aarthiknews.com विहीबार, ११ मंसिर २०७७   Thursday, 26 November, 2020
 
BOK

बाणिज्य बैंकहरुको सर्वाधिक कारोबार, बैंकिङ परिसूचक ४.२७ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ कार्तिक २०७७
बाणिज्य बैंकहरुको सर्वाधिक कारोबार, बैंकिङ परिसूचक ४.२७ प्रतिशत बढ्यो
LBEF
Nabil Bank

काठमाडौं । दशै पछिको पहिलो कारोबार दिन शेयर बजारमा वाणिज्य बैंकहरुको बर्चश्व कायम भएको छ । शेयर बजारमा सर्वाधिक हिस्सा ओगटेको वाणिज्य बैंक समूहको परिसूचक सर्वाधिक ४ दशमलव २७ प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक कारोबार गर्ने दश कम्पनीभित्र पनि वाणिज्य बैंकहरुनै परेका छन् । 

ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, सिभिल बैंक र मेगा बैैंक यो दिन सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र परेका हुन । सूचीकृत २६ वाणिज्य बैंकहरुमध्य हालसम्म सात बैंकले मात्र लाभांश सार्वजनिक गरेका छन् । 

यस वर्ष वाणिज्य बैंकहरुले प्रस्ताव गरेको लाभांश अपेक्षाभन्दा बढी भएको प्रतिक्रिया लगानीकर्ताहरुले दिएका छन् । कोरोनाका कारण यो वर्ष बैंकहरुको लाभांशमा निकै कमि आउने अनुमान लगानीकर्ताहरुले गरेका थिए । कोरोना कहरका विच नियमित व्यवसाय सञ्चालन गरेका वाणिज्य बैंकहरुको लाभांशमा गत वर्षभन्दा न्यून प्रतिशत कमि आएपनि अपेक्षाभन्दा बढी भएको प्रतिक्रिया लगानीकर्ताहरुले दिएका हुन ।

बुधबारको कारोबारमा वाणिज्य बैंकहरुको प्रस्तावित लाभांश र सम्भावित लाभांशका पछि लगानीकर्ताहरु लागेको देखिन्छ । यस दिन सर्वाधिक रकमको कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । कुल रू. २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार बराबरको शेयर कारोबार भएकोमा ग्लोबल आइएमई बैंकको रू. २० करोड ६५ लाख ४४ हजार बराबरको शेयर किनबेच भएको छ । 

यस बैंकले कात्तिक ६ गते यस वर्षका लागि कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । बैंकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पछिको पहिलो कारोबार भएकाले पनि कम मूल्यमै लाभांश सुरक्षित गर्न तर्फ लगानीकर्ताहरु सक्रिय भएका हुन । सर्वाधिक रकमको कारोबार गरेको ग्लोबल आइएमई बैंकको शेयरमूल्य यो दिन प्रतिकित्ता रू. १३ ले बढेर अन्तिम मूल्य रू.३०१ कायम भएको छ ।

बुधवार नेप्से परिसूचक ४१ दशमलव २० अंक माथी उक्लिएको छ । यो दिन परिसूचक १ हजार ६४७ दशमलव ४५ विन्दुमा पुगेर बन्द भएको हो । यस दिन सर्वाधिक शेयरमूल्य प्राइम कमर्सियल बैंकको बढेको छ । यस बैंकको शेयरमूल्य ९ दशमलव ९० प्रतिशत अर्थात प्रतिकित्ता रू. ३० ले बढेर अन्तिम मूल्य रू. ३३३ कायम भएको हो

। यस दिन नेपाल फाइनान्सको ९ दशमलव ६२ प्रतिशतले र सिटिजन्स बैंक इन्टरनेशनलको ९ दशमलव ५५ प्रतिशतले शेयरमूल्य बढेको छ । उच्च अंकले बढेको बजारमा बुधवार पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ३ दशमलव ४७ प्रतिशतले घटेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५ ले घटेर अन्तिम मूल्य रू. १३९ मा झरेको हो ।
 

प्रतिक्रिया दिनुहोस