्यवसायको व्यवस्थापन गर्न सक्ने गरि आफ्नो व्यवसायिक क्षमता तथा गुण्।को विकास गर्नु आवश्यक छ ।  व्यवसायिक क्षमता तथा गुणहरूको विकास गर्न सकेको खण्डमा व्यवसायमा सफलता प्राप्त गर्न सक्ने संम्भावना धेरै रहन्छ । 
  
आफनो क्षमताको पहिचान गर्ने

हामी कहाँ कुनै एक जनाले कुनै काम सुरु गर्ने बितिकै अरुले पनि देखासिकी गर्दै त्यहि काम गर्ने चलन छ । आफ्नो क्षमताको पहिचान र विश्लेषण नगरी काम शुरु गरियो भने असफल हुन सक्ने सम्भावना बढी रहन्छ । सबै भन्दा पहिले आफ्नो क्षमताको पहिचान गर्नु पर्छ । कुनै पनि व्यक्तिले आफूमा भएको कार्य अनुभव, क्षमता, सीप, आफ्नो कमि कमजोरीहरूको राम्रोसँग विश्लेषण गरि अवसर र चुनौतिको पहिचान गर्न सक्ने क्षमता राख्नु पर्दछ । आफ्नो क्षमताको पहिचान गर्ने विभिन्न विधिहरू प्रचलनमा रहेका छन । आवश्यकता अनुसार यस्ता विधि र पद्धतीको प्रयोग गर्न सकिन्छ ।

सकारात्मक सोच र सृजनशिलता

एउटा उद्यमी सधैं आफूले गरेको काम प्रति सन्तुष्ट भएर बस्दैन । उ सधैं नयाँ नयाँ तरिका र हिजो भन्दा आज बढी राम्रो काम कसरी गर्ने भन्ने बारेमा सोंच्दछ । तपाई हामी सबैले देखेकै कुरा हो कि बजारमा नयाँ नयाँ वस्तुहरूको प्रवेश भइरहेको हुन्छ भने पुराना वस्तुहरू पनि विभिन्न रुपमा परिमार्जित भइनै रहेका हुन्छन् । बदलिँदो अवस्थामा ग्राहकहरूको इच्छा अनुसार वस्तुको उत्पादन गर्नु, अरुको भन्दा राम्रो बनाउने क्रममा नयाँ वस्तुको आविष्कार गर्नु र भइरहेको वस्तुको विकास गर्नु एउटा सफल उद्यमीका विशेषताहरू मध्ये एक मानिन्छ । 

बजारमा त्यस्ता उद्यमी सफल हुन्छन् जसले ग्राहकको रुचि अनुसार नयाँ बस्तुको सृजनागर्न सक्छ र भैरहेका वस्तुमा परिमार्जित गर्दै जान्छ । अर्थात् प्रतिस्पर्धात्मक बजारमा त्यस्ता उद्यमी बढी सफल हुन्छन् जो सृजनशील हुन्छन् । ंहरेक व्यक्तिमा सृजनात्मक गुण विद्यमान रहेको हुन्छ । तर, फरक यति हो कि कसैले त्यसको सदुपयोग गरेका हुन्छन् भने कसैले आफैले आफूमा रहेको सृजनशीलतामा पर्दा हालेका हुन्छन् र पर्दा उठाउने कोशिस नै गर्दैनन् र अरु भन्दा पछाडि परेका हुन्छन् ।

नयाँ विचार प्रस्फुटन भएपछि धेरै विकल्पहरू पत्ता लाग्छन् । धेरै विकल्पहरू पत्ता लाग्नु अझ नै निर्णय लिन धेरै छनोट गर्न पाउनु हो । जसले गर्दा सही र ठोस निर्णय लिन मद्दत पुग्दछ । तसर्थ एउटा सफल उद्यमी बन्नको लागि परम्परागत वस्तुसेवा भन्दा नयाँ तथा फरक वस्तु सेवा उत्पादन गर्नु आवश्यक हुन्छ र यसको लागि दूरदृष्टि, सकारात्मक सोच र सृजनशीलताको आवश्यकता पर्दछ ।

जोखिमको पूर्व अनुमान तथा वहन क्षमताको आकलन

व्यवसायिक क्षेत्रमा जोखिम भन्नाले अनिश्चित परिणामलाई जनाउँछ । किनकि उद्योग व्यवसाय गर्दा खेरी सफल भइन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । समाजमा सफल र असफल दुबै प्रकारका उद्यमीहरू भेटिन्छन् । व्यवसायमा सफल वा असफल हुनु आ–आफ्नो खुबी र क्षमतामा भर पर्दछ । यस्तै आफ्नो खुबी र क्षमताको आधारमा नै उद्यमीहरूले व्यवसायमा पूँजी लगानी गर्दछन् । यति मात्र हो कुनै व्यवसायमा बढी जोखिम हुन्छ भने कुनैमा कम र कुनैमा मध्यम । 

बढी, घटी वा मध्यम जोखिम पनि व्यक्तिको आ–आफ्नै क्षमता अनुसार निर्धारण हुन्छ । यस्तो कार्यमा व्यक्तिको सीप क्षमता भन्दा बढी अन्य कुराहरूले प्रभाव पारेको हुन्छ । तर सफल उद्यमीहरू भने यी दुबै प्रकारका जोखिम भन्दा भिन्न मध्यम खालको जोखिम लिने गर्दछन् जसमा उनीहरूको खुबी, क्षमता वा सीपको महत्वपूर्ण भूमिका रहन्छ र क्रमैसँग आफनो क्षमता बढाउदै जानु पर्दछ ।

आत्म विश्वास

एउटा भनाइ छ “यदि तपाई आफैमा विश्वास छैन भने अरु कसैले विश्वास गर्न सक्दैन” । उद्यमीहरू आफ्नो खुबी र क्षमता प्रति बढी विश्वास गर्दछन् । उनीहरू अरुसंग प्रतिस्पर्धा गर्न डराउँदैनन् त्यसैले त अरुले कठिन देखेको काम पनि उद्यमीहरू सजिलैसँग गरिदिन्छन । जोसँग आत्म विश्वास छैन, जो अरुको भरमा काम गर्छ त्यस्ता व्यक्तिहरू काम बिग्रेमा अरुलाई वा भाग्यलाई दोष दिने गर्दछन् । तर, उद्यमीहरू आफ्नो काम असफल हुनको कारण खोज्दछन् र त्यो पत्ता लगाइ अरु बढी आत्म विश्वासका साथ काम गर्नु पर्दछ  । 

स्पस्ट व्यवसायिक योजना र लक्ष्य निर्धारण

सफल उद्यमीले कुनै पनि कार्य गर्दा योजनाबद्ध रुपमा गर्दछ । सफल उद्यामीले आफुले के काम गर्ने, कहिले गर्ने, त्यो काम पूरा गर्न के के कार्यक्रम गर्नुपर्दछ भन्ने कराहरूमा स्पष्ट रुपमा अल्पकालिन, मध्यम वा दीर्घकालिन लक्ष्य निर्धारण गरी कार्य गर्दछन् । लक्ष्य निर्धारण गरिसकेपछि त्यसलाई पूरा गर्ने व्यवसायिक योजना बनाउनु पर्ने हुन्छ भने सो प्राप्त गर्ने क्रममा ‘को’ बाट कसरी सहयोग लिनु पर्दछ भन्ने बारे पनि जानकारी हुनु आवश्यक हुन्छ । 

व्यवसायिक नेटबर्क र सूचनाको खोज

आफ्नो उद्योग व्यवसायसँग सम्वन्धित सूचना वा जानकारीको बारेमा उद्यमीहरू धेरै चासो राख्दछन् । आफ्ना ग्राहकहरू को हुन्, उनीहरूको रुची कस्ता वस्तुमा छ, बजारमा कस्ता कस्ता वस्तुहरूको प्रवेश हुँदंैछ, कस्ता उद्योगहरूको स्थापना हुँदैछन्, सरकारी नीति नियमले के प्रभाव पार्दछ आदि कुराहरूको बारेमा एउटा सफल उद्यमी सधैं चनाखो हुन्छ । यसरी आपूmलाई आवश्यक पर्ने सूचना संकलन गर्ने र सोही अनुसार आफ्नो व्यवसायमा सुधार गर्ने कार्य सफल उद्यमीको लागि निरन्तरता नै बनेको हुन्छ । 

यसरी संकलन गरिने सूचनाले नयाँ नयाँ व्यवसायको अवसर र भैरहेका व्यवसायलाई अझ बढी प्रभावकारी रुपमा कसरी संचालन गर्ने भन्ने बारेमा जानकारी प्रदान गर्दछ । त्यसैले उद्यमीहरू आफ्नो पेशासँग सम्बन्धित व्यक्तिहरूसँग राम्रो सम्पर्क बढाउने गर्दछन् र आफ्नो कामको लागि प्रभाव पार्ने कोशिश गर्दछन् । उद्यामीले आफू उपलव्धीमूलक भावनाले अभिप्रेरित भई योजनाबद्ध रुपमा कार्य गर्नु र आफूले गरेको कामको मूल्यांकन गर्दै भावी कार्यक्रमलाई अझ शसक्त बनाउँदै लानु सफल उद्यमीको गुण मानिन्छ ।

धैर्यता र रणनिती परिवर्तन गर्न सक्ने क्षमता


धेरै मानिसहरू जो उद्योग व्यवसायमा लाग्न चाहन्छन् उनीहरू छिट्टै नै धेरै धन कमाउने आशा गर्दछन् । उनीहरू त्यस व्यवसायबाट लामो समयमा हुने फाइदाहरू भन्दा तत्कालै के फाइदा हुन्छ भन्ने बारेमा सोंच्दछन् । आफूले सोचे अनुसारको काममा सानो बाधा, अड्चन आउनासाथ निराश बन्न पुग्दछन् र शुरु गरेको काम बीचैमा छाडी नयाँ कामको खोजी गर्दछन् । यस्तो प्रवृत्तिले उद्योग व्यवसायमा नकारात्मक असर पार्दछ । व्यवसाय गर्नासाथ सफल भइन्छ भन्ने ग्यारेन्टी नहुने हुनाले शुरुमा असफल भएपनि असफल हुनाका कारण नयाँ रणनिती बनाउदै धैर्यताका साथ अघि बढ्नु पर्ने हुन्छ । त्यसैले जोसँग धैर्यता छैन उसको लागि उद्योग व्यवसाय पेशा उपयुक्त नहुन पनि सक्छ ।

निर्णय गर्ने क्षमता

एउटा उद्यमीलाई आफ्नो उद्योग व्यवसायको स्थापना वा संचालन गर्ने क्रममा विभिन्न समस्याहरू आइपर्दछन् र ती समस्याहरूको समाधानको लागि उचित समयमा उचित प्रकारको निर्णय गर्नु पर्ने हुन्छ । आफ्नो एउटै निर्णयले उद्योगको भविष्य सपार्न वा विगार्न सक्दछ । त्यसैले एउटा उद्यमीले समस्यादेखि डराउने होइन, निर्णय गर्न नसकी सोचेर मात्र समय खेरा फाल्ने होइन, बरु समय अनुसार उचित प्रकारको निर्णय गर्न सक्नु पर्दछ । यसरी निर्णय गर्दा खास समस्या के हो, त्यो समस्याको कारणहरू के के हुन् र यी समस्याको समाधान कुन कुन तरिकाबाट गर्न सकिन्छ भनेर विभिन्न बैकल्पिक उपायहरूको खोजी गर्नु पर्दछ । 

अनुभव र तालिमबाट क्षमताको विकास गर्ने 

वस्तु वा सेवाको बारेमा प्राप्त हुने गुनासा र सुझाव मात्र हैन, एउटा उद्यमीले आफूले विगतमा गरेका कामहरू निर्णयहरू वा त्यसका सफलता र असफलताले पनि भविष्यको मार्ग दर्शन गरिरहेकै हुन्छन् । फरक यति हो यसलाई कसैले स्वीकार गरेका हुन्छन् भने कसैले यसको कुनै वास्ता गर्र्दैनन् । फलतः विगतका गल्ति दोहोरिन सक्छन् र काममा बाधा पुग्न सक्छ । यी बाहेक गुणस्तरयुक्त सेवा तथा वस्तुको उत्पादनमा जोड दिनु, आफूले गरेको कामको मूल्यांकन गर्नु र आज भन्दा भोली राम्रो काम कसरी गर्ने भन्ने बारे योजना बनाइ सोही अनुसार तालिम, अध्ययन, सभा, गोष्ठी, अवलोकन भ्रमणलाई अवसरको रुपमा लिनु पर्दछ । 

व्यवसायिक अवसरको पहिचान र व्यवसायिक वाताबरणको अध्ययन 

कुनै पनि व्यवसाय शुरु गर्नु भन्दा पहिला आफुले व्यवसाय गर्ने स्थान बरपरको  व्यावसायक वाताबरण बुझन आवस्यक हुन्छ । यसरी व्यवसायिक वातावरण बुभ्mदा आफुले उद्योग व्यवसाय गर्न रोजेको स्थानमा के कस्ता आर्थिक स्थिति भएका मानिसहरू बस्छन्, भौगोलिक अवस्था तथा हावापानी कस्तो छ, जनसंख्या कति छ, उद्योग व्यवसायलाई नभई नहुने पूर्वाधारहरू जस्तै – बिजुली, पानी, सडक यातायातको विकास कतिको भएको छ र ती कत्तिको भर पर्दा छन्, छ भने कस्तो कस्तो सुविधा प्राप्त गर्न सकिन्छ, व्यवस्थित बजारको सुविधा छ कि छैन, बजारमा मागको स्थिति कस्तो छ, आपूर्ति कत्तिको हुन्छ, मानिसहरूको रुचि कस्तो छ, धर्म संस्कृति कस्तो छ, शैक्षिक, जनस्वास्थ्य तथा पशुस्वास्थ्य सुविधाहरू क्त्तिका छन् आदि कुराहरूको राम्ररी अध्ययन गरेर पनि व्यवसायिक अवसरहरू प्राप्त गर्न सकिन्छ । यस प्रकार स्थानीय व्यवसायिक वातावरणको राम्रोसंग अवलोकन तथा अध्ययन गरेको खण्डमा प्रशस्त व्यवसायिक अवसरहरू भेटाउन सकिन्छ । 

लेखकः उद्यमशिलता र रोजगाार विकास विज्ञ हुन् । 
 

प्रतिक्रिया दिनुहोस